युवाहरू नै रोगको प्रमुख वाहक बन्ने खतरा !

न्युयोर्कमा कार्यरत नेपाली डाक्टरको कोरोना अनुभव



लक्ष्मण अधिकारी ।

सरुवारोग विशेषज्ञ डा. सुनिता पराजुली करिब पाँच वर्षदेखि न्युयोर्कका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्छ । पोखरास्थित मनिपाल कलेजबाट एमबीबीएस पास गरी केही वर्ष विभिन्न जिल्ला जनस्वास्थ्य कार्यालयमा काम गरेपछि थप अध्ययनका लागि अमेरिका गएकी डा. पराजुलीले अर्कान्सस मेडिकल युनिभर्सिटीबाट इन्टरनल मेडिसिनमा एमडी र न्युयोर्क युनिभर्सिटी स्कुल अझ मेडिसिनबाट सन् २०१७ मा सरुवा रोग विषयमा विशेषज्ञता हासिल गर्नुभएको हो । उहाँ हाल न्युयोर्कको एस्सेन मेडिकल एसोसिएट्सअन्तर्गतको एक अस्पतालमा सरुवा रोग विशेषज्ञ तथा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत हुनुहुन्छ ।

 

कोविड–१९ को महामारीका दृष्टिले न्युयोर्क विश्वको सबैभन्दा खराब स्थिति भएको शहर हो । पूरा अमेरिकामा आइतबार बिहानसम्म विश्वकै सबैभन्दा बढी ३ लाख ११ हजार ३ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित भई ८ हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने न्युयोर्कमा मात्र आइतबार बिहानसम्म १ लाख १४ हजार ७ सय ७५ जना संक्रमित भएका छन् । त्यसमध्ये ११ हजार ३ सय नयाँ संक्रमित केस रहेका छन् र अहिलेसम्म ३ हजार ५ सय ६५ जनाको मृत्यु भइसकेको छ । न्युयोर्कमा विगत २४ घण्टामा ६ सय ३० जना बिरामीको कोरोनाकै कारण मृत्यु भएको छ । यो संख्या न्युयोर्कमा अहिलेसम्म कोरोनाको कारण २४ घण्टामा भएको मृत्युको संख्या मध्ये सवैभन्दा बढी हो ।

 

न्युयोर्कमा कोविड–१९ को महामारीबाट ग्रस्त बिरामीहरूको उपचारका लागि फ्रन्ट लाइनमा बसेर सरुवा रोग विशेषज्ञका रूपमा काम गरिरहेकी डा. पराजुलीको अनुभव:

 

विश्वकै विकसित र सम्पन्न शहर भएर पनि किन न्युयोर्कको हालत सबैभन्दा खराब हुन पुग्यो ?

न्युयोर्कमा जनघनत्व अत्यधिक छ । तीनवटा त अन्तर्राष्ट्रिय एअरपोर्ट छन्, जहाँ संसारभरका मानिस व्यापार र फेसनका लागि आउँछन् । म्यानहाटन बिजनेसको हव नै हो । शहर २४ घन्टै खुलिरहेको हुन्छ र हरदम बिजी हुन्छ । लकडाउन भए पनि अत्यावश्यक सेवाका मानिस अरू विभिन्न स्टेट तथा शहरबाट आवतजावत गरिरहेका छन् । रेस्टुरेन्ट, वार, स्कुल, कलेज बन्द भए पनि हिँड्नै हुन्न भनेर पुलिस लगाएर कडाइ गरिएको छैन । न्युयोर्कमा आर्थिक कारोबार अत्यधिक हुने भएकाले यसलाई सन्तुलित गर्नका लागि पनि कडाइका साथ लकडाउन नगरिएको कुरा बाहिर आएको छ ।

 

