बालमनोविज्ञान बुझ्ने तरिका



छोटो समयमै अरूका बच्चाभन्दा धेरै जान्ने र सिपालु बनून् भन्ने चाहना सबै अभिभावकको हुन्छ । हाम्रा बच्चाले के–के कुरा कसरी सिक्दा रहेछन्, उनीहरू कहाँनेर रमाउँछन्, के कुरामा रमाउँछन् र कुन कुराले उनीहरूको सिकाइ प्रक्रियालाई सजिलो बनाउँछ भन्ने कुरातर्फ ध्यान गएको हुँदैन, जुन हाम्रो चाहनाभन्दा महत्वपूर्ण विषय हो । बच्चाको सिकाइमा देखिने कमजोरीमा अभिभावकले आफूलाई भन्दा बढी स्कुललाई जिम्मेवार ठान्ने गर्छन् । स्कुल गएको छोटो समयमै मेरो बच्चाले त त्यो स्कुलमा सिक्न सकेन, राम्रो गरेन, गृहकार्य पुगेन जस्ता गुनासाहरु गरिन्छ । यसबाट बालबालिकाको चाहना तथा विद्यालयका अन्य विशेषताहरुलाई महत्व नदिएको प्रस्ट हुन्छ ।

 

बालबालिकाले कसरी सिक्छन्, कस्तो वातावरणमा सिकाइँदा प्रभावकारी हुन्छ भन्ने कुराको ख्यालै नगर्नाले पनि बालबालिकाले सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन् । आफ्नो बच्चाको क्षमता, विश्वास र सिकाइ अवस्थाभन्दा पनि आफूलाई कहाँ सजिलो हुन्छ, कोप्रति बढी विश्वास छ, त्यसअनुरुप गर्नाले बालमनोविज्ञान र चाहना बुझ्न नसकेको स्पस्ट हुन्छ ।

 

अभिभावकले स्कुल परिवर्तन गर्ने वा नजिकको विद्यालय छोडी टाढाको विद्यालयमा भर्ना गराउने प्रचलन पनि बढ्दो क्रममा छ । एकपटक विद्यालय भर्ना गरेपछि सधैँ त्यही स्कुलमा राखिरहनुपर्छ भन्ने छैन । स्कुल फेर्नु पनि पर्छ । स्कुल परिवर्तन गर्नाले बालबालिकाको मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्न सक्छ । जसले बालबालिकाको पढाइ तथा सिक्ने क्षमतामा प्रत्यक्ष प्रभाव पर्छ । त्यसैले आफ्नो बच्चालाई एउटा विद्यालयबाट अर्कोमा लाने निर्णय गर्नुभन्दा पहिले निकै सतर्कताका साथ यस विषयमा सोच्न आवश्यक छ । पहिले पढ्दै गरेको विद्यालयमा बच्चालाई मन परेका कुराहरु के–के छन्, उसले चित्त नबुझाएका कुराहरू अथवा उसलाई मन नपर्ने कुरा तथा व्यवहार छन् भने त्यसको बारेमा पनि जानकार हुनुपर्छ ।

 

बच्चालाई त्यो विद्यालयका साथीहरु असाध्यै मन परेको रहेछ भने उसलाई अर्को स्कुलमा लैजाँदा एक्लो महसुस गर्ने सम्भावना हुन्छ । नयाँ स्कुलमा यसबाट उसको सिकाइमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढी हुन्छ । अधिकांश बच्चाहरूलाई आफू पढिरहेको स्कुलका शिक्षकहरूको माया लाग्छ । उनीहरूको पढाउने शैलीसँग उनीहरु सहज महसुस गर्छन् । त्यस्तो अवस्थामा स्कुल परिवर्तन गर्नु असाध्यै जटिल विषय बन्न पुग्छ ।

 

नयाँ स्कुलमा जानेबित्तिकै नयाँ शिक्षकहरूको पढाउने शैली बालबालिकाको लागि नौलो मात्र होइन, मन पर्न र अभ्यस्त हुन निकै समय लाग्न सक्छ । स्कुल फेर्ने कुरामा बच्चाको उमेर, प्रकृति र व्यवहारले पनि प्रभाव पार्दछ । यसो भन्दैमा विद्यालय फेर्न नहुने पनि होइन । नफेर्दाका अप्ठ्यारा पनि हुन सक्छन् । बच्चा जुन स्कुलमा पढिरहेको छ, त्यहाँ उसलाई सहज छैन, त्यहाँका शिक्षकहरूसँग आत्मीय बन्न सकेको छैन, ऊ रमाइरहेको छैन, साथीहरुसँग सहज भैसकेको छैन भने ऊ सजिलै अभिव्यक्त हुने मौका पाउँदैन ।

 

बालबालिकाले आफूलाई विद्यालयका बारेमा मन नपरेका कुराहरु, साथीहरुबाट भएको हेपाइ वा असहयोग, शिक्षकबाट भएको फरक व्यवहारलाई सीधै भन्न सक्दैनन् । न त अभिभावकले यस्ता विषयमा चासो लिएर सोध्ने वा बुझ्ने गरेको नै पाइन्छ ।

 

