मानवीय सुरक्षालाई प्राथमिकता



विश्वलाई नै आतंकित बनाउँदै आएको कोरोना भाइरसका कारण गरिब र विपन्न देश मात्र होइन, शक्ति सम्पन्न देशहरू पनि यसको चपेटामा परेका छन् र यसबाट उन्मुक्ति पाउन गरेका हरप्रयास आवश्यकताको तुलनामा न्यून देखिएका छन् । अहिले युरोप र अमेरिकामा कोरोना संक्रमणले कठोर रूप लिएपछि जनजीवन अस्तव्यस्त बनेको छ । नेपालमा पनि यो संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणासँगै सरकारले संक्रमणविरुद्ध लड्न गरेको प्रयासलाई केहीले तीव्ररूपमा विरोध गर्दै आइरहेका छन् भने केहीले राज्यको क्षमताअनुसारको काम गर्दै आएको भन्दै सरकारलाई अझै दत्तचित्त भएर लाग्न आग्रह गरिरहेका छन् ।

नेपालको सुदूरपश्चिम क्षेत्र यो संक्रमणबाट बढी प्रभावित हुने सम्भावना बढेको छ । छिमेकी मुलुक भारतमा उक्त संक्रमण देखापरेपछि भारतमा कामको खोजीमा निस्किएका नेपालीहरू बेपर्वाहरूपमा नेपाल प्रवेश गरेको र भारतबाट नेपाल आएका व्यक्तिमा नै कोरोनाको संक्रमण देखापरेपछि अहिले सो क्षेत्रमा रोगको संक्रमण फैलने चिन्ता बढेको छ । सरकारले सुदूरपश्चिम क्षेत्र कोरोनाको इपी सेन्टर बन्ने हो कि भन्ने आशंका गर्दै अहिले त्यस क्षेत्रमा बढी कडाइ र निगरानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरेको छ ।

विशेष गरी सुदूरपश्चिम क्षेत्रका जनतालाई सरकारले पटक पटक क्वारेन्टाइनमा बस्न र हुलहुज्जत नगर्न गरेको आग्रहलाई टेरेको देखिँदैन । सरकारले भन्दैमा हुन्छ, हामी हिँडेर देखाइदिन्छौं भन्ने प्रवृत्तिले यो रोगको संक्रमण फैलने र मुलुकले यसलाई धान्न नसक्ने हो कि भन्ने आशंका पनि पैदा भएको छ । यो कार्य सरकारका लागि भन्दा पनि आफ्नै लागि हो भन्ने भावना सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने जनतामा चेतना आउन जरुरी छ ।

अटेर गर्ने प्रवृत्तिले सरकारलाई होइन, आफैलाई नै हानी गर्दछ, यसबाट आफ्नै परिवारमा पनि प्रभाव पार्नसक्दछ भन्ने भावनालाई जनताले राम्ररी बुझ्नुपर्दछ । अशिक्षा, भोकमरी र हरेक क्षेत्रमा पछि पर्दै आएको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा यो संक्रमण नियन्त्रण गर्न संघीय सरकारले आम जनतामा कोरोना भाइरसको संक्रमण टेस्ट गर्ने निर्णय गरेको छ । सरकारले पनि यस्ता निर्णय कार्यान्वयन गर्न ढिला गर्नुहुँदैन ।

अहिलेको अवस्था भनेको गम्भीर र विशेष हो । सरकारी प्रक्रिया र झन्झटलाई सजिलो बनाउने कामलाई तीव्रता दिनु उचित हुनेछ । संक्रमण फैलनुअघि नै सरकारले रोकथामको उपायलाई प्रभावकारी बनाउन सक्नुपर्दछ । अहिले बेला ढल्किसकेको छैन, सरकारले चाहने हो भने यो कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ कुनै मानवीय क्षतिबिना जित्नसक्ने अवस्था छ । तर त्यसका लागि पूर्वतयारीमा भने विलम्ब गर्नुहुँदैन ।

यसतर्फ सरकारको ध्यान जान जरुरी छ । यद्यपि यसले सिर्जना गरेको आर्थिक तथा भौतिक क्षति सामान्य भने छैन । यद्यपि जीवन रहे नै जगत्को अर्थ हुन्छ । मानवीय क्षति हुनबाट बचाउन सकियो भने अन्य क्षतिलाई यस अवस्थामा गौण मान्नुपर्ने हुन्छ । तर, यस प्रकारको सफलता सरकारले गरेर मात्र हुँदैन, आम नागरिक नै लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्