रोनाल्डिन्हो जमानतमा रिहा 



लन्डन, (एजेन्सी) ।  

सन २००२ मा ब्राजिललाई कीर्तिमानी पाँचौपटक फिफा विश्वकपको उपाधि दिलाउने टिमका खेलाडी रोनाल्डिन्हो पाराग्वेको जेलबाट जमानतमा रिहा भएका छन् । नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा रोनाल्डिन्हो र उनका दाई रोबर्टाेले बितेको ३२ दिनदेखि पाराग्वेको जेलमा सजाय भोग्दै आएका थिए ।

उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइए पनि ३२ दिनपछि नै जमानतमा रिहा गरिएको हो । धरौटीमा छुट्नका लागि उनीहरुले १.३ मिलियन पाउण्ड तिरेको जनाइएको छ । ३२ दिन जेलमा रहँदा उनले आफ्नो जन्मदिन पनि जेलभित्र नै मनाउनु परेका थिए ।
न्यायाधिश गुस्ताभो अमरिल्लाले मुद्धाको फैसला नभएसम्म उनीहरुलाई एक होटेलमा बस्न सक्ने गरी जेलबाट रिहा गरिएको बताएका छन् । एक पटक बालोन डि ओर र दुईपटक फिफा वल्र्ड प्लेयर अफ दि इयरको अवार्ड जितेका ४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

उनले पछिल्लो पटक घरेलु क्लब फ्लुमिनेन्सबाट खेलेका थिए । फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब एसी मिलानका पुर्व फरवार्ड समेत रहेका उनले क्याटलान क्लब बार्सिलोनाबाट दुई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्