संकटमा तनाव व्यवस्थापन



बद्री तिवारी

 

  •  अमेरिकाको ख्यातिप्राप्त समाचार संस्था सीएनएनले हालै आफ्नो अनलाइन संस्करणमा कोरोना भाइरसबाट संक्रमित एक महिलाको मृत्युको घटनालाई ‘छ केटाकेटीले आफ्नी आमाको बिदाइमा अन्तिमपटक कुरा गर्न वाकी–टकीप्रयोग गरे’ शीर्षककोकारुणिक दृश्य समेटेर समाचार प्रकाशित ग¥यो ।वासिङटनको एभरेट निवासी ४२ वर्षीया सन्डी रटर सन् २०१२ मा आफ्ना पतिको मृत्युपछि ६ जना छोराछोरीसँगै बस्दै आएकी थिइन्।

 

स्तन क्यान्सरसँग लड्दै आएकी उनले गत जनवरीमै सो रोगबाट मुक्ति पाएकी थिइन्, तर मार्चको शुरुमा उनलाई एक्कासी बिसन्चो भयो र अस्पताल गइन्, त्यतिबेला अस्पतालले उनीलाई त्यसै फर्काइदियो । पछि उनी क्रमशः कमजोर बन्दै गएपछि परिवारले त्यहीँस्थित प्रोभिडेन्स अस्पतालमा भर्ना ग¥यो । उनीलाई कोरोनाभाइरस भएको पत्ता लाग्यो, उपचार हुँदाहुँदै निको नहुने अवस्था आएपछि उनका छोराछोरीलाई भेटाउने वातावरण मिलाइयो । तर कोरोनाको संक्रमणको डरले निजहरुलाई अलि टाढाबाट वाकी–टकीमार्फत कुराकानी गर्न लगाइयो ।

 

उनीहरुले ‘बाई मम्’ भनेर रुँदै आफ्नी आमालाई बिदा गरे । रटरले गत मार्च १६ मा देहत्याग गरिन् । उनका जेठो छोराले साना भाइबहिनीलाई हुर्काउने बचन आमालाई दिए ।  दक्षिण अमेरिकी मुलुक इक्वेडरको हालत पनि त्यत्तिकै नाजुक छ, त्यहाँको सबैभन्दा ठूलो शहर गोयाक्विलमा कोरोना भाइरसबाट मर्नेहरुको शवको खात लागेको छ, अन्त्येष्टी गर्न नै समस्या भएको त्यहाँका अधिकारीहरुले सञ्चारमाध्यमलाई बताएका छन् । आफन्तहरुको कारुणिक दृश्य मात्र होइन,क्रोध र आवेगका घटना पनि देखिनथालेका छन् ।

 

त्यस्तै इटालीको बग्र्यामोको अवस्था झन् कहालीलाग्दो छ, जहाँ कफिन (शव राख्ने बाकस) हरुको खात लागेको छ तर आ–आफ्नो संस्कारअनुसार विधिवत् अन्त्येष्टी गर्न नसकिरहेको समाचारहरु प्राप्त भइरहेका छन् । मानिसको मृत्युपछि अन्त्येष्टी गर्ने त्यहाँ सयौं संस्थाहरु छन् तर अहिले तिनीहरु पनि समस्याग्रस्त बनेका छन् । अन्तिम संस्कारमा खटिने कर्मचारीहरु नै संक्रमित भएर बिरामी परेकाले शव उठाएर लग्ने मानिस नै नभएपछि समस्या परेको हो । घरमै मृत्युवरण गर्नेहरुलाई व्यवस्थित गर्न नसकेर प्रहरीले कोठामै बन्द गरिदिने गरेका छन्, ताकि परिवारका अन्य सदस्य संक्रमणबाट बच्न सकून् ।

 

