परिवारमा पनि ‘लकडाउन’



टंक पन्त । 

नेपाली समाज आफ्नै ढंगले विकसित भएको छ । कैयौं विषयहरुमा एक–आपसमा अत्यन्त सौहाद्र्धता पनि छ, एकरुपता पनि छ, संकटका बेला एकले अर्कालाई सहयोग गर्ने संस्कार पनि त्यत्तिकै छ, जसलाई सहयोगी संस्कार र स्वभाव भएका नेपालीहरु भन्ने पनि गरिन्छ ।

तर अहिले यतिखेर विश्व नै कोरोना भाइरसको संक्रमणले आक्रान्त र भयभित छ । २०१९ को डिसेम्बरदेखि चीनबाट बाहिर देखिएको कोरोना भाइरसले २०२० अप्रिल १ सम्म आइपुग्दा समाज र परिवारलाई पनि प्रभावित बनाएको छ ।

जहाँबाट कोरोना भाइरस देखियो त्यहाँ नियन्त्रण भएर अहिले चीनले अन्य देशलाई सहयोगीको हात फैलाएको छ । खासगरी चीनले समयमै निकै सचेत भएर कोरोना भाइरस देखिएका ठाउँमा पूर्णतः एकैपटक ७० करोड नागरिकलाई बाहिर निस्कन दिएन । त्यसको सबैले गम्भीरतापूर्वक पालना गरे र चीन आफूलाई सुरक्षित राख्न सफल भयो । जुन बेला अन्य सम्पन्न राष्ट्रहरुले त्यसलाई बेवास्ता मात्र होइन हेलचेक्र्याइँ पनि गरे, त्यही कारण आज अमेरिका, इटालीलगायत युरोपियन मुलुकहरुमा निकै भयावह स्थिति उत्पन्न भएको छ । जर्मनीमा त आफूले सोचेजस्तो गरी नागरिकलाई बचाउन नसकेको भनेर असैह्य भई त्यहाँका अर्थमन्त्रीले आत्महत्या नै गरे ।

कसैले पनि कल्पना नगरेको महामारीले गर्दा विश्वमै मृत्यु हुनेको संख्या दैनिक बढिरहको छ । यो आलेख तयार गर्दासम्मको तथ्यांकलाई हेर्ने हो भने यो संख्या ४० हजार पुग्न लागेको छ । कोरोना भाइरसले तेस्रो विश्वयुद्धजस्तो भएको छ । यतिखेर संसारको ध्यान यो भाइरस नियन्त्रण कसरी गर्ने भन्ने कुरामा नै केन्द्रित भएको छ । यसको जटिलता भनेको औषधिले उपचार नहुने अर्थात् यसको कुनै औषधि नै छैन । केवल घरमा बस्ने, कसैसँग सम्पर्क नगर्ने, नभेट्ने र कोही संक्रमित भएकासँग भेट भएको शंका भएमा तुरुन्तै अस्पताल गएर बस्ने नै यसको रोकथामको उपाय हो ।

यो महामारीको प्रभाव नेपालमा पनि परिसकेको छ । नेपालमा पनि एक हजार बढीको परीक्षण भैसकेको छ । अन्यलाई परीक्षण गर्ने क्रम जारी छ । चीनबाट उकरणहरु ल्याएपछि अन्य प्रदेशमा पनि ल्याब परीक्षण प्रारम्भ भएको छ । यहाँ अहिलेसम्म ५ जनामा मात्र संक्रमण देखिएको छ । यो आफैंमा खुशीको कुरा हो । यसबाट जोगिनका लागि सबैले घरमा बसेर सरकारले गरेका निर्णयहरुलाई पूर्णरुपमा पालना गरौं । आफू, आफ्नो परिवार र आफ्नो देशका लागि हो भन्ने ठानेर घरभित्रै बस्ने र कार्यालयका काम पनि घरबाट नै गर्ने गरौं । पहिले नै नेपालले अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको भए बाहिर संक्रमण लिएर आउनेहरुको संख्या कम हुने थियो । अर्को कुरा, आउनेहरु सबैलाई क्वारेन्टाइनमा राखेको भए अन्य नागरिकहरुमा फैलिने थिएन । जुन कुराको ध्यानाकर्षण समयमा नै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले पनि गराउनुभएको थियो । यस कुरालाई लिएर डा. दीक्षितलाई कारबाही गर्नुपर्ने कुरासमेत अधिकारीहरुले उठाएका थिए । आखिर पछि गएर डा. दीक्षितले भनेझैं गर्नु नै प¥यो ।

