कोरोनासँग लड्न खेलकुदको सहयोग



नेपाल समाचारपत्र, काठमाडौं ।

विश्व नै कोरोना भाइरसको चपेटामा आइरहको गम्भीर स्थितिमा खेलकुद शून्य भएको छ । चीनको बुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस हाल विश्वभरि नै फैलिसकेको छ । यसले खेलमा समेत निकै प्रभाव पारेको छ । विश्वका अत्याधुनिक रंगशाला खालि खालि भइरहेका छन् । तर यही खालि रंगशाला कोरोना भाइरसविरुद्ध लड्न प्रयोग पनि भइरहेको छ ।

नेपालमै पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरससँग लड्न सहयोग गरेको छ । एन्फाले बुटवल, रौतहट, सातदोबाटोस्थित होस्टेल क्वारेन्टाइनका लागि प्रयोग गर्न दिएको छ । रौतहटस्थित महिला होस्टेलमा क्वारेन्टाइनका लागि ३६ जना व्यक्तिलाई राखिएको छ ।

नेपालमा मात्रै होइन विश्वका ठूल्ठूला रंगशाला पनि यस कठिन घडीमा प्रयोग भइरहेको छ । यसै क्रममा नाइजेरियाको लागोसस्थित ओनीकान रंगशालालाई आइसोलेसनको केन्द्र बनाएको छ । लागोस कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । ५ हजार दर्शकको क्षमता रहेको ओनीकान रंगशालाको मैदानमा १ सय १० बेड राखिएको छ ।

यसैगरी ला लिगाको महारथी क्लब रियल मेड्रिडले पनि आफ्नो रंगशालालाई कोभिड १९ सँग लड्न उपलब्ध गराएको छ । त्यस्तै रियलले क्लबको आईएफईएमए कन्फ्रेन्स सेन्टरमा ५ हजार बेड बनाएको छ । यसैगरी ब्राजिलियन क्लब सान्तोसले भिला बेलमिरो रंगशालाभित्र अस्थायी क्लिनिक खोल्न घोषणा गरेको छ ।

यस्तै इंग्लिस प्रिमियर लिगको क्लब टोटनहाम हट्सपरले रंगशालामा रहेको गाडी पार्किङ स्थल खाना स्टोर गर्न दिएको छ । अर्को इंग्लिस क्लब बर्नली एफसीले पनि टोटनहामको असल कार्यलाई साथ दिँदै टर्फ मूरको हिस्सा इस्ट ल्यान्क्स् अस्पताललाई प्रयोग गर्न दिएको छ ।

यसै क्रममा अमेरिकाको बिली जीनकिङ नेसनल टेनिस सेन्टरले न्युयोर्क सरकारसँग सम्झौता गरेको छ । ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपन आयोजना हुने सो टेनिस कोर्टमा स्वास्थ्य सुविधाका लागि प्रयोग हुने जनायो ।

खेलस्थल मात्रै होइन, खेलाडी पनि कोरोनालाई हराउन लागि परेका छन् । यसै क्रममा अस्टे«लियाको महिला हकी टोलीकी खेलाडी रेशल लिन्चले कोरोनासँग लड्न नर्सको भूमिका खेलेकी छन् । उनले कोरोनाविरुद्धको लडाईंमा आफ्नो देशबाट नर्स हुँदै सेवा गरिरहेकी छन् । यस साल टोकियो ओलम्पिक नहुने भएपछि खेलाडीहरु घरमै लकडाउन भएका छन् । तर उनी भने घरमा नबसेर अस्टे«लियाको न्यूरो रिहेबेलिटेसन वार्डमा दिनरात बिरामीको सेवामा लागिन् ।

त्यस्तै इटलियन अन्तर्राष्ट्रिय रग्बी खेलाडी म्याक्सिम एमबान्डा पनि पार्मामा भोलुन्टियर एम्बुलेन्स चालक बनेका छन् । उनले खतरनाक रोगसँग लड्न सहयोग गर्ने ठानेर यतातिर आएको बताए । २६ वर्षीय खेलाडीले भने– खेलहरु रद्द भइरहेपछि कसरी मैले सहयोग गर्न सकिन्छ भन्ने मनमा लाग्यो । मैले येलो क्रस भेटाएँ र खाना, मास्क र प्रेसक्रिप्सन बिरामीसम्म पु¥याउन काम गरें ।

प्रतिक्रिया दिनुहोस्