कोरोना सतर्कता, सन्त्रास र मनोविज्ञान



डा. टीकाराम पोखरेल ।

विश्वभर कोरोना (कोभिड–१९) को सन्त्रास फैलिएको बेला बेलायतका एकजना वैज्ञानिकले यो रोग ‘७० प्रतिशतमा फैलन दिऊँ, कोरोनाप्रतिरोधी क्षमता बढ्छ’ भन्ने अचम्मलाग्दो धारणा सार्वजनिक गरेका छन् । सर प्याट्री भालान्स नाम गरेका ती वैज्ञानिकले मानिसमा कोरोना भाइरस सरे मानिसमा भाइरस प्रतिरोधि क्षमता बढ्ने र यसको त्रास कम हुने भन्दै कोरोना विस्तारको पक्षमा वकालत गरेका हुन् ।

ती वैज्ञानिकको तर्क कति ठीक कति वेठिक भन्ने बहस भविष्यमा चल्दै गर्ला र फैलनु सही कि गलत भन्ने पनि भविष्यले बताउला तर उनकोे यो भनाई सुन्दा भने कोरोना रोग त्यस्तो भयावह होइन, बरुसामान्य हो कि जस्तो लाग्छ । यद्यपि यतिबेला कोरोनाले विश्वलाई नैँ गाँजेको छ । मानिस रोगले भन्दा बढी रोगको डर र सन्त्रासले ग्रस्त छन् । कतिपयले यो सन्त्रासलाई सतर्कता भन्छन् । सतर्कताले सन्त्रास ननिम्त्याउनुपर्ने हो । तर सतर्कतामाथि सन्त्रास हाबी छ । अनि कसरी सतर्कता भन्ने ? कसरी सन्त्रास नभन्ने ?

विश्वभर कोरोनाबाट सात हजार बढीको मृत्यु हुँदा नेपालमा यो रोगबाट कुनै पनि मानिको मृत्यु नभएको मात्र होइन अहिले देशभित्र एक जना पनि कोरोना संक्रमित छैनन् । यद्यपिनेपालमा एक जनामा संक्रमण भेटिएको भन्ने विश्व स्वास्थ संगठनको तथ्यांकमा छ ।

भेटिएका संक्रमित व्यक्ति पछि ठीक भएको भन्ने सरकारको भनाई रहेको छ ।नेपालको छिमेकी राष्ट्र चीन कोरोनाको उद्गमस्थल हुनु र अर्को छिमेकी भारतमा समेत यो संक्रमण फैलिएर केहीको मृत्यु हुनु तर यी दुई मुलुकको बीचमा रहेको नेपालमा अहिलेसम्म यो रोग नफैलिनु हामी नेपालीको लागि खुसीको कुरा हो । तर संक्रमित नभेटिनुमा जति खुसीको कुरा छ भविष्यमा यो भाइरस नेपाल भित्रिहाल्छ कि भन्ने त्यत्तिकै त्रास पनि छ । अन्यौलपूर्ण अवस्थामा सरकारले पूर्व सतर्कताको रुपमा केही कदमहरु पनि चालेको छ ।

कुनै नागरिकमा संक्रमण देखिएमा संक्रमितको उपचारको व्यवस्था मिलाउने काममा सरकार जुटेको देखिन्छ, तर एकैपटक धेरै संक्रमित देखिए भने सबैको एकैपटक उपचार गर्न सरकारको तयारी र क्षमता कस्तो छ भन्ने प्रश्नको उत्तर चाहिँ बाँकी छ । त्यसो त सरकारले पूर्व सावधानीका लागि सिनेमा हल, सांस्कृति केन्द्र, रंगशालालगायतका भीडभाड हुने स्थान बन्द गर्ने, २५ जनाभन्दा बढी भेला हुन नदिने, सवारी साधनमा सीटभन्दा बढी यात्रु नचढाउने÷नचढ्ने, सवारीसाधन डिसइन्फेक्सन गर्ने, मानिसको आवतजावत वढी हुने स्थानमा सरसफाइमा ध्यान दिने, उपभोग्य सामग्रीको अभाव सिर्जना गर्नेलाई कारवाही गर्ने लगायतका कार्य गर्ने जनाएको छ ।

