अर्काको न्युज पोर्टलमा छिरेर समाचार मेट्नु घोर आपत्तिजनक: प्रेस काउन्सिल

संविधानभन्दा माथि गएर शक्तिको दुरुपयोग भयो: न्युज पोर्टल



सुरेश तामाङ, काठमाडौं ।

काठमाडौं प्रेस नामक न्युज पोर्टललमा प्रकाशित स्वास्थ्य उपकरण खरिद ठेक्कामा उच्चपदस्थ व्यक्तिको निर्देशनमा भ्रष्टाचार भयो भनी प्रकाशित समाचार अनधिकृत रुपमा मेटिएपछि प्रेस काउन्सिल नेपाल र सम्पादकहरुको समूहले घोर आपत्ति जनाएका छन् ।

 

सो समाचार प्रधानमन्त्री र उपप्रधानमन्त्रीको विश्वासपात्रका रुपमा रहेका व्यक्तिहरुको निर्देशनमा मेटियो भन्दै गत केही दिनयता विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित हुँदै आएका छन् ।

 

नेपालको संविधानले सञ्चारको हकअन्तर्गत ‘प्रकाशनपूर्व प्रतिबन्धन लगाइने’ सुनिश्चितता गरेको छ । तर यस्तो राज्यव्यवस्थाको अभ्यास गरिरहेको सञ्चार माध्यमलाई कहिल्यै नसोचिएको आक्रामणले भने झस्काएको छ ।

 

काठमाडौं प्रेसमा प्रकाशित सामाचारको विषयलाई लिएर सोही न्युज पोर्टल डिजाइन गर्ने कम्पनीका साझेदारहरुले समाचार हटाउन पटक–पटक दबाब दिँदै नमानेपछि आफैले साइटको सि–प्यानल कब्जामा लिई उक्त समाचार पोस्ट हटाइदिएको थियो ।

 

उक्त न्युज पोर्टलले महँगोमा स्वास्थ्य सामग्री खरिदमा उप–प्रधानमन्त्री तथा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका छोराको संलग्नता शीर्षकमा एउटा समाचार छापेको थियो ।

 

समाचारको सार सरकारले कोरोना भाइरस महामारी नियन्त्रण गर्ने नाउँमा एक निजीकम्पनीमार्फत् विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको र नेपाली स्वास्थ्यकर्मीहरूले पनि गुणस्तरमा शंका गरेको स्वास्थ्य सामग्रीहरू चीनबाट किन्दै छ, त्यो पनि बजार भाउभन्दा निकै उच्च मूल्यमा ।

 

ती सामग्रीहरूको मूल्य उच्च हुनुको कारण बिचौलियाहरूको संलग्नता रहेको देखाएको थियो भने बिचौलियाहरूलाई प्रवेश गराउनमा रक्षामन्त्रीका छोरा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारका छोरा संलग्न छन् भन्ने कुरा समाचारमा थियो ।

 

काठमाडौं पे्रसका प्रधान सम्पादक कसमस विश्वकर्मा भन्नुहुन्छ– ‘सही समाचार पेस गर्ने हाम्रो कर्म हो, हामी यसलाई आफ्नो कर्तव्य मान्छौं र समाचारको सत्यताप्रति हामी सधैं दृढ रहन्छौं। प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल जाने र कानुनी उपचार खोज्ने अनेक उपायहरू हुँदाहुँदै हामीमाथि यस्तो प्रहार गरियो, जुन नेपालको पत्रकारिता इतिहासमै पहिले कहिल्यै भएको थिएन । समाचार गलत भएको भए ह्याक गरेर डिलिट गर्नुपर्ने थिएन, खण्डन वा अन्य कारबाहीको बाटो थियो ।’

 

यस्तो कुकर्म बालुवाटार र प्रधानमन्त्रीका सल्लाहकारहरुको दबाबबिना सम्भव नभएको भन्दै उहाँले यस्तो कार्य सिंगो नेपाली प्रेस जगत्माथि नै आउन लागेको अनिष्टको पूर्वसंकेत भएको औंल्याउनुभयो ।

 

