विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सकिदैन : परराष्ट्र मन्त्रालय



सुनील महर्जन, काठमाडौं ।

सरकारले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा फर्काएर क्वारेन्टाईनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ।

कारोना भाईसरको संक्रमण बढ्दै गएपछि विभिन्न देशमा लकडाउन गरेपछि र त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किन चाहिरहेका छन् । यस्तो बेला सरकारले नै विदेशका रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ ।परराष्ट्र मन्त्रालय मार्फत विदेशका देशका कुटनीतिक नियोग मार्फत नेपाली आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरिरहेको छ ।

‘कुटनीतिक नियोग मार्फत नेपालीहरुको अवस्था बारे दैनिक विवरण लिने काम भईरहेको छ । नेपालीहरुलाई दूतावासको नजिक रहन भनिरहेका छौं ।’ मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो । कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कुटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उहाँले बताउनुभयो । कोरोना भाईरस विश्वव्यापी महामारी रहेकोले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरुलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाईनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको छ ।

कतिपय नेपालीहरु फर्किन चाहेको भएपनि कोरोना भाईरसको संक्रमण विश्वव्यापी रहेककोले नेपाल फर्किनु मात्र समस्याको समाधान नभएको भन्दै कुटनीतिक नियोगले नेपालीहरुलाई निरन्तर सहजीकरण गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाउँमा गर्नुभएको सम्बोधनमा पनि संकटको वर्तमान घडीमाा जो जहाँ छौ, त्यही सुरक्षित रहन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग मैले टेलिफोन संवाद सुरु गरेको छु । विश्वव्यापी महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी सकंटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो ।’

नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको बताउँदै उहाँले भन्नुभयो ‘असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउनेछन् भन्ने हाम्रो विश्वास रहेको छ ।’

यसैबीच विभिन्न देशले आफ्ना २ हजार नागरिकहरुलाई नेपालबाट उद्धार गरेर लगिसकेका छन्। वैदेशिक रोजगार विभागका अनुसार भारत बाहेकका मुलुकमा ४१ लाख नेपालीहरु वैधानिक रुपमा काम गरिरहेको छ । नेपालबाट मुख्यतः साउदी, कतार, मलेसिया, युएई, बहराइन, कुवेत, ओमान, कोरिया, जापान, साइप्रस लगायतका मुलुकमा कामका लागि जानेको संख्या धेरै छ । अन्य भिसामा युरोप पुगेर कामदारकै रुपमा कार्यरत नेपालीहरु पनि प्रशस्तै छन् । त्यसैगरी विभिन्न व्यावसायिक पेशामा कामका लागि युरोप र अमेरिकामा पुग्ने नेपाली पनि ठूलो संख्यामा रहेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएले करिब ८० लाख नेपालीहरु विश्वभर रहेको दाबी गर्दै आएको छ । भारतमा रोजगारी र अध्ययन गर्न जाने बाहेक त्यस्तो संख्या ७५ लाखभन्दा बढी रहेको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्