सुकुम्बासीलाई नेप्लिज तेक्वान्दोको राहत



न्युज अफ नेपाल, काठमाडौं ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड¬ १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनका कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका सुकुमवासी टोलका परिवारलाई राहत वितरण गरिएको छ ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासंगै रहेको सुकुमवासी बस्तीका १० घरका परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । वितरण गरिएको खाद्य राहत सामाग्रीमा चामल, तेल, नुन, चिनी र दाल रहेका छन् । एक परिवारलाई करिब २ हजार १ सय रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् ।

दोश्रो चरणमा मंगलबार कागेश्वरी मनोहरा नगरपालिका वडा २ स्थित आलापोटमा रहेका निम्न आर्थिक अवस्थाका परिवार, दलित र एकल महिलालाई राहत वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । २०७२ सालको महा भुकम्पमा पनि एनटीएले भुकम्प पीडितहरुलाई राहत वितरण गरी सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्