कोरोनाले थलिएका वीरभद्र र महाकालीहरु



चिरञ्जीवी मास्के । 

कोरोना भाइरसको महामारीका कारण मानवीय भावनाहरु शिथिल, संकिर्ण र निष्क्रिय बन्दै जाँदा पनि घरको झ्याल र छतबाट समेत चिहाउन नसकिने विसमताबाट थलिएका छौं हामी मानवजातिका वीरभद्र र महाकालीहरु !

* इटलीमा कोरोना संक्रमितको उपचारमा खटिँदाखटिँदै आफैं संक्रमित भएपछि एकजना नर्सले आत्महत्या गरिन् ।

* फ्रान्सको हेसेन राज्यका अर्थमन्त्रीले कोरोनाको महामारीका कारण आर्थिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको पीडामा द्रुतगतिमा रहेको रेलको लिकमा हामफालेर आत्महत्या गरे ।

* लन्डनमा थोरै समयको अन्तरालमा बाबुछोरीको कोरोनाका कारण मृत्यु भएपछि मलामीसमेत भएनन् दहासंस्कारका लागि ।

* नेपालको बुटवलमा कोरोनाको आशंकित एक युवकको मृत्युपछि न उनको श्रीमतीले शव हेर्न पाइन्, न जीवित श्रीमतीलाई कसैले सहारा दिन नै आए ।

हो, यस्तै समाचारहरु अनलाइनमा पढेर होम क्वारेन्टाइनमा बितेका छन् विश्वको झन्डै आधा जनसंख्याको दैनिकी अहिले । अर्थतन्त्र चौपट भएक छ, व्यापार–व्यवसाय, कल–कारखाना र नियमित दैनिकी बन्द भएपछि । विश्वका प्रमुख पर्यटकीय गन्तव्यहरु सुनसान मात्र छैनन् मृत्युमा मलामीसमेत नपाएर बिरानो बनाइदिएको छ आफ्नैमा ।

पृथ्वीले मानवबस्ती र मानव सभ्यताको विकासक्रमसँगै यस्ता धेरै महामारीको सामना गर्दै आएको छ । प्लेगले १७ औं शताब्दीतिरै मानव विनाश गरेको इतिहास हामीले पढेका छौं । इबोला, स्वाइन फ्लु, स्पेनिस फ्लजस्ता महामारीसमेत मानवजातिले भोगेका छन् । २१ औं शताब्दीको यो कोरोना भाइरस (कोभिड–१९) ले विश्वका शक्ति राष्ट्रहरुलाई नै आच्छुआच्छु पारिदिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को औषधि पत्ता नलाग्दा एकातिर द्रुतत्तर गतिमा विकास भैरहेको प्रविधिलाई नै चुनौती भएको छ भने विज्ञानको विकासमा समेत प्रश्न उठेको छ । अनि अर्कोतर्फ मानवीय भावनाहरुलाई शिथिल, संकिर्ण र निष्क्रिय बनाइरहेको यो समय शून्यतातिर अघि बढिरहेको छ । कसैलाई कोरोना संक्रमण भयो भने सहयोग गर्नै नचाहने जमात त छँदै छ, चाहेर पनि सहयोग गर्न नसकिने परिस्थितिसमेत बन्दै गएको छ । यसले गर्दा मानवीय भावनालाई शिथिल, संकिर्ण र निष्क्रिय बनाउन क्रमशः बल पुगिरहेको छ ।

कोरोना संक्रमणको औषधि अहिलेसम्म फेला पर्न सकेको छैन, यो सत्य हो । तर औषधि फेला नपरे पनि यो संक्रमण हुनासाथ मानिसको मृत्यु भैहाल्ने पनि हैन । यो भाइरसको संक्रमण फैलिएको तीन महिनाको अवधिमा पत्ता लागेको तथ्य के हो भने, भाइरसबाट संक्रमित बिरामी छुट्टै बस्ने, ज्वरो आउँदा प्यारासिटामोल खाने, तातोपानी खाने, रोग–प्रतिरोधात्मक क्षमता विकास हुने खालका खाना खाने, अनि मुख्य कुरा हरेकले मानवीय भावनालाई जीवित र सक्रिय बनाउँदै एकले अर्कोलाई सहयोग, सद्भाव तथा सेवाभाव देखाउने नै हो ।