चिकित्साकर्मी, सरकार, जनता कसैले पनि यतिसम्म होला भनेर पहिला कल्पना पनि गरेका थिएनन् । यो शताब्दीमा नै पहिलो घटना भएकाले वास्तवमा यतिसम्म हुन्छ भन्ने ज्ञान नै थिएन । न्युयोर्कमा दुई हप्ताअघि नै लकडाउन गर्ने सोच बनाइएको थियो तर सम्भव नै भएन । खानालगायत दैनिक उपभोग्य वस्तु अरू राज्यबाट आउँछन् । खाना प्राय सबै न्युजर्सीबाट आउँछ । अत्यावश्यक सेवाका मानिस काममा जाने भने पनि अझै पार्कहरूमा भेटिन्छन् । नियमले त ग्रोसरी, अस्पताल, फार्मेसी मात्र खोल्ने भनिएको छ । ग्रोसरीमा जाँदा पनि ६ फिट दूरी कायम गर्ने र एकपटकमा १० जनाभन्दा बढी भित्र नजाने व्यवस्था गरिएको छ । तर व्यवहारमा राम्ररी लागू भएन । शुरूमा त्यति ध्यान नदिएकाले पनि आज सम्हालिनसक्नु अवस्था भएको छ ।

 

महामारीले स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव परेको छ ?

 

न्युयोर्कका सबै अस्पतालमा वर्कलोड बढेको छ । बिरामीको टेस्ट डिमान्ड अत्यधिक छ । संक्रमणको समस्या धेरै छ । न्युयोर्कमा मात्र दैनिक औसत १० हजार संक्रमित भइरहेका छन् । यो निकै धेरै हो । म काम गरिरहेको अस्पतालमा हाल ५८ जना संक्रमितको उपचार भइरहेको छ भने १७ जना टेस्ट गरेर रिपोर्ट पर्खिरहेका छन् र १० जनाको लक्षण देखिएकाले परीक्षणको तयारी भइरहेको छ । विरामीहरूको उपचारकै क्रममा यस अस्पतालका दुई जना चिकित्सक कोरोनाबाट संक्रमित भए, हाल निको भइसकेको छ । बिरामीको संख्या वृद्धि भएसँगै स्वास्थ्यकर्मीहरूको कार्यबोझ तथा कार्य अवधि बढेको छ ।

 

स्वास्थ्य पूर्वाधारका हिसाबले न्युयोर्क विश्वकै राम्रोमध्ये मानिन्छ तर पनि किन यो स्थिति आयो त ?

 

न्युयोर्कमा उच्चस्तरको सेवा दिने राम्रा अस्पताल धेरै छन् । विश्वका टप डाक्टरहरू उत्पादन गरेको र चिकित्सा क्षेत्रका सिद्धान्तहरू विकास गरेको शहर हो, न्युयोर्क । तर कल्पनै नगरेको समस्या आएपछि समाधान गर्न मुस्किल भयो । चीनमा रोग देखिएको केही दिनमै त्यहाँ लकडाउन गरेकाले अन्यत्र फैलिँदैन होला भन्ने भयो । शुरूमा वास्ता नगर्नु नै कमजोरी भयो । अहिले न्युयोर्कमा परेको समस्या हेरेर अरू स्टेटहरूले पाठ सिक्दै यस्तो स्थिति आउन नदिन तयारीमा लागेका छन् ।

 

कोविड–१९ न्युयोर्कमा शुरूमा कसरी देखियो ?

 

न्युयोर्कमा कोविड–१९ को पहिलो केस मार्च १ मा देखिएको थियो । म्यानहाटनमा काम गर्ने न्युरोसेल काउन्टीको एकजना कानुन व्यावसायी मायामीमा कन्फ्रेन्समा भाग लिएर आउँदा कोविड–१९ को लक्षण लिएर आए । परीक्षण गर्दा पोजिटिभ देखियो । उपचारबाट निको त भयो तर परिवारमा श्रीमती र दुई बच्चालाई पनि संक्रमण भइसकेको रहेछ । यो देखिएको पहिले केस हो तर पनि थाहा नपाई अरू धेरैले फैलाएको हुनसक्छ । फेबु्रअरीमा सिस्टम लकडाउन नहुँदै संक्रमण भइसकेको हुनुपर्छ, थाहा नभएको मात्र हो । साधारण रुघाखोकीको लक्षण मात्र देखिएका बेला नै अरूलाई पनि सर्नसक्छ ।

 

स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको उपलब्धताको स्थिति कस्तो छ ?

