विशिष्ट श्रेणीको अधिकृतमा अर्यालद्वारा पदबहाली



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रकासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज बहाली गर्नुभएको छ । मन्त्री परिषद्को फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यस अघि उहाँ नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत हुनुहुन्थ्यो । भारतको महावाणिज्य दूताबासबाट सरुवा भएर बरबुझारथ गरेपछि नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरुभइसकेको थियो । बिदेशबाट फर्कनेले १४ दिन अनिवार्य क्वारेन्टइनमा बस्नु पर्ने नियमको पालना गर्दै अर्याल क्वारेन्टाइनमा बसेर आज १५ औं दिनका दिन कार्यभार सम्हाल्न महानगरमा आउनुभएको हो ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा हुनुभएको हो । २०७२ सालको महाभूकम्पका समयमा उहाँ काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो- चुस्त सेवा र भ्रष्टाचार शुन्य सहनशीलता मेरा प्रमुख बाटा हुन् । जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रबिधिकोमाध्यमबाट व्यवस्थित गराउन चाहन्छु यसका लागि मैले मेरो टिमबाट सकारात्मक पृष्ठपोषणको अपेक्षा गरेको छु । ‘ बिसं २०७२ सालको भूकम्पबाट सृजना भएको बिपत्तिलाई मैले काठमाडौंमा बसेर व्यवस्थापन गरेको छु । अहिलेको बिपत्तिको प्रकृति फरक छ । तर, समन्वय र कार्यकुशलताले यसलाई सजिलै व्यवस्थापन गर्नुपर्छ–उहाले भन्नुभयो । कामपाका सहसचिव राजेश्वर ज्ञवालीले काठमाडौं महानगरमा दक्ष कर्मचारी भएकोले नेतृत्वलाई लक्ष्य हासील गर्न सहज वातावरण भएको उल्लेख गर्नुभयो । परेको बेला खट्न सक्ने र लक्ष्य पहिल्याउन सक्ने कर्मचारी महानगरको क्षमता हो, सहसचिव ज्ञवालीले बताउनुभयो ।

प्रशासन बिभागका प्रमुख नमराज ढकालले कामपामा १ हजार ८ सय बढी कर्मचारी छन् , ती मध्य ५९ जना निजामती सेवाबाट समायोजन भएर आउनुभएको छ । समायोजनबाट स्थानीय सेवामा काम गर्नेलाई उति उत्साह छैन । महानगरको वर्तमान अवस्था र क्षमताका विषयमा जानकारी दिँदै भन्नुभयो । पदबहालीका क्रममा बिभागीय प्रमुखहरु उपस्थित थिए । ढकालले अहिले समग्र कामपा राहत वितरण कार्यमा लागिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्