महामारीका बीचमा नयाँ गभर्नर: के भन्छन् व्यवसायी तथा बैंकर ?



परिवर्तन देवकोटा, काठमाडौं ।

निकै लामो रस्साकस्सीका बीच सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई गभर्नर पदमा नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नरमा नियुक्त हुनुभएका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाउनुभएको उहाँसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव रहेको छ ।

उहाँ यसअघि डा. चिरञ्जीवी नेपालसँगै गभर्नरमा सिफारिस हुनुभएको थियो ।पेसाले चार्टड अकाउन्टेन्ट रहनुभएका उहाँ राष्ट्र बैंकको १७औं गभर्नर बन्नुभएको हो ।

महामारीको मुखमा नवनियुक्त गभर्नर

राष्ट्र बैंकमा निकै लामो अनुभव सँगाल्नुभएका उहाँबाट मातहतका निकायहरूले निकै नै अपेक्षा गरेका छन् । अर्थतन्त्र तथा वित्तीय क्षेत्रलाई निकै नजिकबाट बुझ्नुभएका उहाँले आफ्नो कार्यकालमा धेरै नै कामहरू गर्नुपर्नेछ ।

कोरोना भाइरसले मुलुक लकडाउनको अवस्थामा गुज्रिरहँदा नवनियुक्त गभर्नर अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भूमिका खेल्नु प्रमुख चुनौतीका रूपमा ठहरिएको छ । कोरोना भाइरसले ग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योग व्यवसायीहरूलाई खुसी पार्नु त छँदै छ, अन्य नीतिगत कुराहरूमा पनि उहाँले निकै नै काम गर्नुपर्ने देखिन्छ ।

कोरोना भाइरसका कारण नोट प्रणालीमाथि नै गम्भीर प्रश्न उठिरहेका समयमा उहाँले डिजिटल भुक्तानी प्रणालीलाई विकसित गर्नुपर्ने अवस्थासमेत रहेको छ ।

राष्ट्र बैंकको स्वायत्ततामा विशेष ध्यान दिनुपर्छ
दीपेन्द्रबहादुर क्षेत्री
पूर्वगभर्नर

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोरोना भाइरसका कारण संकटमा परेको उद्योग व्यवसायलाई चलायमान बनाउनका लागि नवनियुक्त गभर्नर अधिकारीले काम गर्नुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले अहिले उद्योग व्यवसायलाई हुने गरी खासै काम नभएको बताउँदै कोरोनाका कारण प्रभावित व्यवसायलाई चलायमान बनाउन अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो ।

उहाँले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कर्जा उपलब्ध गराउनेबारे अध्ययन गरेर ठोस कदम चाल्नु नै नवनियुक्त गर्भनर अधिकारीको प्रमुख काम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कसलाई कति दिने हो, साना–ठूलालाई समान दिएर त पक्कै हुँदैन, त्यसैले यसबारे अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्छ ।’

मूल्यवृद्धि झन्डै सात प्रतिशतको हाराहारीमा रहेको अवस्थामा सरकारले उदारता देखाउँदा नवनियुक्त गभर्नरले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारको कामले बजारमा कस्तो असर गर्छ त्यसबारे अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएकाले छिटो पूरा हुने योजनाहरूमा काम गर्न सुझाव दिनुपर्नेमा पनि ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

राष्ट्र बैंकको स्वायत्ततामा कहिलेकाहीं तुषारापात पर्न सक्ने बताउँदै नवनियुक्त गर्भनर अधिकारीलाई त्यसतर्फ विशेष ध्यान केन्द्रित गर्न सुझाव गर्नुभयो । आफ्नो गल्ती नहुँदा पनि सरकारले केही गर्ला कि भनी डराउने बानी हुन सक्छ, त्यस्तो अवस्थामा नडराउन र संस्थाको स्वायत्तता र गरिमालाई कायम राख्न ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

