नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको खुलासा



भगवती तिमल्सिना, काठमाडौँ ।

नेपालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमणका बिरामी एकैदिन ३ जना भेटिए ।

नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । शुरुमा संक्रमण देखिएका एक युवा २ महिना अघि नै निको भैसकेका छन् भने ८ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा गरी थप तीन जना व्यक्तिमा कोभिड १९ पोजेटिभ देखिएको हो ।

धनगढीकी ३४ बर्षीया स्थानीय महिला, लम्की कैलालीका २१ बर्षीय पुरुष र कञ्चनपुरका ४१ बर्षीय पुरुष छन् । यी दुई पुरुष भारतको मुम्बई र उत्तराखण्डबाट आएका हुन् । एकै दिन नेपालमा अहिले सम्मकै धेरै केश देखिएको समेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शनिबार सबेरै केश पोजेटिभ देखिएपछि संक्रमित तीन जनालाई नै अहिले सेती प्रादेशिक अस्पतालमा ल्याई उपचार शुरु भैसकेको छ ।

स्थानिय स्तरमै यो खतराको संकेत भएको स्वास्थ्य विज्ञहरुले जनाएका छन् । अहिले सम्म संक्रमितको संख्या कम देखिनुको मुख्य कारण परिक्षणको पहुँच नहुननै रहेको यी केसले प्रमाणित गरेको पनि विज्ञहरुको ठम्याई छ । एउटै परिवारको सदस्यमा देखिएपछि यसलाई लोकल ट्रान्समिसन ( स्थानीय संक्रमण) भनिने गरिन्छ । अब कम्युनिटी ट्रान्समिसन देखियो । यसले नेपालको अवस्था पहिलोबाट दोस्रो चरणमा प्रवेश गरयो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुहुन्छ ।

‘अहिलेसम्म आयातित केश थियो । त्यसैले हामी अलि ढुक्क थियौँ तर अब ढुक्क हुने अवस्था छैन् । अब एक परिवारको एक व्यक्ति देखि अर्को व्यक्तिमा सरेको छ । यसले खतरा एक स्टेप बढ्यो,’ उहाँले भन्नुभयो ।

डा. पुनले अब स्थानीय तहमा लकडाउन गर्ने र ट्रयासिङलाई थप प्रभावकारी बनाएर परीक्षणलाई अघि बढाउन ढिलाई गर्न नहुने बताउनुभयो ।

नेपालमा लकडाउन शुरु हुनै लाग्दा सुदूरपश्चिम प्रदेशमा भारतबाट ठूलो संख्यामा नेपाल भित्रिएका छन् । उनीहरु कतिपय क्वारेन्टाइनमा बसेका छन् कतिपय आफ्ना गाँउमा गएका छन् । यसले सुदूरपश्चिममा थप खतरा पैदा गरेको छ डा.पुन भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्