जाडो छल्न तथा व्यापार गर्न बेंसी झरेका २ सय मुस्ताङी पोखरामा रोकिए



न्युज अफ नेपाल, मुस्ताङ ।

जाडो छल्न र घुम्ती व्यापार गर्न बैंसी झरेका हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासी पोखरामा रोकिएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन देशमा जारी लकडाउनका कारण जाडो छल्न र व्यापार गर्न निस्किएका उनीहरु रोकिएका हुन् ।

लकडाउनका कारण झण्डै २ सयजना मुस्ताङीहरु पोखरामा रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा बताउनुभयो । तीमध्ये कतिपय विदेशबाट फर्किएका र अन्य घुम्ती व्यापार तथा जाडो छल्न निस्किएका रहेका छन् ।

अहिले पोखरा रोकिएका मुस्ताङीहरु कोही आफ्नै घरमा, कतिपय आफन्तकोमा र अन्य घुम्ती विद्यालयमा बसेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । पोखरामा रोकिएकामध्ये उपल्लो मुस्ताङका धेरै छन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरु पोखरामा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

खासगरी उपल्लो मुस्ताङका स्थानीयहरु छ महिना घरमै बस्छन् भने बाँकी छ महिना जाडो छल्न र व्यापार व्यवसायका लागि मध्य नेपालसहित ईन्डियासम्म पुग्ने गरेका छन् ।

गएको कार्तिक महिनाको अन्तिम साता मुस्ताङका विभिन्न गाउँबाट जाडो छल्न र घुम्ती व्यापार गर्न झरेका मुस्ताङीहरु देशमा जारी लकडाउनका कारण घर फर्किन नपाउँदा पोखरामा बसेका छन् ।

जाडो सकिएसँगै व्यापार सकेर फर्किने समयमा लकडाउन भएपछि उनीहरु पोखरा नै बसेका हुन् । हिउँदमा पोखरा, काठमाण्डांै, चितवन, नेपालगञ्जदेखि भारतसम्म पुगेर व्यापार गरी गर्मी सुरु भएपछि मुस्ताङीहरु आफ्नो गृहजिल्ला फर्कछन् ।

प्रतिक्रिया दिनुहोस्