हामीकहाँ हाल प्रयोग गर्नका लागि सुरक्षा सामग्रीहरूको उपलब्ध त छ, तर अभावकै स्थिति झेलिरहनुपरेको छ, पर्याप्त सामग्री उपलब्ध छैन । न्युयोर्कमा माग नै धेरै छ, बिरामी नै एक लाख बढी छन् । उनीहरूका लागि धेरै स्वास्थ्यकर्मी सम्लग्न हुनुपर्छ । त्यसका लागि पर्याप्त सुरक्षा सामग्री आवश्यक छ । मागको आधारमा सप्लाइ नभएकोले पीपीई सुरक्षित तरिका अपनाएर पालैपालो लाउनुपर्ने स्थिति छ ।

 

स्वास्थ्यकर्मीहरूले कसरी आप्नो सुरक्षा गरिरहनुभएको छ त ?

साबुनले भाइरस पूरै मर्ने भएकाले घण्टैपिच्छे जस्तो साबुनपानीले २० सेकेन्डसम्म मिचिमिचि हात धुन्छौं । एन–९५ मास्कले रोक्ने र भएकाले त्यो लगाउने, पीपीई लगाउने गरेका छौं । सास फेर्न नै कठिन भएको बिरामीकोमा जाँदा पूरै शरीर ढाक्ने गरी पीपीई लगाएर विशेष सावधानीका साथ जान्छौं ।
सामान्य अवस्थामा गाउन, मास्कहरू एकपटक प्रयोग गरेर फाल्ने नै हो, तर वर्तमान अवस्थामा अभाव भइरहेकाले सुरक्षित साथ पालैपालो लगाउने पनि गरिएको छ । यी साधनहरू अभावका बेला कसरी पालैपालो लगाउने भनरे सेन्टर फोर डिजिज कन्ट्रोल (सीडीसी) गाइडलाइन दिएको छ । त्यहीअनुसार गरिरहेका छौं ।

 

न्युयोर्कमा हाल अरू बिरामीको उपचार कसरी हुँदै छ ?

अहिले कोरोनाभाइरसको लक्षण नै भए पनि साधारण ज्वरो, खोकी लाग्दैमा अस्पताल आउन, टेस्ट गर्न पाइँदैन । संक्रमित तथा गम्भीर बिरामीकै चाप धेरै छ । अहिले त डिजास्टर मेनेज मात्र गरिएको छ । बिरामीलाई सास फेर्न गाह्रो भयो भने मात्र अस्पताल आउनु भनिएको छ ।
नेपाल त्यो स्थितिमा पुग्नु हुन्न, नेपालले बेलैमा लकडाउन गरेकाले प्रशस्त अवसर पाएको छ । सरकारको कदमलाई स्वास्थ्यकर्मी मात्र होइन, आम जनसमुदायले पनि सहयोग गरे मात्र रोग नियन्त्रणमा आउँछ ।

 

चिकित्साकर्मीहरूको सामाजिक, पारिवारिक जीवन कस्तो भएको छ ?

 

सोसियल लाइफ पूरै भर्चुअल भएको छ, धेरै गाह्रो छ । आमा, दाइलाई भेट्न नपाएको एक महिना जति भइसक्यो । साथीभाइलाई च्याटमा मात्र भेट्ने हो । जोसँग कुरा गरे पनि कोरोनाकै कुरा हुन्छ, नयाँ कुरा नै हुन्न ।

 

न्युयोर्कमा नेपालीहरूको स्थिति कस्तो छ ?

 

न्युयोर्क राज्यकै क्वीन्समा थोरै क्षेत्रमा धेरै नेपालीहरूको बसोबास छ र त्यहाँ धेरै प्रभावित भएका छन् । डेटाहरू नेपाली भनेर नआउने र नेपाली समूहसँग त्यति सम्पर्क भइरहने नभएकाले एकिन तथ्यांक नभए पनि ५० जनाभन्दा बढी नै संक्रमित भइसकेको सुनेको थिएँ, अझै बढेको हुनसक्छ । दैनिक जीवनचाहिँ निकै प्रभावित भएको छ, यसले भविष्यमा आर्थिक समस्या पनि ल्याउन सक्छ ।

 

युवा जमातमा रोग प्रतिरोधात्मक क्षमता धेरै हुने भएकाले कोरोनाले असर गर्दैन भनिन्छ खास के हो ?