यसैगरीविभिन्न मुलुकबाट यात्रु आउन प्रतिबन्ध लगाउने, नाका बन्द भएका कारण विदेशी नागरिक आफ्नो देश फिर्ता हुन नसकेकाहरुको हकमा भिसा थप गरिदिने, एसइइ तथा विश्वविद्यालयका नियमित परिक्षाहरु स्थगित गर्ने, कलेज तथा विद्यालयका पठनपाठन बन्द गर्ने, होटल, रेष्टुरेण्ट तथा सपिङ मलहरुमा ज्वरो मापन गर्ने उपकरण राख्न लगाउने, सरसफाइमा विशेष ध्यान दिने, यी सबैको अनुगमन प्रदेशसरकार तथा मन्त्रालयहरुले गर्ने गरी कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरिसकेको छ ।

सरकारले पूर्वसतर्कताका लागि यस्ता निर्णयहरु गर्दै गर्दा जनमानसमा भने सरकारले गरेको पूर्व सतर्कताप्रति सरकारलाई धन्यवाददिनु र खुसी हुनुभन्दा पनि मनोवैज्ञानिक सन्त्रास र हल्लाको खेती बढेको छ । एकाथरिलेसरकारले रोग लुकायो, भित्रभित्र पूरै महामारि फैलिसकेकाले सरकारले परीक्षा स्थगित गर्नेदेखि लिएर विद्यालय बन्द गर्ने काम ग¥यो, अब देशभित्र खानै पाइँदैन, नाकाबन्दीको अवस्थामा झैँ भारतीय नाकाबाट दैनिक उपभोग्य सामग्री नै आउँदैन, देशमा हाहाकार मच्चिन्छ, विश्व स्वास्थ्य संगठनले अब दक्षिण पूर्वी एसियातिर कोरोना फैलन सक्ने भनेको र नेपाल पनि खतराको सूचीमा रहेको भनेकोले देशमा अब कोरोना त तुरुन्तै भित्रिन्छ भन्ने जस्ता मनगढन्ते प्रचारप्रसार गरिरहेका छन् । यस्ता प्रचारहरु तथ्यमा भन्दा बढी हल्लाका भरमा एककान दोकान मैदान हुँदै समाजमा फैलिरहेका छन् । सरकारले गरेको कोरोना रोकथामको पूर्वप्रयासहरुलाई पनि सकारात्मक रुपमा प्रचारप्रसार गर्नुभन्दा सामाजिक सञ्जालहरुले नकारात्मक रुपमा फैलाइरहेका छन् ।

कोरोना भाइरसको बारेमा सामाजिक सञ्जालमा आएका विचार, भिडियो क्लिप्स, फेसबुक पोष्ट, ट्वीट र कमेण्टहरु गर्ने केहीको क्रियाकलाप हेर्दा लाग्छ–नेपालीहरुले जान्न बाँकी केही रहेनछ, सबै कुरामा विज्ञता हासिल गरेछन् । अनि अर्को कोणबाट सोच्दा भन्न मन लाग्छ–सामाजिक सञ्जालमा उत्तेजक विचार पोख्ने भाइरसविज्ञहरुलेआफू कोरोनाको बारेमा यति धेरै जान्ने सुन्ने विज्ञ भएर पनि यति सानो भाइरस संक्रमण हुनबाट किन रोक्न नसकेका होलान्? अर्थहीन कुरालाई नेपाली सामाजिक सञ्जालकर्ताहरुले द्रूत गतिमा प्रचार गरेको देख्दा यो देशमा बेरोजगारको मात्रा निकै ठूलो छ भन्ने देखिन्छ । कि समाजमा काम नपाएकाहरु धेरै छन्, कि काम पाएकामध्येका काम चोर छन्, जो आफ्नो जिम्मेवारीको काम नगरेर यस्तै समाजिक सञ्जालमा झुण्डिरहन्छन् र अनावश्यक अफवाह फैलाएर मनोरञ्जन गर्छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय कतिपय राम्रा होलान् । कतिपयमा अझैसरकारको तयारी नपुगेको पनि होला । गर्नुपर्ने वा गर्न सक्ने कुरामा कमी–कमजोरी पनि अवश्य होलान् । तर जति राम्रा भएका छन्, तिनीहरुलाई सकारात्मकरुपमा लिन हाम्रो समाज उद्यत् देखिँदैन ।समाजमा कोरोना भाइरसजस्तो घातक विषयलाई या त व्यंग्यात्मक विषय बनाउने, या त त्रासको विषय बनाउनेको जमात निकै ठूलो छ । लाग्छ, एकाथरि मान्छेलाई प्राणघातक रोगलाई जोक बनाउँदा निकै आनन्द आउँछ र मान्छेको मृत्युको विषय पनि जोक बनाएर आफैँ जोकर हुनमै आनन्द छ ।

