कपिलवस्तुमा आगलागी हुँदा ३९ घर जलेर नष्ट



कपिलवस्तु। 

विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् ।

गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

आगलागीबाट करीब रु एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिनुभयो ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्