यस्तो अवस्थामा बालबालिकाले आफूलाई परेको असजिलो र तनावलाई बेग्लै तरिकाले प्रस्तुत गर्छन्, उनीहरुको प्रतिक्रिया फरक हुन्छ । उनीहरु बिरामी भैदिन्छन्, स्कुल जाने बेला भयो कि उनीहरुको पेट दुख्छ वा टाउको दुख्छ, शौचालय जान खोज्छन्, खाना खान मान्दैनन् वा खाँदाखाँदै वाक्क गर्छन् । यस्ता खालका व्यवहारहरू बालबालिकाले देखाउँदा हामीले उनीहरूको स्वास्थ्य बिग्रेको भन्ने सोच्छौं । तर वास्तविकता फरक पनि हुनसक्छ । म स्कुल जान्नँ, मेरा शिक्षक यस्ता छन्, मेरो साथीले यसो ग¥यो भन्ने बच्चाहरू त एकदमै थोरै हुन्छन् । यदि भनिहाले पनि पत्याउने अभिभावक कम नै हुन्छन् । यसबाट बालबालिकामा झनै तनाव थपिन्छ । त्यसैले स्कुल परिवर्तनको विषय सोचे जति सजिलो छैन ।

 

नयाँ विद्यालयमा कस्ता शिक्षकले कुन विधिमा कसरी पढाउँछन्, शिक्षक तालिमप्राप्त छन् कि छैनन, बालबालिकाको सिकाइबारे कतिको सचेत छन्, अनुशासन कसरी कायम गर्दा रहेछन, पिट्ने पो गर्छन् कि ? सबै कुरामा ध्यान पु¥याउनुपर्छ । यसै गरी गृहकार्य कति दिँदा रहेछन्, जाँच्दा रहेछन् कि नाइँ ? गृहकार्य नगरे कस्तो सजाय दिँदा रहेछन्, सिकाइको मूल्यांकन कसरी गर्दा रहेछन्, शिक्षकहरु भावनात्मकरुपमा स्वस्थ छन् कि छैनन् ? साथै उनीहरु कस्तो मनोसामाजिक स्थितिमा छन् भन्ने कुरा पनि अभिभावकले बुझ्नु आवश्यक छ ।

 

हामीकहाँ बढीजसो दुई खालका अभिभावक हुन्छन् । एक अनुशासनको नाममा जति पनि दण्ड दिनुपर्छ भन्नेमा विश्वास गर्ने र विद्यालयमा आफ्ना छोराछोरीलाई बढीभन्दा बढी गृहकार्य दिन, गाली गर्न, पिट्न अनुरोध गर्ने । अर्को, विद्यालयले के गरिराखेको छ, कस्तो छ भन्ने कुरामा पटक्कै चासो नलिने र पूर्णतया विद्यालय वा शिक्षकमा नै निर्भर रहने । यी दुवै तरिका गलत हुन् ।

 

बालबालिकाले प्रारम्भिक उमेरमा पाउने तनाव, डर र त्रासले उनीहरुको बौद्धिक क्षमतामा नकारात्मक असर गर्दछ । साथै विद्यालयबारे कत्ति पनि चासो नराख्दा बालबालिकामा परेका त्यस्ता असरबारे अभिभावकलाई थाहा हुँदैन । तसर्थ अभिभावकले छोराछोरीहरुसँग उनीहरुको शिक्षक तथा साथीहरुको बारेमा कुराकानी गर्नाले विद्यालयका सम्बन्धमा उनीहरुको धारणा पनि थाहा पाउन सकिन्छ ।

 

यसका साथै विद्यालयको वातावरणको बारेमा विशेष जानकारी राख्नुपर्दछ । विद्यालय वातावरणभित्रका अवयवहरु, खेल्ने चउर, खानेपानी, शौचालय र कक्षाकोठाभित्रको बसाइ व्यवस्थापन पनि त्यत्तिकै महत्वपूर्ण कुरा हुन् । विद्यालयमा खेल्नलाई पर्याप्त ठाउँ नभएको, घाम नपरेका अँध्यारा र साना कक्षा कोठा, साँघुरो ठाउँ, फर्निचरलगायत पिउने पानीको व्यवस्था छ वा छैन, हेर्नुपर्छ । बालमैत्री, छात्रामैत्री र समग्रमा विद्यार्थीमैत्री विद्यालय छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ ।

 

यी कुरा बालबालिकाको चौतर्फी विकासका लागि आधारभूत आवश्यकता हुन् । यस्ता कुराहरूको लेखाजोखा नगरी अरुको लहलहैमा वा बच्चाले भनेकै भरमा विद्यालय परिवर्तन गर्दा बालबालिकाको क्षमतामा ह्रास आउनुका साथै सम्हाल्नै नसकिने नोक्सान व्यहोर्न पर्ने हुनसक्छ । गुणस्तरीय शिक्षाको बहानामा घरबाट टाढाको विद्यालयमा भर्ना गर्ने गलत परम्पराको विकास भएको पाइन्छ । बालबालिकाको चौतर्फी विकासका सन्दर्भमा यो सरासर गलत अभ्यास हो ।

 

बिहान स्कुल जाँदा जुन फूर्ति हुन्छ, टाढाको विद्यालय पुगिसक्दा त्यो मरिसकेको हुन्छ । थकित अवस्थामा सोच्ने, कल्पना गर्ने र स्मरणशक्ति कमजोर हुने अवस्था आउँछ । स्कुल परिवर्तन गर्नुअघि वा बच्चालाई स्कुल भर्ना गर्नुअघि अभिभावकले बच्चाको सिकाइमा पर्न सक्ने यी र यस्ता अदृश्य प्रभावलाई पनि आँकलन गर्न आवश्यक हुन्छ । अभिभावक नै सचेत हुनुपर्छ यस्ता विषयमा ।

– सुलोचना चौधरी, टीकापुर ।
(मन्टेश्वरी शिक्षक)

प्रतिक्रिया दिनुहोस्