गल्याङमा चार सय ९५ परिवारका १८ सय ५४ जनालाई राहत वितरण



भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाले चार सय ९५ परिवारलाई राहत बाँडेको छ । गल्याङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चारमा लकडाउनका कारण समस्यामा परेका अति विपन्न चार सय ९५ परिवारलाई राहत बाँडिएको हो ।

शनिबार बेलुकासम्ममा चार सय ९५ परिवारका एक हजार आठ सय ५४ जनालाई राहत बाँडिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई चार वटै वडामा गरी हालसम्म नौ हजार दुई सय ७० किलो चामल बाँडिएको छ ।

यस्तै, पाँच सय ५१ किलो दाल, ४९७ किलो नुन, चार सय ७६ लिटर खाने तेल र चार सय ६७ वटा हात धुने साबुन बाँडिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो । राहतका लागि आइतबार वडा नम्बर पाँचमा जाने तय भएको उहाँले जानकारी दिनुभयो ।

राहत वितरणका लागि वडा वडामा पुग्नुभएका नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकाले बनाएको राहत मापदण्ड अनुसार विपन्नहरुलाई राहत बाँडिएको स्पष्ट पार्नुभयो । वडा नम्बर चारमा भएको कार्यक्रममा उहाँले भन्नुभयो –“कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउनका लागि लकडाउन भएको अवस्था छ ।

यो विपदको समयमा नगरपालिकाले पिडामा परेकाहरुलाई सहयोग गरेको हो ।” नगरप्रमुख अधिकारीले सबै नगरबासीको अभिभावकत्व नगरपालिकाले लिने भन्दै ढुक्क हुन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो –“तपाईहरु साबधानी अपाउनुहोला ।

हामी जनप्रतिनिधि र कर्मचारी सक्दो प्रयास गरिरहेका छौं” पहिलो चरणमा १५ दिनको लागि राहत प्याकेज ल्याएको भन्दै उहाँले राहत प्याकेजलाई लकडाउन सकिएको एक हप्तासम्म जारी राख्ने जानकारी दिनुभयो । नगरपालिकाबाट राहत र कोरोना भाइरस संक्रमणको जोखिम कमगर्नका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।

उहाँले नगरपालिकामा राहत कोषको स्थापना गरिएको भन्दै असहायहरुको सहयोगका लागि राहत कोषमा रकम जम्मा गरेर सक्दो सहयोग गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डेले वडा समितिबाट आफ्नो वडामा सकेसम्म विपन्नहरुलाई छनौट गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्