उपचारपछि कोरोना संक्रमणबाट मुक्त भएका अमेरिकामा रहेका दुई नेपाली शम्भु मोक्तान र जीवन बमले भर्खरै आफ्नो अनुभव लेखेका छन्– कोरोना लाग्दैमा मरिँदैन, आत्मबल उच्च हुनुपर्छ । उनीहरु दुवैको एउटै सुझाव छ– सकेसम्म घरमै बसेर आफूलाई संक्रमित हुनबाट बचाउने र कथंकदाचित संक्रमित भैहालेको अवस्थामा त्यसलाई नलुकाई उच्च आत्मबलका साथ उपचार गर्ने ।

कोरोना भाइरसले उत्पन्न गरेको यो पीडा विश्वकै लागि कहाली लाग्दो बनेको छ । स्वाभाविकरुपमा नेपाल यो अवस्थाबाट अछूतो छैन । नेपाल सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सकेसम्मको प्रयत्न गरेको छ । सरकारको काममा शायदै खोट लगाउने ठाउँ होला । दोस्रो किड्नी प्रत्यारोपणबाट राम्रोसँग तङ्ग्रिन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले जुन साहसका साथ कोरोनाविरुद्धको लडाइँको लागि समन्वय गरिरहेका छन्, त्यो प्रशंसनीय र आमरुपमा उदाहरणीय नै छ । नेपालमा कोरोनाको संक्रमण भित्रनुअघि नै अस्पतालको आईसीयु बेडबाटै प्रधानमन्त्री ओलीले आफ्नो हैन आमनेपाली जनताको स्वास्थ्यको चिन्ता लिएका थिए र सबैलाई सतर्क रहन आग्रह गरेका थिए । अस्पतालबाट डिस्चार्ज भएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएर देशलाई लकडाउन गर्ने निर्णय लिएर उच्च सतर्कता अपनाए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको कमान्ड जसरी सम्हालिरहेका छन् र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा पर्यटनमन्त्री योगेश भट्टराईले जसरी समन्वय गरिरहेका छन्, त्यो पनि प्रशंसनीय र अनुकरणीय छ भन्न कसैले कन्जुस्याइँ गर्नुपर्दैन । साथै प्रमुख विपक्षी नेपाली कांग्रेस, अन्य राजनीतिक दल र पूर्वराजासमेतले जुन तहको मानवीयतासहितको राजनीतिक संस्कार प्रदर्शन गरेका छन् त्यो नेपालीहरुको भावनात्मक विशेषताको अनुपम नमुना बनेको छ । यस्तो एकता र मानवीयता हरेक विपत्तिहरुमा प्रकट भई नै रहनेछ ।

फेरि पनि, एकाध सवालहरु उठेका छन् । सत्यवती सीताको बारेमा पनि स्वयं रामले सवाल उठाएका हुन् । पारिवारिक एकता र मायालाई आदर्श ठान्ने द्रोपदीले पनि सभामा चीरहरणको सामना गर्नुपरेकै हो र समुद्र मन्थनको बेला कालकुट विष निस्कँदा त्यसलाई पिउने क्रममा देवाधिदेव महादेवले पनि नीलकण्ठ भई बस्नुपरेकै हो । त्यसैले यो मानवीयतासमेत परास्त भएको समयमा सरकारले सबै खाले अप्रिय आरोपहरुको प्रतिवाद हैन, संयमता र साहसपूर्वक कामले जवाफ दिने हो ।

अहिले उठेका सवालहरुमध्येको एउटा सवाल सहमतिको सरकारको हो । यो बेला सहमतिको सरकार निर्माण गर्ने हैन, सरकारले महामारीविरुद्ध गरेका कामहरुमा हातेमालो गर्न सहमति, सहकार्य र एकता कायम गर्ने हो । सहमतिको सरकार निर्माणको अलाप जसले गरिरहेका छन् उनीहरुले यो विषय नबुझेको हो या संकटमा राजनीतिक संकिर्णता देखाएको हो, त्यो आमनागरिकले विश्लेषण गर्ने विषय पक्कै बन्नेछ । र, त्यसको जवाफ नागरिक तहबाट पक्कै आउनेछ । तर जसले सहमतिको सरकारको अलाप गरिरहेका थिए, उनको पार्टीले नै यो बेला सहमतिको सरकार निर्माण गर्ने नभई गलत काममा खबरदारी गर्दै सरकारलाई सहयोग गर्ने हो भनेर जवाफ दिइसकेकाले एकजना व्यक्तिको अभिव्यक्तिले खासै महत्व राख्छ भन्ने ठान्नु बेकारको बाँसुरी बजाइ मात्र हुने होला ।

