आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्दै छौं : उद्योग वाणिज्य संघ



पुष्कर बुढाथोकी, भक्तपुर ।

विश्वव्यापी महामारीको रुपमा फैलदै आएको कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा जिल्लामा औषधी, ग्यांस, खाद्यान्न तथा सागसब्जी आपूर्ति एवं व्यवस्थापनका लागि भक्तपुर उद्योग वाणिज्य संघबाट नियमित रुपमा सहजिकरण भईरहेको जनाएको छ ।
संघका अध्यक्ष प्रदिप श्रेष्ठले जिल्लामा ग्यांस लागायत खाद्यान्नको अभाव हुन नदिनका लागि विभिन्न वस्तुगत संघसंस्था र सम्बन्धित व्यवसायीहरुसंग नियमित समन्वय गरी मौज्दातको व्यवस्थापनका लागि क्रियाशिल रहदै आएको बताउनुभयो ।

संघले जिल्लाका ४ वटै नगरपालिका भक्तपुर नगरपालिका, चांगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख लगायत जन प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा महानगरीय प्रहरी पसिरसंग वर्तमान संकटको घडिमा संघबाट गर्न सकिने सहयोगका विषयमा छुट्टा छुट्टै भेटघाट तथा छलफल गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैगरी सुरक्षाका पर्याप्त उपायहरु अवलम्बन गरी प्रत्येक दिन व्यवसाय सञ्चालन गर्न दिनु पर्ने र व्यवसायीको स्वास्थ्य सुरक्षाका विषयमा सरकार सम्बेदनसिल हुनु पर्ने विषयमा पनि संघले ध्यानाकर्षण गराएको छ ।

संघका उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले संघले जिल्लाका चारवटै नगरपालिकाहरुमा खाद्यान्न आपूर्ति व्यवस्थापनमा सहजिकरणका लागि समिति समेत गठन गरेको बताउनुभयो । जसमा भक्तपुर नगरपालिका क्षेत्रका लागि उपाध्यक्ष रोशन भोयद्यो, सूर्यविनायक नगरपालिका क्षेत्रका लागि वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मानन्धर, चांगुनारायण नगरपालिका क्षेत्रका लागि कार्यसमिति सदस्य नविन प्रजापति र मध्यपुर थिमि नगरपालिका क्षेत्रका लागि कार्यसमिति सदस्य राजभक्त श्रेष्ठलाई संयोजकको रुपमा चयन गरेको छ ।

व्यवसायी एवं आम उपभोक्ताले सामग्रीहरुको खरिद विक्री गर्दा प्रकोपबाट सुरक्षित रहने पर्याप्त सुरक्षाका उपायहरु अवलम्बन गर्नु हुन पनि संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्