पैदलयात्रीलाई सडकमै खाना



मोतीराम तिमल्सिना, काभ्रे ।

लकडाउनको १२ औ दिनसम्म सडकमा पैदलयात्रीहरुको कमी नभए पछि बनेपाको चण्डेश्वरीमा रहेको पानस पार्टी प्यालेसले प्याकेटमा तयारी खाना र मिनरल वाटर एक बोतल उपलब्ध गराएको छ । प्रहरीले लगातार सडकमा हिड्ने ब्यक्तिहरुलाई पक्राउ गर्ने गरे पनि राजधानीबाट विभिन्न स्थानमा पुग्ने गरी यात्रुहरु हिडिरहेका छन् भने केहि यात्रुहरुले सडकमै रात विताउने गरेका छन् ।

काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा पानस पार्टी प्यालेस चण्डेश्वरी ५ का सुर्य श्रेष्ठ, बिमल सोनाम, विकास श्रेष्ठ, इन्द्र श्रेष्ठ, नवीन वैद्य, निरन्जन तिमल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा लगायतको सहयोगमा निःशुल्क खाना तथा खानेपानी वितरण गरिएको प्रोपाईटर सुर्य श्रेष्ठले जानकारी दिनु भयो । उक्त कार्यक्रमले पैदलयात्री, मजदुर, सडक बालबालिका, विपन्न परिवारका सदस्यहरुलाई सहयोग पुगेको छ । अभियानको शुभारम्भमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, महासचिव कैलाश पलाञ्चोके, नगरपालिका प्रतिनिधि जुजुभाई शुद्धाकार लगायतको सहभागिता रहेको थियो ।

दैनीक ५ सय भन्दा धेरै ब्यक्तिहरुका लागि खाना तयार गरिएको प्रोपाईटर सुर्य श्रेष्ठले बताउनु भयो । तयारी प्याकेटमा खाना, आलु काउली र राजमाको अलग अलग तरकारी, अचार र सलाद राखिएको छ । २५ गतेसम्म बनेपा र आसपासका क्षेत्रमा पैदलयात्री लगायतलाई उक्त खाना निरन्तर उपलब्ध गराउने श्रेष्ठले बताउनु भयो ।

बनेपामा धमाधम राहत

बनेपा नगरपालिकाले कोविड १९ अथार्त कोरोनाको संक्रमण फैलन नदिन लकडाउन अवधीमा काम गर्ने बातावरण नहुँदा छाक टार्न धौ धौ भएका १४ वटै वडाका असंगिठत क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई राहत बितरण गर्ने निर्णय गरेको छ । निर्णय अनुसार अधिकांश वडाहरुले लगत संकलन गरी राहत वितरण गरेका छन् । केहि वडाहरुले वितरण गर्ने कार्ययोजना सहितको सूचना सार्वजनिक गरेका छन् ।

नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा सम्पनन कार्यपालिकाको बैठकले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ नामको कोरोना भाईरसबाट नेपालमा संकट बढ्दै गए पछि उक्त रोगको संक्रमण रोकथाम तथा नियन्त्रणको कार्य थप प्रभावकारी रुपमा संञ्चालन गर्ने, नगरका १४ वटै वडा भित्र असंगिठत क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुको परिवारलाई प्रती परिवार चामल १५ के जि, दाल १ केजि, तेल १ लिटर, चिनी १ केजी, नुन १ केजी, साबुन २ वटा बितरण गर्ने निर्णय भएको छ । त्यसै गरी नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागी गरेका कामहरुलाई निरन्तरता दिने निर्णय गरेको छ । निर्णय पछि नगरप्रमुख बादेले नगर भित्र रहेका नगरवासी वा अन्यत्रबाट आई बसोवास गर्नु भएका नागरिकहरुलाई राहत, स्वास्थ्य लगाएत कुनै पनि समस्या हुन नदिन जनप्रतिनिधीहरु सक्रिय भई लागेको वताउनु भयो । नगरले कोरोना भाईरस फैलन नदिनका लागी लकडाउनलाई पुर्ण पालना गराउन लागेको, विपद ब्यबस्थापन कोषमा १५ लाख थप गरिएको, नेपाल सरकारको केन्द्रिय विपद कोषमा ५ लाख राखेको, बनेपा नगरपालिका वडा नम्बर ६ को रेडक्रस तालिम केन्द्रमा ६५ बेडको क्वारेन्टाईन तयार पारिएको, नगरवासी र असंगिठत क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई राहत वितरण शुरु गरिएको, भाईरस फैलन नदिन प्रत्येक वडामा जोखिम न्युनिकरणका लागी डिसईन्फेक्सन स्प्रे छर्किने कार्य गरिएको वताउनु भयो ।

नगरपालिकाले नगरवासीहरुलाई समस्या परेमा हर्टलाईन नम्बर ०११–६६११८१ मा सम्पर्क गर्न सकिने समेत बताएको छ । त्यसै गरी बैठक पछि नगर उप प्रमुख रेखा सापकोटा दाहालले नगरमा कोरोना भईरस फैलन नदिन सबै सचेत भई लकडाउनको पालन गर्नुपर्ने बताउनु भयो । संक्रमण फैलन नदिने दायित्व नगरको मात्रै नभएकाले नगरबासिहरुले पनि घरमै बसेर त्यसलाई सहयोग गर्न प्रेरित गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्