लकडाउनसँगै बढ्यो नाटकको उत्सव



लकडाउनले बढाएको पट्यारलाग्दो समयलाई रोमाञ्चक र उत्साहित तुल्याउन भर्चुअल थिएटर फेस्टिभल क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६ उपलब्धिमूलक ठहरिएको छ। लकडाउनको अवधिमा रंगमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको भर्चुअल थिएटर फेस्टिभल क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६ ले एक साताभन्दा लामो समय तय गरेको छ। यससँगै विभिन्न नाट्य प्रस्तुतिले रंगप्रेमीहरुलाई समय कटाउन सरल भएको छ।

यसअन्र्तगत सुरेन्द्र वर्मा लिखित, अनुप बरालको सुपरभिजन र सुरज मल्लको निर्देशनमा एक्टर्स स्टुडियोको प्रस्तुति नाटक शकुन्तलाको औँठीको भिडियो प्रस्तुत गरेसँगै उत्सवको पहिलो साता पूरा भएको थियो। उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि लकडाउनको अवधि बढेसँगै उत्सव अवधि पनि लम्बिएको छ। ‘हामीले उत्सव शुरु गर्दा एक हप्ताको लक्ष्य राखेका थियौं। तर लकडाउनको अवधि थपिएसँगै दर्शकको माग पनि बढिरहेको छ। साथै, उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छ। त्यसैले उत्सवलाई पनि लम्ब्याएका छौँ’, –फेस्टिभल निर्देशक केदार श्रेष्ठले भने।

उत्सवको दोस्रो चरणमा केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको थिएटर मलको प्रस्तुति उपियाँको निबन्धको भिडियो देखाइएको छ। त्यसै गरी कथाघेरा र कौशी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक दयालु रुखको भिडियो स्ट्रिमिङ गरिएको छ।

सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्य लेखन र निर्देशन गरेको नाटक अर्को कुरूक्षेत्र देखाइएको छ भने आरोहण, गुरूकुलको प्रस्तुति रहेको नाटक एल्ममुनिको तिर्खाको भिडियो लाइभ स्ट्रिमिङ गरिएको छ। युजिन ओ निलको लेखन रहेको नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन्। नाटक आउने क्रम जारी रहेको र त्यसको प्रदर्शन सूची तयार हुँदै गरेको फेस्टिभलका प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए।

यससँगै नेपालका सबैजसो सक्रिय नाट्य समूहको सहभागिता उत्सवमा देखिएको छ। उत्सवका लागि रङ्गकर्मीहरूको ऐक्यबद्धता भिडियो पनि निरन्तर प्राप्त भइरहेको उनले जनाए। विमल सुवेदी, लुनिभा तुलाधर, विजय बराल, नाजिर हुसेन, रामहरि ढकाल, मनिष निरौला, भोलाराज सापकोटा, सरिता गिरी, पशुपति राई, लक्ष्मी बर्देबा, जीवन भट्टराई, सबिर चुरौटेलगायतका कलाकारले भिडियो सन्देशमार्फत् उत्सव सफलताको कामना गर्दै यसमा सहभागी भई क्वारेन्टाइन अभियानलाई सहयोग गर्न आग्रह गरेका छन्।

 

कोभिड–१९ संक्रमणबाट बच्ने एक मात्र उपाय क्वारेन्टाइनलाई प्रोत्साहन गर्न र साथ दिन थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले विश्व रंगमञ्च दिवस २७ मार्च (१४ चैत्र) बाट उत्सव सुरु गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्