आखिर ढिलै भए पनि सरकार निकै गम्भीर बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मृगौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि नै उपप्रधानमन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बनाउनुभएको थियो । त्यो समिति गठन भएपछि निरन्तर बैठक बस्ने र गृहकार्य गर्ने जस्ता धेरै काम भएका थिए । सरकारले गरेको रोकथामको अभियान प्रशंसनीय छ ।

जब फ्रान्सबाट आएकी एक महिलामा संक्रमण देखियो अनि सरकारले चैत्र ११ देखि मुलुकभर लकडाउन गर्ने निर्णय ग¥यो । चैत्र १८ गतेसम्मका लागि गरिएको लकडाउनलाई सरकारले चैत्र २५ गते १२ बजे रातिसम्म लम्ब्याएको छ । यो आवश्यकता पनि थियो । २५ गतेपछि पनि थपिन सक्ने सम्भावना त्यत्तिकै छ । किनकि छिमेकी मुलुकमा वैशाख ३ गतेसम्म लकडाउनको घोषणा भैसकेको छ ।
उच्चस्तरीय समितिमा रहेका मन्त्रीहरु, केही अधिकारीहरु, केही चिकित्सक र स्वास्थ्यकर्मीहरु, सुरक्षा निकायको सिंगो फौज ज्यानको प्रवाह नगरी अहोरात्र खटिइरहेका छन् । यसमा क्रियाशील सबैप्रति सलाम गर्नुपर्छ । यस्तो बेलामा अनावश्यक विवाद गरेर राजनीति गर्नेभन्दा सिंगो देश एक भएर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि लाग्नुपर्छ । आफनो ज्यानको पनि प्रवाह नगरी खट्नेहरुलाई खेद्ने होइन, उत्साहित हुने वातावरण आमसञ्चारकर्मी, नागरिक समाज र सिंगो मुलुकले बनाउनुपर्छ ।

यतिखेर विश्व नै महामारीको संकटमा छ । नेपाल पनि ठप्प छ । लकडाउनका कारण मानिस बाहिर निस्किन पाएका छैनन् । त्यसैले कतिपय परिवारमा खटपट पनि हुन थालेको छ, श्रीमान्–श्रीमतीमा स–साना कुरामा पनि झगडा भई उनीहरुबीचमा समेत लकडाउनजस्तै भएको छ । घरभित्रको झगडाले उग्ररुप लिएपछि एकजनाले त ‘म घरमा बस्न सकिनँ, कोरोना संक्रमित भएकाहरुसमक्ष लगिदिनुस्, म त्यहाँबाटै बिदा हुन चाहन्छु’ भनी प्रहरी महिला सेलमा भनेको पनि जानकारीमा आएको छ ।

लकडाउन भएको पाचौं दिन काठमाडौंको टोखा नगरपालिका बानियाटार निवासी एक पुरुषले नेपाल प्रहरीको महिला सेला फोन गरेर भनेछन्– ‘म घरमै बस्न नसक्ने भएँ, के गर्ने होला ?’ फोन उठाउने प्रहरी अधिकृतले सोधिन्– ‘के भयो र त्यस्तो ?’ ती पुरुषले थपे– ‘लकडाउन भएको दुई दिनदेखि घरमा श्रीमतीसँग निरन्तर भएको झगडाले श्रीमान्–श्रीमतीबीच नै लकडाउन मात्रै भएको छैन सँग बस्नै नसक्ने अवस्था सिर्जना भएको छ, के गरौं प्लिज सहयोग गरिदिनुस न ।’ फोन उठाउने प्रहरी अधिकृतले विनम्र भएर अनुरोध गरिन्– ‘यस्तो संकटको बेला त झन् मिल्ने, विगतका कमी–कमजोरीका बारेमा छलफल गर्ने, जसको कमजोरी भए पनि अबदेखि यो लकडाउनले सबन्धलाई गाढा बनाएको अनुभूति दिलाउने गरी व्यवहार पो गर्नुपर्छ नि हजुर !’

