कोभिड–१९: तराइमा कोरोना संक्रमित, पहाडमा त्रास



विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशका दुइ जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा शनिवार मात्रै थप तीनजनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएपछि यहाँका अन्य सात पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दाुर्चला र डडेल्धुरामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरि फर्किएका नागरिकमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्लाका स्थानीयहरुमा त्रास बढ्न थालेको हो ।

 

सुदूरपश्चिम प्रदेशमा प्राय कामका लागि वर्षेनी पहाडी जिल्लाबाट बढी स्थानीय जानेको भएको र अहिले पनि भारतबाट यहाँका पहाडी जिल्लाका मानिसहरु बढी फर्किएका कारण गाउँघरमा भएका स्थानीयमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएका हरुमा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै भारतबाट आएका छन्, गाउँमा कोरोना आएको छ की भन्ने चिन्ता लाग्दै छ ।”

 

सुदूरपश्चिम प्रदेशमा शनिवार देखिएका संक्रमितमध्ये तिन जना कैलाली र एजना कञ्चनपुर जिल्लाका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । संक्रमित मध्ये दुइजना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकहरुमा पनि कोरोनाको संक्रमण भएको हुनसक्ने आसंकामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सृजना भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “हुलका हुल मान्छे भारतबाट आएका छन्,कसैमा कोरोना देखिन थालेको छ, त्यहि कारणले पनि अन्य नागरिकमा चिन्ता बढ्न थालेको हो ।”

 

संक्रमणको पुष्टी भएका कैलालीका २१ वर्षिय युवा चैत्र ११ गते लकडाउनपछि गौरिफण्टामा थुनिएका ९९९ जनामध्येका एक भएको खुल्नमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उनीहरु संगै डोटी आएका केही व्यक्ति लाई जिल्लामा स्थापना गरिएका क्वारेन्टाईनमा राखिएको भएपनि सबै नागरिक क्वारेनटाइनमा नभएका कारण पनि समस्या हुँनसक्ने भन्दै यहाँका पहाडी जिल्लामा त्रास बढ्न थालेको स्थानीयबासीहरु बताउछन् ।

 

डोटीमा मात्रै चैत्र ११ गते एता भारतबाट आएका ४३४ जना क्वारेन्टाईनमा छन् । लकडाउन भन्दा अगाडी आएका सायौँ युवाहरु गाउँगाउँ पसिसकेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउन भन्दा पहिले जिल्ला प्रबेश गरेका नागरिकको खोजी कार्यगरी क्वारेन्टाइनमा राख्ने तयारी भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउन भन्दा पहिले जिल्ला प्रबेश गरेका हरुको खोजी कार्य सुरु गरेका छौँ, सबैलाइ अनिर्वाय क्वारेन्टाईनमा राख्ने छौँ ।”

 

जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथामका लागि सम्पूर्ण तयारी पूरा गरीसकोकले कोही कसैले डराउनु पर्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म कोरोनाको शंखास्पद बिरामी अहिले सम्म भेटिएका छैनन् । जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म तीनजनाको स्वाँव परिक्षण गरिएको भएपनि सबैको नतिजा ‘नेगेटिभ’ आएको छ ।

 

कैलाली र कञ्चनपुरमा चारजना संक्रमितको पुष्टी भएपछि सतर्कता बढाउने प्रयत्न सरोकारवालाले गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आईसोलेसन बेड बढाउन थालिएको छ । जिल्ला अस्पतालमा अहिले १० वटा आईसोलेसन बेड बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कोरोना नियन्त्रणका लागि हामी निकै सजग भएका छौँ, सोही अनुरुप अस्पतालमा बेडको सङ्ख्या समेत थप गरेका छौँ ।” जिल्लामा रहेका निजी अस्पतालहरुमा पनि अवस्था अनुसार आईसोलेसन बेड बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्