 भुवन दाहाल
अध्यक्ष
नेपाल बैंकर्स एसोसियसन

नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहालले नवनियुक्त गभर्नर अधिकारीसँग वाणिज्य बैंक सञ्चालनको अनुभवलगायतका अन्य प्रशस्तै अनुभव रहेका बताउँदै अब त्यस अनुभवलाई प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले डेपुटी गभर्नरमा रहँदा अधिकारीले तत्कालीन गभर्नर डा. युवराज खतिवडालाई सफल बनाउनुभएको स्मरण गर्दै अब पुनः अर्थमन्त्रीलाई सफल बनाउने अवसर सिर्जना भएको बताउनुभयो ।

‘कोरोना भाइरसका कारण धेरै व्यापारीहरूलाई समस्या परेको छ, यसको असर बैंकमा पनि परेको छ, जसका कारण तरलता प्रवाह गर्नुपर्ने हुन्छ । जुन कुरा उहाँलाई थाहा छ, राम्रो निर्णय लिनुहुन्छ भन्ने अपेक्षा छ।’ –उहाँले भन्नुभयो ।

नेपालमा अहिले पनि करेन्सी नोटको चलन धेरै भएको बताउँदै उहाँले अबको पाँच वर्षसम्ममा नोटमा गभर्नरको सही अत्यन्तै कम बनाउन काम गर्नुपर्ने औंल्याउनुभयो । डिजिटल पेमेन्टलाई बढावा दिँदै नयाँ उचाइमा पु¥याउन सबैको योगदान अमूल्य हुने बताउँदै त्यसमा उहाँको भूमिका रहनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीलाई पनि राहत सहुलियतमा पनि ध्यान दिनुपर्ने बताउँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

 किरणकुमार श्रेष्ठ
सीईओ
राष्ट्रिय वाणिज्य बैंक

यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले नवनियुक्त गभर्नर एकदमै अनुभवी व्यक्ति आएको भन्दै आफूहरू खुसी भएको सुनाउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले नीतिगत स्थिरता कायम हुनुपर्छ भन्नेमा उहाँले दृढ हुनुपर्ने भन्दै उहाँको कार्यकालमा नीतिगत स्थिरता हुनेमा विश्वास दिनुभयो ।

उहाँले क्राइसिस म्यानेज गर्ने समयमा उहाँको कार्यकाल निकै चुनौतीपूर्ण ढंगले शुरू भएको बताउनुभयो । कोरोना भाइरसका कारण अर्थतन्त्र डामाडोल भएको अवस्थामा उहाँले बैंकलाई पनि बचाउनुपर्ने र व्यवसायीलाई पनि सहुलियत दिनुपर्ने भन्दै यस्तो अवस्थामा राम्रो नीति लिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरोनाका कारण एउटा चुनौती त छ, तर उहाँले त्यसलाई पनि अवसरका रूपमा लिएर काम गर्नुपर्छ ।’

 प्रदीप श्रेष्ठ
म्यानेजिङ डाइरेक्टर
पञ्चकन्या ग्रुप

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् पञ्चकन्या ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रदीप श्रेष्ठले नवनियुक्त गभर्नरलाई देशको अर्थतन्त्र तथा उतारचढावलाई बुझेको मान्छे भन्दै उहाँबाट उद्योगी व्यवसायी वर्गले धेरै नै अपेक्षा राखेको बताउनुभयो ।

उहाँले डेपुटी गभर्नर पनि भइसकेको हुनाले पनि नवनियुक्त गभर्नर अधिकारीलाई देशको अर्थतन्त्रलाई सुदृढ बनाउन भूमिका खेल्न सहज हुने बताउनुभयो ।

‘अहिले कोरोना भाइरस र त्यसपछिको लकडाउनका कारण देशकै अर्थतन्त्र डामाडोल छ, यस्तो अवस्थामा उहाँलाई काममा चुनौती देखिए पनि सहजै हल गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्