ती पुरुषको भनाइ भने फरक थियो– ‘मिल्ने त सभावना नै छैन, साँझ, बिहान, दिउँसो जतिखेर पनि झगडा हुने गरेको छ । छोराछोरी पनि मेरो पक्षमा नभएर श्रीमतीकै पक्षमा छन्, अनि म कसरी बस्न सक्छु ? म अहिले महादेवस्थान बस्ने मेरो काकाको घरमा आएर फोन गरिरहेको छु । काकाले महिला सेलमा फोन गरेर सहयोग हुन सक्छ भन्नुभएकोले पनि फोन गरेको हुँ । यदि श्रीमतीलाई कारबाही गर्न सक्नुहुन्न भने मलाई कोरोना भाइरस लागेकाहरुसँग भेटाइदिनुस् । म आफैं कोरोना ग्रहण गरेर मर्न चाहन्छु ।’ उनको लामो कुरा सुनिसकेपछि प्रहरी अधिकृतले भनिन्– ‘अहिले केही गर्न सकिँदैन, तपाईंहरु मिलेर बस्नुस्, हुँदै भएन भने लकडाउन अन्त्य भएपछि जाहेरी दिनुस्, आवश्यक कारबाही गरौंला ।’

पहिलेदेखि नै बेमेल भएको परिवारमा २४ सै घण्टा एकैठाउँ भएपछि सानातिना कुरामा पनि झगडा हुन सक्छ । बाबुले आमालाई विभिन्न आरोप लगाएर कुट्दै गर्दा छोराछोरीले रुँदै फोन गरेका घटना पनि रेकर्डमा आएका छन् । त्यस्ता घटनामा भने नजिकको प्रहरी पठाएर आवश्यक कारबाही गर्ने गरिएको महिला सेलले जनाएको छ । सेलकी एक अधिकृतले भन्दै थिइन्– लकडाउन अन्त्य भएपछि घरेलु हिंसाका जाहेरी धेरै आउने सम्भावना छ ।

लकडाउनका बेला साँझ–बिहान तरकारी लिन निस्किनुभएका धापासी निवासी बैंकर्स विष्णु पोखरेल भन्दै हुनुहुन्थ्यो– ‘लकडाउनको समयमा धेरै घर बसिरहँदा के–के कुरा मिल्दो रहेनछ अनि श्रीमान्–श्रीमतीबीच झगडा भएर गेटबाहिरसम्म लछारपछार गर्दै आएको मैले पनि तीन–चार घर देखेको हुँ ।’ घरेलु हिंसासम्बन्धी विद्यावारिधि गर्नुभएकी वरिष्ठ अधिकारकर्मी डा. माधुरी सिंह केही सानातिना कुरामा अनमेल भए पनि मिल्नका लागि यो लकडाउनलाई अवसरको रुपमा लिनुपर्ने धारणा राख्नुहन्छ । सामाजिक र आर्थिक विषयकी प्रशिक्षक इन्दिरा पन्त भन्नुहुन्छ– ‘घरमा बसेका बच्चादेखि सम्पूर्ण परिवारका लागि खाना बनाउनेदेखि हरेक काममा श्रीमतीले अरु बेलाभन्दा बढी व्यस्त हुनुपर्ने तर श्रीमान् वरको सिन्को पर नसार्ने, खाली मोबाइलमा च्याट गरेर बस्ने, अनि केही भन्यो भने निहुँ खोज्ने हुँदा घर–झगडा बढेको हुनुपर्छ ।’ उहाँ यस्ता कुरा त्यागेर लकडाउनलाई कारात्मक बनाउने गरी परिवारमा भरपूर उपयोग गर्नुपर्ने कुरामा जोड दिनुहन्छ । केही समय परिवार एकैठाउँ बसेर कुरा गर्ने, योग–मेडिटेसन गर्ने, फिल्म हेर्दा पनि बालबच्चासहित सबै परिवारलाई उपयोगी हुने ज्ञानवद्र्धक खालका हेर्ने आदि गर्ने हो भने परिवारमा सौहाद्रता झन् बढी हुन्छ ।

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित भने आमनागरिक र सिगो राष्ट्रका लागि राज्यले लगाएको लकडाउनलाई प्रभावकारीरुपमा लागू गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यसअघि यसरी परिवार लामो समय सँगै बस्न नपाएकोले अहिले सुवर्ण अवसर हो भनी लकडाउनले नसोचेको अवसर दियो भन्ने ठान्नुपर्छ ।’ यस्तो बेलामा पनि घर–झगडा गरेर समाजलाई नै हँसाउन नहुने उहाँ सुझाव दिनुहुन्छ ।

लकडाउनले कपिय परिवारलाई विछोड गरायो भने कतिपय परिवारलाई जोड्ने काम पनि गरेको छ । धेरै परिवारमा आत्मीयता बढाएको, बच्चाहरुले बाबुआमासँग बसेर रमाइलो गर्न पाएको जस्ता सुखद पक्ष पनि देखिएका छन् । यस्ता सुखद पक्षलाई सबैले ग्रहण गर्नुपर्छ भने नकारात्मक कुराहरुलाई त्यागेर यो लकडाउन हाम्रै लागि हो भन्ने सम्झनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्