सवाल स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषयमा पनि उठेको छ । हुन त सरकारले स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरिसकेको छ, त्यसमा दोष कसको हो भन्ने छानबिन पनि होला । तर सत्य के पनि हो भने, संकटको बेलामा सबै कुराको हिसाबकिताब र लेखाजोखा गर्ने समय पक्कै हुँदैन । संकटको बेलाको पहिलो प्राथमिकता भनेको त्यसको सामना गर्न अवलम्बन गर्ने उपायहरु नै हुन् । ती उपायहरुको प्रयोगमा इमानदारिता छ कि छैन भन्ने सवाल मुख्य हुन्छ । कसैले संकटको बेला अनियमितताको अवसर हेरेको छ भने उसको गतिविधि कुनै पनि मूल्यमा क्षम्य हुनै सक्दैन । त्यसको खोजबिन संकट टरेपछि पक्कै गर्नुपर्छ । तर आफूले इमानदारितापूर्वक काम गरेको छ भने डराउनुपर्ने आवश्यकता पनि हुँदैन ।

यो महामारीको विषम परिस्थितिमा सरकारले जसरी सकेसम्मको प्रयत्न गरेको छ त्यसमा केही त्रुटि जानेर वा नजानेर भएको देखिन्छ नागरिक तहबाट । लकडाउनको जुन निर्णय भयो, त्यो निर्णय एक हप्ताअघि नै आएको भए शायद नेपालमा कोरोना भाइरसले प्रवेश नै पाउँदैनथ्यो कि भन्ने खुट्को अहिले सबैमा छ । तर यो विषयमा बहस गर्न अब ढिला भइसकेको छ । अबको विषय भनेको विदेशबाट आएका नेपालीहरुको तथ्यांक संकलन गर्ने, उनीहरुको अवस्था विश्लेषण गर्ने र उनीहरुलाई निश्चित समयको लागि आफ्नोबाट अलग्याएर क्वारेन्टाइनमा राख्ने नै हो । कुनै बोरामा एउटा आलु कुहियो भने त्यसलाई अलग्याउनुको विकल्पै हुँदैन । त्यसलाई अलग्याइएन भने बोराको बाँकी आलुसमेत क्रमशः कुहिँदै जान्छ । अहिले कोरोनाको कहर पनि त्यस्तै बनेको छ । आफ्नोमा माया हुन्छ, भावना हुन्छ तर यो समय त्यही माया र भावनालाई अनन्त कायम राख्न बुद्धिमतापूर्वक निर्णय लिने समय हो । क्षणिक माया र भावनामा लुट्पुटिन थाल्यौं भने शिथिल, संकिर्ण र निष्क्रिय बन्दै गएको मानवीय भावनाहरुलाई हामीले कहिल्यै जीवन्त बनाउनै सक्दैनौं । त्यसैले पनि कोही विदेशबाट आउनुभएको छ भने सरकारको आग्रह र आफ्नो तथा सिंगो मानवहितका लागि निश्चित समय क्वारेन्टाइनमा बसौं, स्वास्थ्यमा कुनै समस्या देखियो भने त्यसलाई लुकाउनेतिर हैन, तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा पुगौं ।

यो बेला केन्द्रीय सरकारको मुख ताक्ने बेला मात्र पनि हैन । प्रदेश सरकार र स्थानीय सरकारले समेत आफ्नो ठाउँबाट भरपूर प्रयत्न गर्नै पर्छ । पछिल्लो समय स्थानीय सरकारहरुले कोरोना संक्रमणविरुद्धको लडाइँमा महत्वपूर्ण कामहरु गरेको छ । र, अब विदेशबाट आएका नेपालीलाई समाजमा सामाजिक तथा सांस्कृतिकरुपमा एकताबद्ध गर्दै केही समय परिवार र समाजबाट अलग राख्न मनोवैज्ञानिक ढंगले सहमत गराउने कुरामा भूमिका खेल्नुपर्छ । विदेशबाट आउने जो–कोही नेपाली हुन्, हामी सबैको आफ्ना हुन् र त्यो भन्दा पनि ठूलो कुरा सबै मानव हुन्, जसको संरक्षण र सामाजिकीकरण हामी सबैको दायित्व हो । त्यसलै यो सत्यलाई आत्मसात् गर्दै स्वदेशमा रहेका र विदेशबाट स्वदेश फर्केका सबैले सामाजिक दायित्व, वर्तमान विषम परिस्थितिको आँकलन तथा आत्मअनुशासनलाई कडाइका साथ पालना गर्दै अगाडि बढौं । पक्कै पनि कोरोना भाइरसको महामारीलाई पराजित गर्दै मानवजीवनलाई युगौंयुगसम्म खुशी र सुखी बनाउन सक्नेछौं ।

प्रतिक्रिया दिनुहोस्