संसारभर छरिएर रहेका नेपालीलाई मद्धतका लागि अन्तराष्ट्रिय स्तरमा कुटनीतिक पहल गर्न सरकारसँग माग



पुष्कर बुढाथोकी, भक्तपुर ।

अन्तरराष्ट्रिय नेपाली एकता समाजको केन्द्रीय कार्य समितिले संसारभर छरिएर रहेका नेपालीलाई आवश्यकता अनुसार मद्धत गर्नका लागि अन्तराष्ट्रिय स्तरमा कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

बिश्व भरी नै कोरोना भाईरसको संक्रमणले संकट सिर्जना गरिरहेको अबस्थामा नेपाल सरकारले प्रवासिन बाध्य आफ्ना देशका नागरिकलाई सम्बोधन हुने गरी प्रतिबद्धता जनाउन पनि माग गरेको छ ।

अमेरिका ,युरोप लगायत भारतमा रहेका नेपालीहरु मध्य भारतमा रहेका नेपाली नागरिकहरुको अबस्था अत्यन्त बिचल्ली भएको र लकडाउनले सैयौं श्रमिकहरु सीमामा अलपत्र परेको बिज्ञप्ति मार्फत सरकारलाई स्मरण गराएको छ ।

गम्भीर मानवीय समस्यामा रहेका उनीहरुको उद्दार गरी नेपालमा क्वारेण्टाईनमा राख्नका आवश्यक ब्यबस्था गर्न केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले माग गर्नुभएको छ ।

समाजले तेस्रो मुलुक पुगेका नेपाली श्रमिक बिश्व लकडाउनका कारण देखापर्न सक्ने आर्थिकमन्दीले थप आघात पर्ने आँकलन गरी समस्या समाधानका लागि समयमै आवश्यक पहलकदमी गर्न समेत सरकारसँग माग गरेको छ ।

बिश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार जुन देशमा अन्य देशका नागरिक बसेका छन् त्यही देशका सरकारले नै उनीहरुको ब्यबस्थापन र संरक्षण गर्नु पर्ने अन्तरराष्ट्रिय मान्यता रहेको पनि उसले बिज्ञप्ति मार्फत स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्