स्वास्थ्य सामग्रीको ‘पहाड’ लिन चीन गएको विमान ‘मुसो’ बोकेर फर्क्यो

दोस्रो पटक पनि सरकार असफल, सेनालाई जिम्मेवारी



भगवती तिमल्सिना, काठमाडौं ।

गत साता नेपाल बायु सेवा निगमको विमान दुई पटक चीन पुग्यो– कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री लिन । पहिलो पटक भ्रष्टाचारका कारण सीमित सामान लिएको फर्केको विमाले दोस्रो पटक पनि सोचे जति सामान ल्याउन सकेन ।

पहिलो ठेकेदारलाई खारेज गरेपछि गत बिहीबार अर्को व्यापारी समूहलाई औषधी खरिदको जिम्मा दिएर नेपाल सरकारले निगमको वाइडबडी (एयरबस ए ३३०) जहाज मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ पठाइएको थियो । सो विमान शुक्रबार बिहान पहिलाजस्तै थोरै सामान बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गर्यो । ‘व्यापारीले सामान नै दिएनन्’ भन्ने खबर बोकेर विमान फर्किएपछि सरकारको नागरिक प्रशासनले हार स्वीका¥यो र जिम्मेवारी नेपाली सेनालाई दियो ।

सरकारले पहिला ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो । तर भ्रष्टाचार भएको स्वीकार गर्दै सम्झौता रद्द गरियो । लगत्तै अन्य व्यापारीले चीनबाट मेडिकल सामग्री ल्याउन लागेको बताइयो । बिहीबार गएको विमानले करीब ३० टन सामग्री ल्याउने बताइएको थियो ।

मेडिकल सामग्री सप्लायर विशाल पण्डित समूह र उनको हस्पिटेक प्रालिसहित अरु केही कम्पनीले जम्मा गरेको सामग्री ल्याउन लागिएको जनाएको थियो । पण्डितले मेडिकल सामग्री ल्याउन लागेको कुरा सञ्चार माध्यमसमक्ष स्वीकारेका पनि थिए । आफूले ल्याउने मेडिकल सामग्रीमा फुल सेट पीपीई, एन–९५ मास्क र इन्फाइराइड थर्मोमिटर मुख्य प्राथमिकता दिइएको समेत जानकारी उनले गराएका थिए ।

सरकार तथा स्वास्थ्य मन्त्रालयको असफलता तथा लज्जास्पद भएको, सेनाको शरण जानु नहुने भन्दै अहिले विभिन्न क्षेत्रबाट टिप्पणी भइरहेको छ । यता स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा प्रशासनिक कर्मचारीको भरमा चिकित्सकीय सामग्री खरिद गर्ने मात्र नभई स्वास्थ्यकर्मी, चिकित्सकहरुलाई जिम्मेवारी दिने र विश्वसनीय बनाउने कामसमेत नभएकाले ड्युटीमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च राख्न नसकेको समेत गुनासो आइरहेको छ ।

सरकारले सहयोगबापत आएको र केही खरिद गरेका सामानहरु स्वास्थ्य सेवा विभागबाट आवश्यकताअनुसार स्पे्रयर पम्प, पीपीई एन–९५ फेस माक्स, फेस सिल्ड, गाउन, चस्मा, पन्जा, सर्जिकल ग्लोब्स के, आईआर थर्मोमिटर, जुत्ताको कभर, सेनिटाइजर, सोडिएम हाइपोक्लोराइड सोलुसनलगायतका सात हजार थान विभिन्न सामग्री अस्पतालहरुमा पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सातवटै प्रदेशमध्ये प्रयोगशाला सेवा विस्तार भएका स्थान तथा स्वास्थ्य संस्थाहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू काठमाडौं, प्रदेश नम्बर ३, विश्वेश्वरप्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रदेश नं १, जनकपुर प्रादेशिक अस्पताल, जनकपुर, प्रदेश नं २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा, सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत, लुम्बिनी प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पताल, धनगढी छन् ।

पहिला ओम्नी समूहसँग झन्डै १ अर्ब २४ करोड बराबरको सम्झौता भएको थियो । उक्त कम्पनीको धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णयसहित सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारको धारणा सार्वजनिक गर्नुभयो । श्रेष्ठ भन्नुहुन्छ– ‘सामान ल्याउन सरकारले जहाज नै पठाएर सहजीकरण गर्याे तर उहाँहरुले सम्झौताअनुसार तोकिएको समयमा सामान ल्याउन सक्नुभएन ।’

प्रतिक्रिया दिनुहोस्