निजी अस्पतालका डाक्टरलाई सरकारको आह्वान



नेपाल समाचारपत्र, काठमाडौं ।

निजीक्षेत्रमा कार्यरत चिकित्सकहरुलाई पनि यस संकटका घडीमा आम नागरिकको स्वास्थ्य उपचारमा सघाउन सरकारले आह्वान गरेको छ । सरकारले निजीक्षेत्रमा कार्यरत चिकित्सकहरुलाई सरकारी अस्पतालमै आएर सघाउन अनुरोध गर्दै सरकारी चिकित्सकलाई दिँदै आएको सेवा, सुविधा, भत्ता र तहगत ड्युटीसमेतकोे व्यवस्था मिलाउने बताएको छ ।

सरकारले उपकरण र चिकित्सक भएका निजीक्षेत्रबाट सञ्चालित अस्पतालले कोरोनाको उपचार गरेमा चिकित्सकहरुलाई सरकारीसरह भत्ता उपलब्ध गराउने जनाएको छ ।

यस क्षेत्रमा खटिने नर्स, ल्याब, प्राविधिक कर्मचारी, एम्बुलेन्स चालक, फार्मेसी, सरसफाइमा जुट्ने कर्मचारी, प्रशासनीक कर्मचारीहरुको हकमा भने सरकारले केही बोलेको छैन ।

यसै गरी सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको अभियानमा खटाउने र उक्त समयमा खटिनेलाई दैनिक १५ सय रुपियाँ भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे–नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिँदै आएकाले उनीहरुलाई दैनिक भत्ता उपलब्ध गराउने निर्णय गरिएको हो । अघिल्लो बैठकले नै महिला स्वयंसेवीकाहरुलाई काममा खटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्