  • त्यसो त कोरोनाको संक्रमणबाट मृत्युदर बढिरहेका स्पेन, जर्मनी, फ्रान्सलगायतका मुलुकहरुको अवस्था पनि कम कारुणिक छैन । संक्रमितहरुको संख्या बढिरहेकाले तनावमाथि तनाव थपिँदैछ ।यी त प्रतिनिधिमूलक घटना भए, विश्वका धेरै मुलुकमा यतिखेर यस्ता हृदयविदारक घटनाहरु दिनदिनै थपिँदैछन् । विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारी क्रमशःनियन्त्रण हुँदै जाला, अनि आमजनजीवन सहज बन्दै जाला भन्ने अपेक्षा गरिँदै आए पनि मृतक र संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएकोले विश्वव्यापी चिन्ता थपिएको छ । अपेक्षाकृत रोग नियन्त्रण हुन नसक्नु र घरमै बस्नुपर्ने बाध्यकारी नियमका कारण मानिसहरु तनावग्रस्त, निराश तथा गन्तव्यहीन बन्दै जाने खतरा उन्मुख वातावरण बन्दै गएको छ ।

 

महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भन्ने हेतुले विश्वका अधिकांश मुलुकले लकडाउन (मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिने अनिवार्य नियम) गरेकाछन् । नेपालमा पनि जनस्वास्थ्यलाई निर्धारित मापदण्डबमोजिम सन्तुलित राख्नका लागि सरकारको आह्वानअनुसार लकडाउन गरिएको दुईहप्ता भएको छ, तर कतिपय स्थानमा यसको उल्लंघन भइरहेका घटना पनि प्रकाशमा आएका छन् ।

 

छिमेकी मुलुक भारतमा नै लकडाउन घोषणापछि मुसलमानहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएकोले त्यसमा सहभागी हुनेहरुबाट रोग फैलने खतरा हटिसकेको छैन । सो सभामा भाग लिएर नेपाल फर्किएका केही मुसलमानहरुलाई नियन्त्रणमा लिइएको भएपनि अझै केही पत्ता लाग्न सकेका छैनन् । त्यसैले यतिखेर पनि नियन्त्रणको विकल्प छैन । त्यस्ता व्यक्तिहरुको सम्पर्कमा आउने व्यक्ति तथा समुदायको चिन्ता आफ्नो ठाउँमा होला तर त्योभन्दा बढी सम्बद्ध गाउँ तथा शहरहरु पनि अनावश्यकरुपमा तनावग्रस्त बन्नुपर्ने अवस्था निम्तिएको छ ।

 

खासगरी अहिलेको समयमा प्रायः सबैतिर लकडाउन भएकाले सोही कारण घरेलु हिंसा पनि बढ्दै गएको छ ।छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी वुहान (जहाँबाट कोरोना भाइरस महामारी फैलियो) मा गतवर्षको तुलनामा यसवर्ष घरेलु हिंसा निकै बढेको पछिल्लो तथ्यांकले देखाएको छ । स्थानीय व्यक्तिहरुले सञ्चारमाध्यमलाई गराएको जानकारीअनुसार गतवर्ष यस अवधिसम्म घरेलु हिंसाका ४७ वटा घटना दर्ता भएका थिए भने यस वर्ष १ सय ६२ वटा घटना भएका छन् ।

 

त्यस्तै लकडाउनकै कारण ब्राजिलमा विगतको भन्दा अहिले घरेलु हिंसाका घटनामा ४० देखि ५० प्रतिशतले वृद्धि भएका छन् भने साइप्रसमा २० प्रतिशतले बढेको पाइन्छ । त्यसैगरी इटाली, ग्रीस, जर्मनी, फ्रान्स, स्पेनलगायतका मुलुकमा पनि लकडाउनका बेला घरेलु हिंसाका घटना बढेका छन् । निकोसियामा त घरेलु हिंसाका घटनाको मुख्य कारणमा ९० प्रतिशतचाहिँ कोभिड–१९ नै रहेको छ ।

 

यता अर्को छिमेकी मुलुक भारतमा २१ दिने लकडाउन घोषणा भएपछि दर्ता भएका २ सय ५० घटनामध्ये ६९ वटा घटना घरेलु हिंसाका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता घरेलु हिंसामा खासगरी महिला र बालबालिका नै बढी पीडित हुँदै आएका छन् । यी त उजुरीका रुपमा दर्ता भएका घटना भए, डरका कारण प्रकाशमा आउन नसकेका घटनाहरु त झन् कति होलान् ? यकिन गर्न कठिन छ । यस्तै घटनाहरुबाट मानिसहरु तनावग्रस्त बन्न पुग्दछन् ।

 

