पूजाले २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने



नायिका तथा निर्मात्री पूजा शर्माले कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिमलमाई न्यूनिकरण गर्न सरकारले लगाएको लक डाउनका कारण समस्यामा परेका विपन्न प्राविधिकहरुलाई सघाउन सहयोग गर्ने भएकी छिन्।

पूजाले आर्थिक रुपमा कमजोर रहेका विपन्न प्राविधिकहरुलाई दुई लाख रुपियाँबराबरको खाद्यान्न सहयोग गर्ने भएकी हुन्। ‘विश्व यतिबेला कोरोना संक्रमणका कारण संकटमा छ। यो अवस्थामा एकले अर्काको सहयोग गर्नु हामी मानवको कर्तव्य हो। मलाई विश्वास छ, यो संकटबाट हामी चाँडै बाहिर आउनेछौँ। तर, कोरोना संक्रमणका कारण नेपाली चलचित्रका केही प्राविधिकहरु समस्यामा हुनुहुन्छ।

कलाकारको दुःख र सुखमा साथ दिने तीनै प्राविधिकहरुका लागि यो समयमा सहयोग गर्नु हामी सबैको कर्तव्य हो’ पूजाले फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छिन् ‘यसैले, प्राविधिक दाजुभाइ तथा दिदीबहिनीहरुको कामको उच्च सम्मान गर्दै यो संकटको घडीमा मैले आफ्नो तर्फबाट नगद २ लाखबराबरको खाद्यान्न सहयोग गर्ने जानकारी गराउँछु।

मलाई विश्वास छ, यो संकटको घडीमा हामी चलचित्रकर्मी सबैले आफ्नो तर्फबाट कुनै न कुनै सहयोग आवश्यक पर्ने चलचित्रकर्मीलाई नै गरेको खण्डमा यो समस्याबाट कसैलाई पनि अप्ठयारो पर्नेछैन।’

यसै बीच नायिका वर्षा राउतले प्राविधिकहरुलाई सहयोग गर्न ५१ हजार रुपियाँ सहयोग गरेकी छिन् भने अन्य कलाकारले पनि सहयोगका हात अगाडि बढाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्