दिवेशलाई अमेरिकन आइडलमा सफलतामाथि सफलता



विश्वप्रसिद्ध सिंगिङ रियालिटी सो अमेरिकन आइडलमा भिडिरहेका नेपाली युवा दिवेश पोखरेलले उक्त शोमा सफलतामाथि सफलता हासिल गरिरहेका छन्। उनलाई अमेरिकन आइडलका निर्णायक शरुल उदाउँदो ताराको संज्ञा दिएका छन्।

शोको शीर्ष २० स्थानमा पुग्न सफल दिवेशलाई आगामी यात्राको सुभकामना दिँदै अमेरिकन आइडलका एक निर्णायक लिओनेल रिचीले उदाउँदो ताराको संज्ञा दिएका हुन्। रिचीले यसअघि दिवेशको प्रस्तुति हेरेर आँशु झारेका थिए। दिवेशको स्वभाव र गायन कला आफूहरुलाई अत्यन्तै मन परेको भन्दै उनले पुनः उनको तारिफ गरेका छन्।

दिवेश अमेरिकन आइडलको शीर्ष २० छनोट भएका छन्। निर्णायकले दिवेशलाई शीर्ष २० मा छनोट गर्न आफूहरुलाई कठिन नभएको बताएका थिए। अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायकमध्येका एक लुके ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए। अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन्।

यसअघि पनि उनको प्रस्तुतिले स्ट्यान्डिङ अवेसन पाएको थियो। अमेरिकन आइडलको शीर्ष २० छनोटमा निर्णायकको भूमिका निकै चुनौतीमय भए पनि दिवेशलाई अगाडि लैजाने निर्णय आफूहरुका लागि सबैभन्दा सजिलो भएको निर्णायकहरुले बताएका थिए।

स्टेजमा आर्थर गनको नामले प्रस्तुति दिने गरेका दिवेशले बब मार्लीको गीत गाएका थिए। जसमा उनको पूरै परिवार पनि उपस्थित थियो। जजहरुले यसअघिको प्रस्तुतिमै उनमा बब मार्लीको झलक देखा परेको चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्