नेपाल पनि वर्तमान अवस्थामा कोरोना भाइरस महामारीबाट अछूतो छैन । गत शनिबारदेखि नेपाल पनि कोरोनाभाइरस महामारीको दोस्रो चरणमा प्रवेश गरेको सरकारले नै प्रस्ट पारेको छ । त्यसअघि विदेशबाट आएका नेपालीमा मात्र यो रोगका लक्षण देखा परेकोमा शनिबार त्यस्ता संक्रमित व्यक्तिबाट परिवारका सदस्यलाई पनि सरेको पाइएकोले दोस्रो चरणमा पुगेको बताइएको छ । यी हरफहरु कोर्दासम्म कोरोनाभाइरसबाट संक्रमित हुने नेपालीको संख्या ९ पुगेको थियो । नेपालले अवलम्बन गरेको लकडाउन नै रोकथामको उत्तम विकल्प हो, रोगको महामारी नै आइसकेपछि त धेरै ठूलो संकट पर्दछ । विकसित मुलुकहरुले त बिरामीको उपचार गर्न नसकेको अवस्थामा हाम्रो हालत कस्तो होला?

 

यद्यपि दुई हप्ता लामो लकडाउनका कारण मानिसहरुमा छटपटी, चिच्याहट, दिक्दारीलगायत तनाव उत्पन्न हुनु अस्वाभाविक होइन तर त्यसो भन्दैमा सुरक्षाका लागि नेपाल सरकार, विश्व स्वास्थ्य संगठनलगायतको आह्वान र सावधानीका उपाय अवलम्बन नगर्ने कुरा पनि भएन । कुनै पनि कारणबाट स्वास्थ्यमा जोखिम निम्तियो भने त्यसले आफैंलाई नोक्सान पु¥याउँछ भन्ने कुरा पनि भुल्नुहुँदैन ।

 

तैपनि अन्य कारणबाट लगाइएको कफ्र्यु वा बन्द हड्तालको बेला जसरी बिहान–बेलुका सडकमा निस्कने, तरकारी–फलपूmल तथा खाद्य पसलहरुमा निश्चित दूरी कायम नगरी झुम्मिने तथा अनावश्यक गफ गरेर बस्ने, लुकीछिपी जुवातास खेलेर बिताउनेजस्ता गतिविधि देखिन्छन् । यस्ता गतिविधि तथा व्यवहारबाट हामी सुरक्षित हुँदैनौं भन्ने चेत खुल्नसकेमा आफैंलाई फाइदा हुन्छ ।यस्ता पक्षमा हामीले ध्यान दिएनौं भने हाम्रा अगाडि तनाव सिर्जना हुन थाल्छ, त्यो तनाव शुरुमा व्यक्तिगत, त्यसपछि परिवार, समूह र समुदाय हुँदै ठूलो रुप लिँदै जान्छ । त्यसैले समयमै तनाव व्यवस्थापन गर्नेतर्फ विशेष ध्यान दिनैपर्छ ।

 

मनोचिकित्सकहरुका अनुसार तनाव र रोग एउटा सिक्काका दुई पाटाजस्तै हुन् । तनावका कारण रोग लाग्छ वा रोगका कारण तनाव उत्पन्न हुन्छ । हुन पनि जतिखेर मानिस तनावमा पर्छ, त्यतिबेला उसको शरीरमा अनावश्यक हर्मोन बढ्ने तथा अनावश्यक रासायनिक पदार्थ उत्पन्न हुनाले शरीरमा ग्यास्ट्रिक, सुगर (चिनीरोग), रक्तचाप बढ्नेजस्ता रोगहरु निम्तिन्छन् । अनि यस्तै रोगहरु शरीरमा लागेपछिमानिस झनै तनावमा पर्छन् ।वर्तमान अवस्थामा मानिसहरु आवश्यकताभन्दा बढी डराउने तथा आत्तिने गरेकाले उनीहरुमा पनि रोग–प्रतिरोधात्मक शक्तिमा कमी आइरहेको छ ।बाह्य कारणबाट उब्जने तनाव कुनैपनि उमेर तथा समूहका व्यक्तिहरुलाई हुने हुँदा त्यसको परिणाम नकारात्मक मात्र हुन पुग्छ ।

