चीनियाँ संस्थाको सहयोगमा कामपा वडा नम्बर १७ मा ह्यान्ड वास स्टेशन स्थापना



न्युज अफ नेपाल,काठमाडौँ ।

दुई वटा चीनियाँ संस्थाको सहयोगमा काठमाडौं महानगरपालिकाको १७ नम्बर वडा कार्यालयले वडाका विभिन्न स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गर्ने भएको छ ।

चीनको सामाजिक संस्था चाइना फाउन्डेसन फर पभर्टि एल्लेभिएसन (सिएफपिए) र गुडविल फाउन्डेसनको सहयोगमा वडाले ह्यान्ड वास स्टेशनहरु स्थापना गर्न लागेको हो । बुधबार कामपा १७ वडा कार्यालयमा दुवै संस्थाका प्रतिनिधिले ह्यान्ड वास स्टेशन स्थापना गर्नको लागि २ सय लिटरका २० वटा पानी ट्याङ्की र ह्यान्ड वास वडाध्यक्ष नवीन मानन्धरलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा वडाध्यक्ष मानन्धरले निकै साँघुरो वस्तीमा रहेको घना वस्तीलाई स्वच्छ र स्वस्थ रहन यो सहयोगले ठुलो योगदान दिएको बताउनुभयो । यस्तो विषम परिस्थितीमा यो सहयोगले वडालाई ठुलो हौसला मिलेको मानन्धरको भनाई थियो ।

वडा कार्यालयले आजै वडा कार्यालय, धोबिचौरको प्रहरी वृत्त, ठमेल क्वाःबहाल लगायतका स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गरिसकेको छ भने क्षेत्रपाटी थँहिति, नःघल, क्वाड्व, ढल्को, कुश्ले चौर लगायतका स्थानमा स्थापना गर्ने योजना रहेको मानन्धरले जानकारी दिनुभयो ।

यसको साथै चाइनिज, अमेरीकन, यूरोपियन लगायतका पर्यटकहरुको बसोबास रहेको स्थानहरुमा पनि ह्यान्ड वास स्टेशन स्थापना गर्ने उहाँको भनाई थियो ।

स्वास्थ्य सम्वन्धी सेवाको साथमा अस्पताल लगायतका स्वास्थ्य सेवाका भौतिक पूर्वाधारहरुको समेत निकै कमी रहेको नेपालमा अहिले संक्रमणको रोकथाम र नियन्त्रण नै महत्वपूर्ण रहेको सिएफपिएका नेपाल कन्ट्रि डाइरेक्टर चाउ ध्रु छियाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्