“धन्ने हो ! सामाजिक सञ्जाल “



नारायण खनाल, मालारानी-३, अर्घाखाँची

(कविता)
पचासौं हातहरुले
उचाल्न नसकेको
एउटा बिस्कुट
राहत स्वरुप दिएको
तस्बिर खिच्दै ,
एकधर्सो कपडामा
झुम्मेका पचासौं मान्छे
जो निमुखाको
शरीर भेटाएर
सेवाको ढोँग रच्न पाएकामा
गर्बित हुन्छन्
तिनकै आत्मतृप्तिको निम्ति
जयजयकार गाएर
कहिल्यै नथाक्ने
उन्मत्त बैंशालु
सामाजिक सञ्जाल
राहतको साटो
आहत दिन्छ जनलाई ।

बिचरा ! बैंशालु नजर
यौवनपुष्पि देहलताले
यौवनपुष्प झारेको कथा
लेख्नुको साटो
बेअदप बगरका
खुराफात पोष्टेर
उखरमाउलाहरुको
वाहवाह खोज्छ।

नदिहरुको जस्तै
शालीनता सिक्न
खहरेहरुलाई किन सुझाअोस्
सम्मान्यहरुको अपमान मै
समय खर्चन्छ।

भ्रमका सर्जकहरु
अौँस्याहा किरा जस्तै
जति सलबलाउँछन्
त्यति रंगिन बन्छ
सामाजिक सञ्जाल
दिग्भ्रमित प्रकाशमा ।
अनि कोर्छ नाङ्गा तस्बिर
र तिनै तस्बिरले उब्जाएका
अपांग बिचारहरु ।

धन्ने हो ! सामाजिक सञ्जाल
तिमी छौ र त
भुत्तेहरु धारिलो रबाफ दिन्छन्
ढोँगिहरु पुण्यकर्मी कहलिन्छन्।

तैपनि
निभ्न लाग्दा पनि प्रकाश छर्ने
एउटा टुकडी छ,सामाजिक सञ्जालमा
जसले देशप्रेम बोक्छ
सत्यता ढोग्छ
दुखीहरुको आर्तनाद सुन्छ
सेवालाई कर्तव्य सम्झन्छ
र सेवामा लागिरहन्छ ।

धन्ने हो! सामाजिक सञ्जाल
तिम्रो चरित्र बिचित्र छ
द्युचरको अहम् गर्दै
हुँगियामा गुँड बनाउने ।

प्रतिक्रिया दिनुहोस्