डर, चिन्ता, असजिलोपना, छटपटी, स–साना कुरामा रिसाउने, आवेगमा आउने, निद्रा नलाग्ने, अत्यास लाग्ने र आन्तरिक तथा बाह्य वातावरण अत्यन्त असहज बन्ने अवस्था आउनु नै तनावका लक्षणहरु हुन् । तनावले वास्तवमै मन र शरीर दुवैलाई अस्वस्थ बनाउँछ ।व्यवस्थापनका दृष्टिले संस्थाहरुमा व्यक्तिगत, समूहगत तथा संस्थागत कारणबाट उत्पन्न तनावलाई त व्यवस्थापन गर्न सकिएला, साथै आममानिसमा बाह्य वातावरणीय तत्वहरुबाट उत्पन्न तनावलाई व्यवस्थापन गर्ने प्रयाससम्म गर्नसकिएला तर पूर्णरुपमा समाधान नै गर्न सकिन्छ भन्ने अपेक्षा गर्नु निरर्थक हुन्छ ।

 

किनकि बाह्य वातावरणीय तत्वहरु मानिसको काबुभन्दा बाहिर हुन्छन्, त्यही भएर तिनीहरुलाई नियन्त्रणमा लिने कार्य चुनौतीपूर्ण नै हुन्छ ।त्यसकारण वर्तमान परिस्थितिमा उत्पन्न हुनसक्ने तनावलाई समयमै व्यवस्थापन गर्न सकेमा अनपेक्षित क्षतिबाट बच्न सकिन्छ ।यतिखेर कोरोनाभाइरसबाट नराम्ररी प्रभावित बनेका अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, इरान, युके, टर्की, स्वीट्जरल्यान्ड, बेल्जियम, नेदरल्यान्डलगायतका मुलुकहरु छन्, जहाँका समाचार पढ्दा, टिभी हेर्दा, कथा सुन्दाकहाली लाग्छ । विश्वका अन्य मुलुकका हालखबर सुन्दा मात्रै पनि हामी नेपालीलाई डर लाग्छ भने यहाँ केही गरी यस रोगले महामारीको रुप लिएमा नियन्त्रण गर्ने कार्य धेरै परको कुरा हो । त्यसैले रोग लाग्नै नदिने गरी आपूm सजग एवम् सतर्क रहँनै पर्दछ ।

तनाव व्यवस्थापनका केही विधिहरुः

  •  नियमितरुपमा योग, शारीरिक अभ्यास, ध्यान र प्राणायाम गर्ने
  •  स्वस्थ तथा सन्तुलित भोजन खाने
  •  पर्याप्त मात्रामा सुत्ने
  • समयको सदुपयोग गर्ने
  •  एक्लोपनबाट छुटकारा पाउनका लागि नजिकका व्यक्तिहरुसँगै बस्ने
  •  मनोरञ्जन गर्ने
  •  खेलकुद तथा सिर्जनशील क्रियाकलापमा संलग्न हुने ।

 

त्यसैगरी लकडाउनका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा साना बालबालिकालाईपनि मनोवैज्ञानिक असर पर्नसक्छ,, अभिभावकहरुले त्यस्ता बालबालिकालाई सुरक्षित महसुस गराउने, उनीहरुका जिज्ञासालाई समाधान गरिदिने, मनोरञ्जन दिलाउने, अनावश्यक भिडियो गेम खेल्ने कामबाट टाढै राख्ने तथा समय तालिका बनाएर खानपान एवं अन्य गतिविधिमा सहभागी गराउनेजस्ता काम गर्नुपर्छ ।

 

यसका अतिरिक्त राज्यले सञ्चारमाध्यमहरुबाट उमेर समूहहरु जस्तै–बाल्यावस्था, किशोरावस्था, युवावस्था, प्रौढावस्थाका व्यक्तिहरुलाई सुहाउने गतिविधि तथा उनीहरुकै रुचिअनुसारका गतिविधिका बारेमा फिल्म,डकुमेन्ट्रीजस्ता सामग्रीहरु समय छुट्याएर प्रस्तुत गर्ने, उनीहरुलाई सचेतना जगाउने खालका कार्यक्रमहरु निर्माण गर्ने तथा नियमितरुपमा प्रसारण गर्ने कार्यलाई विशेष जोड दिनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्