मनकारी क्याप्टेन : एक महिनाको घरभाडा छुट



भूपराज बस्याल,स्याङ्जा ।

वालिङ नगरपालिका १ रामबाच्छा बस्ने क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महीनाको घरभाडा छुट दिने घोषणा गर्नुभएको हो ।“लकडाउनका कारण काम गरेर खाने समुदायमा निक्कै अप्ठ्यारो परेको छ” घरबेटी गुरुङले भन्नुभयो, “उहाँहरुको पीडामा आहात नभई राहतस्वरुप एक महीनाको घरभाडा छुट दिने घोषणा गरेको हुँ ।” वालिङ १ रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समितिको कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् ।

“प्रत्येक महीना घरभाडाबाट सत्र हजार ५०० बुझ्ने गरेको थिएँ” घरबेटी गुरुङले भन्नुभयो, “सारा विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिनु जरुरी ठान्दछु ।” आँफूले एक महीनाको भाडा छुट दिंदै गर्दा केही परिवारलाई खाद्यान्न जोहो गर्नका लागि सहयोग पुग्ने भएकाले पनि आँफूले भाडा नलिने निर्णय गरेको घरबेटी गुरुङले बताउनुभयो ।

गुरुङले आज वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा १५ हजार नगदसमेत उपलब्ध गराउनुभएको थियो ।

एक महीनाको घरभाडा छुट दिएर क्याप्टेन गुरुङले उदाहरणीय कार्य गर्नुभएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वभर सबै समुदाय कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा क्याप्टेन गुरुङले गर्नुभएको सहयोगको प्रशंसा गर्दछु” नगर प्रमुख खाँणको भनाई थियो ।

वडा कार्यालयले मनकारी गुरुङप्रति आभार ब्यक्त गर्दै अरुले पनि उहाँको कार्यको अनुकरण गर्न सके राम्रो हुने वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्