पल रियल हिरोः विपन्न प्राविधिकलाई एक्लैले दिने भए ५ लाख



नायक पल शाह रिल लाइफमा जस्तै रियल लाइफमा पनि हिरो बनेर अगाडि आएका छन्। उनी दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने फिल्म प्राविधिकहरुका लागि लकडाउनका कारण परेको समस्यासँग जुध्न पाँच लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेर रियल लाइफको पनि हिरो बनेका हुन्।

 

फिल्म प्राविधिकहरुलाई पाँच लाख सहयोग गर्ने घोषणा गरेसँगै फिल्म क्षेत्रबाट उनको तारिफमाथि तारिफ भइरहेको छ। दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिँदै यस्तो घोषणा गरिएको शाहले बताएका छन्। पलले गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आर्थिक स्थिति कमजोर भएका प्रविधिक तथा सहयोगीहरुका लागि सहयोग गर्ने घोषणा गरेका हुन्।

 

उनले व्यक्तिगत तर्फबाट पाँच लाख रुपिायँ सहयोगको घोषणा गर्दै सो सहयोग आप्नै हातबाट प्रदान गर्ने इच्छा व्यक्त गरेका छन्।
पलले आर्थिक अवस्था कमजोर भएको र फिल्म क्षेत्रमा सक्रिय हरेकाको साथमा आफू भएको र केही अप्ठ्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन्।

 

‘आफूले पनि दुःख र अभावका दिन भोगेकाले सहयोग गर्न तत्पर भएको पलले बताएका छन्। ‘मेरा लागि एक हजारले पनि निकै महत्व राख्छ । त्यही पनि मेरो भन्दा अरु कसैको अवस्था कमजोर छ भने उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो। मैले एकमुष्ठ सहयोग कसैलाई दिएँ भने कसलाई जान्छ, जान्छ? त्यसैले विपन्न तथा आर्थिक स्थिति कमजोर भएका प्राविधिकहरु छनोट गरेर आफैले रकम दिने निर्णय गरेको छु।’ –पलले भनेका छन्। पलले नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग विपन्न प्राविधिकको सूचि लिई सोही आधारमा प्राविधिकलाई राहत प्रदान गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्