‘हाम्रो साइटको सीप्यानलमा अनधिकृत रुपमा प्रवेश गरी हाम्रो समाचार नै डिलिट गरियो। प्रेसमाथि यस्तो बलात् प्रहार जो कोहीले सजिलै गर्न सक्दैन’, उहाँले भन्नुभयो– ‘यसका लागि राज्यको आड–भरोसा, आशीर्वाद र संरक्षण चाहिन्छ। यसैले, यो काठमाडौं प्रेसको एउटा समाचार डिलिट गरिएको घटना मात्रै होइन। यो त सिंगो नेपाली प्रेस जगत्माथि नै आउन लागेको अनिष्टको पूर्वसंकेत हो।’

 

यस्तो कार्य भोलि जुनसुकै मिडियालाई हुन सक्ने भन्दै यस्तो अपराध सजाय भोगिरहेको उहाँले बताउनुभयो ।
यस विषयमा सम्पादकहरुले एक वक्तव्य जारी गर्दै समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको कुराले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

‘माथिको आदेश भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने यो आपत्तिजनक कारबाहीमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली सिरान टेक्नोलोजिज्को प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको छ ।’ –विज्ञप्तिमा भनिएको छ ।

 

जारी विज्ञप्तिमार्फत भनिएको छ– ‘संविधान विरोधी यो प्रकरणमा संलग्नहरुबारे शीघ्र छानबिन गरी दोषीलाई दण्डित गर्न माग गर्दछौं ।’
त्यस्तै सञ्चारविज्ञ लक्ष्मण पन्तले विज्ञका नाममा शक्तिको वरिपरि घुम्नेहरुबाट स्वतन्त्र प्रेसलाई खतरा देखिएकाले घटना निन्दनीय रहेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले यस कार्यलाई शक्तिको दुरुपयोग, जिम्मेवारी नभएको, विश्वास घात गरेको संज्ञा दिनुभएको छ ।

 

‘अब कसलाई विश्वास गर्ने? जिम्मेवारीमा बसेपछि आलोचनालाई सहने हुनुपर्छ। जति ठूलो जिम्मेवारी उति धेरै सहने क्षमता राख्नुपर्छ, आपत्ति थियो भने पोख्ने निकाय छ ।’ –उहाँले भन्नुभयो ।

 

यसलाई गम्भीर र संवेदनशील रुपमा लिएको भन्दै उहाँले यसलाई शिक्षाको रुपमा लिएर सबै सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

 

‘यो बिल्कुल नयाँ र सबैलाई झस्काउने कुरा आयो । मिडियाले पनि निष्पक्ष समाचार निर्माण गर्न जिम्मेवार र मर्यादित भएर लाग्नुपर्दछ । तर मर्यादित भएर निष्पक्ष समाचार लेखेकै कारण हस्तक्षेप हुन्छ भने त्यो गलत हो । यसको काउन्सिल विरोध गर्दछ ।’ –उहाँले भन्नुभयो ।

 

ओम्नीको सम्पर्कमा युवराज शर्मा, ईश्वर पोखरेल, विष्णु रिमाल रहेको भन्ने व्यहोराको समाचार बनाएका कारण पहिला न्युज हटाउन दबाब दिइएको र नमानेपछि आफैले ह्याक गरेर हटाएको सिरान टेक्नोलोजीले स्वीकार गरिसकेको छ । समाचार सही भएको अवस्थामा त्यससँग डराउनुपर्ने अवस्था थिएन भने गलत भएको अवस्थामा खण्डन लेख्न सक्ने विकल्प बाँकी थियो ।

 

प्रधानमन्त्री बिरामी परेका बेला उहाँका सहायकहरुबाट यस प्रकारको बदनामीको कार्य गरेकाले उहाँ स्वयं अग्रसर भएर खरिद ठेक्का बदर गरेको पनि स्रोतले जनाएको छ । मुलुक कोरोना भाइरससँग लडिरहेका बेला यस प्रकारको घात गर्ने समूहलाई प्रधानमन्त्रीले नछोड्ने स्रोतको दाबी छ ।

 

स्मरण रहोस् न्युज पोर्टल ह्याक गरी समाचार हटाएको सिरान टेक्नोलोजीले स्वीकार गर्दै आइन्दा गल्ती दोहोरिन्न भनेर विज्ञप्ति जारी गरेको छ । तर, यस प्रकारको गम्भीर अपराध गर्ने व्यक्ति, अझ सरकारी शक्तिमा पनि रहेको अवस्थामा कडा कारबाहीको भागिदार हुनैपर्ने धरणा विज्ञहरुको छ ।

प्रतिक्रिया दिनुहोस्