एक महिला आइसोलेसनमा



सप्तरी ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ । शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ ।

सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ । उहाँलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी परीक्षणका लागि स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

श्रीमान्सँगै १५ दिनअघि भारतको राजस्थानबाट फर्किनुभएकी कञ्चनरुप नगरपालिका–११ की उहाँ शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा जाँचका लागि पुग्नुभएको थियो । स्वास्थ्यकर्मीले उहाँलाई कञ्चनरुप नगरपालिका–१० स्थित दुर्गा आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा पठाएका थिए ।

पहिलेदेखि ज्वरो आइरहेको बताउनुभएकी उहाँलाई भारतको राजस्थानबाट १५ दिनअघि आएको थाहा पाएपछि शुक्रबार क्वारेन्टाइनमा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका प्रमुख डाक्टर सञ्जीव झाले बताउनुभयो । डाक्टर झाले भन्नुभयो, “नगरपालिकाको क्वारेन्टाइनमा राखिएका अन्य ४२ जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

कञ्चनरुप नगरपालिका–१ बैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा रहनुभएका २३ जना र वडा नं ११ स्थित दुर्गा अधारभूत विद्यालयको क्वारेन्टाइनमा रहनुभएका नौ जना भारतको विभिन्न राज्यबाट फर्किएका हुन् । कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माविमा रहनुभएका १० जनामध्ये आठ जना कञ्चनरुप नगरपालिकाका हुन् । सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका एक÷एक जना रहेका छन् । उहाँहरु सबै जनालाई काठमाडौँबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना भाइरसको रोकथामका लागि नगरपालिका र गाउँपालिकाले सञ्चालन गरेको विभिन्न क्वारेन्टाइनमा हाल ११ महिला र २४२ पुरुष राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । कञ्चनरुपमा पाँच स्थानमा बनाइएको क्वारेन्टाइनमध्ये तीन वटा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अहिलेसम्म ४३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्