कनिका कपुर डिस्चार्ज



कोरोना भाइरस कोभिड १९ पीडित बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन्।
उनलाई उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पतालले दुई साताको उपचारपछि सोमबार बिहान डिस्चार्ज गरेको हो। लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमणको पुष्टि गरेपछि गायिका कनिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

पीजीआईमा उनको लगातार पाँचपटकसम्म परीक्षण गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ। सोमबार लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको बीबीसीको अनलाईन सेवाले जनाएको छ। अस्पतालले डिस्चार्जपछि पनि उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ।

गायिका कनिका उपचारका क्रममा विवादमा आएकी थिइन्। अस्पतालले उनले उपचारका क्रममा दुःख दिएको जनाएको थियो भने कनिकाले आफूलाई उपचारको क्रममा यथेष्ट सुविधा नदिएको र राम्रो व्यवहार नगरेको आरोप लगाएकी थिइन्। जवाफमा अस्पताल प्रमूखले कनिकाले अस्पतालमा पाँचतारे होटलको सुविधा नखोज्न र सेलिब्रेटीको व्यवक्हार नगरी बिरामीको व्यवहार गर्न सुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्