नेपाली समाजको मनोविज्ञान नकारात्मक छ । नकारात्मक हल्ला फैलाउने कुरामा अग्रगामी छ । समाजमा आफूले फिँजाएको नकारात्मक हल्लाले जति धेरै प्रभाव पर्छ मानिस त्यति नै खुसी हुन्छ । यस्तो नकारात्मक हल्ला गर्ने समाजको गैरजिम्मेवार व्यक्तिकतै पनि सजायको भागी बन्दैन । सामजिक सञ्जालमा असामाजिक कुरा पोष्ट गर्नेलाई फटाफट समातेर कारवाही गर्नुको सट्टा प्रहरी उजुरी कुरेर बस्छ । कानुन कार्यान्वयन गर्ने कुरामा सरकार फितलो छ । कानुन पनि कमजोर छन् । समाजको मनोविज्ञान कमजोर छ । नेपाली समाजको चरित्र नै जताततै कामचलाउ छ, तब समाजमा अफवाह फैलाउनेले राम्ररी खेल्ने मौका पाउँछन् ।

संकटको बेला सतर्कता अपनाउने हो, सन्त्रास फैलाउने होइन, मनोविज्ञान कमजोर बनाउने होइन, बरु आत्मबल बलियो पार्ने हो । गलत सूचनाको शिकार बन्ने होइन, सही सूचनाको पहिचान गर्ने हो, सही सूचना प्रवाह गर्ने हो र सतर्कताका लागि गरिएका सूचनाहरुको पालना गर्ने हो । हाम्रो भाग्य भनौँ वा हाम्रो सतर्कताको परिणाम भनौँ, अहिलेसम्म हामीकहाँ कोरोना संक्रमित छैनन्। तर कोरोना भाइरस देशमा पसेर मानिस संक्रमित भए भने हामीले मनोबल जति कमजोर बनायो उति रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले यतिबेला सबै बर्बाद हुन्छ कि भन्ने हाउगुजी छोडेर हरेक व्यक्तिमा यो केही होइन, बरु सामान्य रोग हो, मलाई कोरोना भाइरसले आक्रमण गरेमा यसको म प्रतिरोध गर्न सक्छु भन्ने आत्मबल विकास हुनु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना महामारि हो, तर यसको रोकथामको कुनै वैकल्पिक बाटो नै नभएको भने होइन । पूर्व सतर्कता र सावधानी अपनाए यसलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा छिमेकी मुलुक चीन नै उदाहरण छ । चीनले कोरोनाको इपिसेण्टर मानिएको बुहान शहरलाई कोरानाको थप संक्रमण हुनबाट जोगाएको मात्र छैन कोरोनामुक्त शहर बनाउने दिसामा अगाडि बढिरहेको छ। आफ्नो देशमा कोरना नियन्त्रणमा लिएसँगै चीनले अरु देशलाई आवश्यक पर्ने सहयोगको लागि समेत कदम अगाडि बढाएको छ । चीनबाट सिक्दै अब कोरोनाको सतर्कता अपनाऊँ, तर सन्त्रासको मनोविज्ञान बोकेर आफू पनि आतंकित हुने र समाजलाई पनि आतंकित बनाउने काम नगरौँ ।

प्रतिक्रिया दिनुहोस्