डोटीमा नवविवाहित युवतीको गोली हानी हत्या



विमल विष्ट, डोटी ।

डोटीको जोरायल गाउँपालिकामा वडा नं. ४ देउथलाको नङनी टोलकी २० वर्षीया अनिता वनको गोलि हानी हत्या गरिएको छ ।

आइतवार राती निज महिलाको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “म घटना स्थलमा आफै खटिएको छु, कस्ले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्ने छ ।” भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले जानकारी दिनुभयो ।

गोली कस्ले हानेको भन्ने विषयमा अहिले सम्म एकिन जानकारी नखुलेपनि घरमा अरु कोही नभएको र उहाँका २२ वर्षीया श्रीमान खडक वन मात्रै भएले उहाँले नै हानेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । घरको माथिल्लो तलामा रहेका दुइ कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको एक कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । उता मृतक अनिताका श्रीमान खडकले आफु घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफु माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीको टोली घटनास्थल पुगि खडक वनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गएको फागुन १३ गते विवाह भएको खुल्न आएको प्रहरी प्रमुख देउवाले बताउनुभयो । मृतकको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल पठाउने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्