 

अरू रोग नलागेका युवाहरूलाई केही नहुन पनि सक्छ तर केही हुँदैन भनेर हेलचेक्र्याइँ गर्दा उनीहरू भाइरसका वाहक हुनसक्छन् । घरका बूढाबूढी, केटाकेटी, डायबिटिजका रोगी, धूमपान गर्नेहरूलाई युवाहरूबाट सर्यो भने उनीहरूको ज्यान जान सक्छ । संसारभर नै युवा जमात रोगबाट प्रभावितभन्दा बढी रोगको वाहक बनेको पाइएको छ । युवाहरू बढी चलायमान हुने भएकाले धेरै ठाउँ पुग्ने र रोग सार्ने गरेको पनि पाइएको छ । युवा भए पनि डायबिटिज भएका, धेरै धूमपान गर्नेहरू आफै प्रभावित भएका छन् ।

 

बीसीजीको खोप लगाएकाले नेपाल भारतमा कम प्रभाव परेको भन्ने पनि प्रचार हुन थालेको छ, यस बारेमा के भन्नुहुन्छ ?

 

प्रथमतः क्षयरोग विरुद्धको बीसीजी खोप लगाउँदैमा क्षयरोग हुँदै नहुने होइन, हुनसक्छ । बीसीजी खोपमा अरू भाइरसबाट बचाउनका लागि इम्युनिटी पावर बढाउन सक्ने क्षमता छ । यो कुरा कोविड–१९ आउनुअघिकै रिसर्चबाट पनि देखिएको छ । हाल अस्ट्रेलिया र युरोपमा स्वास्थ्यकर्मीहरूलाई बीसीजी खोप दिएर ट्रायल गरिँदै छ । तर यस्तै हुन्छ भन्ने निष्कर्ष नआइसकेकाले बीसीजी खोप लगाएको छ, सर्दैन भनेर ढुक्क हुने स्थिति छैन । लक्षण देखिए परीक्षण गरेर हेर्नुपर्छ, हेलचक्र्याइँ गर्नु हुन्न ।

 

यो महामारी नियन्त्रणका लागि नेपाललेले कसरी काम गर्नुपर्छ भन्ने लाग्छ ?

 

कोरोना भाइरसले संसारभर असर गरिरहेकाले अरू देशले कसरी सफलरूपमा म्यानेज गरे भन्ने हेर्नुपर्छ र राम्रो मोडल अपनाउनुपर्छ । साउथ कोरिया, सिंगापुर, चीनमा कसरी नियन्त्रण गरे भन्ने हेर्नुपर्छ । दक्षिण कोरियाको मोडल निकै राम्रो छ । चीनमा यो भाइरस देखिनासाथ साउथ कोरियाले आप्नो देशमा स्थिति के छ भनेर परीक्षण शुरू गर्यो र क्वारेन्टाइन शुरू ग¥यो । टेस्ट धेरै गरेकाले बेलैमा नियन्त्रणमा लिन सक्यो । तर युरोप अमेरिकामा लक्षण देखिए पनि साधारण फ्लु हो भनेर वास्ता गरिएन, परीक्षण भएन । यो ठूलो गल्ती भयो ।

नेपालले त्यस्तो गल्ती दोहोर्याउनुहुँदैन । रोग नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र नागरिक समाज सबैको उत्तिकै भूमिका छ । लकडाउनभरि घरबाट ननिस्किने, बराबर हात धोइरहने, आधिकारिक संस्थाबाट आएका सूचना, निर्देशनको पालना गरिरहने, ६ देखि ८ घण्टसम्म राम्ररी सुत्ने, स्वस्थ खानाहरू खाने गर्नुपर्छ ।

चिकित्सकहरूले पीपीईलगायत सुरक्षाका साधन लगाएर आफू सुरक्षित भएर काम गर्ने, डिजास्टरको सामना गर्न तयारी अवस्थामा रहनुपर्छ ।
नेपालको दुवैतिरका छिमेकी देशमा संक्रमण फैलिएको छ । भारततिर खुला सिमाना छ । त्यसैले कम्युनिटी ट्रान्समिसन धेरै हुनसक्ने भएकाले तयारी अवस्थामा बस्ने, परीक्षण गर्ने, आइसोलेट गर्ने गर्नु नै उत्तम हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्