कोभिड १९: लकडाउनको पूर्ण पालना गर्दै डोटेली



विमल विष्ट, डोटी ।

डोटी जिल्ला बासीहरुले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्दै आएका छन् । यहाँका अन्य जिल्लामा लकडान उलंघन गरेको आरोपमा सयौँ सवारी साधन पक्राउ पर्नुका साथै दजनौँ स्थानीयहरु कारवाहिमा परेपनि डोटीमा भने अहिले सम्म कुनै पनि व्यक्ति तथा सवारी साधन कारवाहिमा नपरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकले लकडाउनको पूर्ण पालना गरेका छन्,उलंघन गरेको घटना कहि कतै भएका वा पाइएको छैन् ।” सरकारले गरेको लकडाउनको ११ दिन बितिसक्दा समेत यहाँका बजारमा स्थानीयहरुले आवत जावत तथा हिडडुल कार्यमा प्राय बन्द नै गरेका छन् ।

्र
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन सरकारले लागु गरेको लकडाउनलाई जिल्लावासीले गम्भीरता पूर्वक पालना गरेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबासीले लकडाउनको गम्भीरता पूर्वक पालना गरेका छन्, जिल्लामा कसैमा पनि अहिले सम्म कोरोनाको कुनै संकेत देखिएको छैन् ।”

छिमेकी मुलुक भारतमा कोरोनाभाइरस तीव्र रुपमा फैलिदै गएको देखीन थालेपछि यहाँको स्थानीय प्रहरी,प्रशासनले लकडाउन लाइ कडाइ गर्दै आएको छ । जिल्लामा रहेका अधिकांस नागरिकहरु काम गर्न भारत गएका र त्यहाँबाट उनीहरु अहिले आ–आफ्ना घरमा फर्किन थालेका कारण पनि कोरोना संक्रमण फैलिन सकने भन्दै स्थानीय प्रशासनले आवत जावतमा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो प्रदेशको सिमामा जोडिएका भारतका केही शहरमा कोरोनाको संक्रमण देखिएका कारण नेपालमा नभित्रियोस भन्दै हामीले लकडाउनमा कडाइ गरेका हौँ, हाम्रो आग्रह सबैले मानेछन र घर भित्रै बसेका छन् ।” छिमेकी मुलुक भारतको उत्तराखण्डमा समेत कोरोनाको संक्रमण देखिन थालिएपछि डोटी सहित समग्र सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

लकडाउनको को निर्देशनलाई पूर्ण रुपमा पालना गराउँन जिल्लाका सुरक्षा निकाय कडाईका साथ लागेका छन् । मानिसको बढी भिडभाड हुने यहाँका विभिन्न चौक तथा प्रमुख व्यापारी केन्द्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने, जागरुकताको लागि माईकबाट सूचना समेत प्रभाव गर्ने काम प्रहरीले गरिरहेको छ । यहाँका उद्योग,व्यवसाय, पसलहरु पूर्णरुपमा बन्द भएका छन् ।

त्यसैगरी अतिआवश्यक दैनिक उपभोग्य गर्ने बस्तुहरु अस्पताल सेवा, स्वास्थ संस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोल पम्प, फलफुल तथा तरकारी पशल भने निश्चित समय ताकिएर सञ्चालन गर्ने अनुमती दिइएको छ । उता सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि स्थानिय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरीरहेका छन ।

जिल्ला प्रशासन कार्यालयले पत्रकारहरुको लागि प्रेस पास उपलब्ध गराएको छैन् । सूचना विभागबाट प्रेस पास लिएका लाई रिपोटिङ्ग गर्न पाउँने व्यवस्था मिलाइएको छ । सरकारले गरेको निर्णयको उलंघन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा भन्डा कारवाही गर्ने स्थानीय प्रशासनले योजना बनाएपछि बजारमा आवत जावत गर्ने तथा बिनाकाम घर बाहिर निस्किनेहरु बन्द भएका हुन् ।

सुदूरपश्चिममा कोरोना रोगको संक्रमण फैलिन नदिन यहाँको लकडाउनमा अझै कडाइ गरिने प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको संक्रमण फैलिन नदिन र नागरिक बचाउन हामी लकडाउनमा अझै कडाइ गर्ने छौँ,आफु बच्नका लागि भएपनि सबैले नियमको पालना गर्न जरुरी छ ।”

कोरोना नियन्त्रणका लागि यहाँको प्रदेश तथा स्थानीय सरकारले बिभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएका छन् । अहिले सम्म सुदूरपश्चिम प्रदेशमा एकजना मात्रै कैलालीमा कोरोना रोगको संक्रमित फेलापरे पनि अन्य ठाउँमा फेला परेका छैनन् ।

यहाँको प्रदेशबाट ४० जनाको स्वाव परिक्षण गरिएपनि ४ जनामा कोरोना पोजेटिभ देखिएको छभने अन्य ३६ जनामा नेगेटिभ देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाइएको छ । निर्देशनालयका अनुसार कोरोनाको संक्रमण देखिएका निज बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको र उनीहरुको बिराम सुधार हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्