२७ देशबाट फर्किए जिल्लाबासी, ३ सय ४९ सूचिकृत



मोतीराम तिमल्सिना, काभ्रे ।

फागुन १ गते देखि चैत्र ९ गतेसम्म विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका ३ सय ४९ जना ब्यक्तिहरुको दैनीक स्वास्थ्यकर्मीहरुले सम्पर्क गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेका छन् ।

कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, साउदी अरव, मलेसिया, बहराईन, जोर्डन, न्युजील्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युयई, ओमान, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कब्बोडिया लगायतका मुलुकहरुबाट जिल्लाबासीहरु जन्मघर फर्किएका छन् । फर्किएका मध्ये भारतको विहार, नयाँदिल्ली, बेङ्गलोर लगायतका स्थानबाट धेरै छन् । भारत पछि दुबईबाट फर्कनेहरुको संख्या धेरै छ ।

स्थानीय तहहरु मध्ये सबै भन्दा धेरै पनौती नगरपालिकाका नागरिकहरु जन्मघर फर्किएको तथ्याङ्कले देखाएको छ । पनौती नगरपालिकाका १२ वटामा १ सय १ जना फागुन १ देखि चैत्र १० सम्मको अवधीमा घर फर्किएका छन् । पनौती पछि मण्डनदेउपुर नगरालिकामा ३८ जना, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोक गाउँपालिकामा २२ जना फर्किएका छन् । तेमाल गाउँपालिकामा १८, नमोबुद्ध नगरपालिकाम १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लु गाउँपालिकामा ३ जना मात्रै विभिन्न देशबाट फर्किएको तथ्याङ्क छ । भुम्लुमा मेलम्ची तथा अन्य जिल्लाका नागरिकहरु पनि बैदेशिक रोजगारबाट फर्किएको तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापन गर्न गठित कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार विभिन्न देशबाट फर्किएर आउनेहरुको संख्या ३ सय ४९ रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार स्वास्थ्यकर्मीहरुको समुहले दैनीक ३ पटक उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गर्ने गरेको छ । उनिहरु सेल्फ क्वारेन्टाईनमा बसे नबसेको हेर्ने गरी धुलिखेल सामुदायिक अस्पतालको सामुदायिक विभाग मार्फत उनिहरुको सम्पर्क नम्वर लिएर जिपिएसको माध्यमबाट हेर्ने र दैनीक उनिहरुलाई केहि जानकारी गराउने गरिएको छ ।

पछिल्लो विवरण अनुसार विदेशबाट फर्कनेहरुमा स्वास्थ्य समस्या देखिएको छैन । शंकास्पद केहि ब्यक्तिहरुको स्वाव परिक्षणका लागि पठाईएको भए पनि सबैको परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना आंशका गर्नु पर्ने लक्षणहरु हालसम्म नभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी दिनु भयो । बाँकी ब्यक्तिहरुको स्वास्थ्य परिक्षण धुलिखेल अस्पतालमै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्