राहत वितरणमा सक्रिय स्थानीय सरकार



मोतीराम तिमल्सिना, काभ्रे । 

नेपाल सरकारले देशभर घोषणा गरेको लकडाउनले प्रभाव पारेको क्षेत्रका ब्यक्तिहरुलाई स्थानीय सरकारले राहत उपलब्ध गराउने क्रम आज पनि तिब्र भएको छ । जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय तहहरुले आफ्नै र विभिन्न संघ संस्थाहरुको समन्वयमा राहत उपलब्ध गराएका छन् ।

धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेमा ९० घर परिवारले राहत प्राप्त गरेका छन् । अध्यक्ष पुष्पराज राउतले वडा भित्र रहेका वडामै काम गरेर खाने २८ घर परिवार, बाहिर क्षेत्रबाट श्रम गरेर बसिरहेका १० परिवार, दलित समुदाकाय २४ परिवार, सुकुम्बासी ७ परिवार र अपाङ्गता भएका परिवार २१ गरी ९० घर धुरीलाई प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, नुन एक प्याकेट र साबुन एउटा उपलब्ध गराईएको वडा अध्यक्ष राउतले जानकारी दिनु भयो ।

अध्यक्ष राउतले कोहि भोकै बस्नु नपर्ने र भोकै मर्नु नपर्ने भन्ने स्थानीय सरकारको नारालाई साकार बनाउन स्थानीय स्तरमा रहेका विभिन्न ब्यक्ति तथा समुदायहरुको पहलमा राहत उपलब्ध गराउने कार्य गरिएको बताउनु भयो । ४० परिवारका लागि आत्मज्ञान प्रचार केन्द्रले राहत सहयोग गरेको छ भने अमेरिका निवासी रिता स्टेटल्याण्डले ४१ हजार रकम उपलब्ध गराउनु भएको अध्यक्ष राउतले बताउनु भयो । कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष बसन्त रानाभाट, वडा सचिव इश्वर सापकोटा, नेपाली कांग्रेसका क्षेत्रिय सभापति रमेश हुमागाई लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर ९ का विपन्न तथा असाहय र एक छाक खान धौ धौ हुने परिवारहरुका लागि वडा मार्फत राहत उपलब्ध गराउने गरी तयारी भएको वडा अध्यक्ष बसन्त रानाभाटले जानकारी दिनु भयो । सोहि सहयोगका लागि ब्यवसायीहरु भत्तपुर निवासी गंगाप्रसाद सुवालले कम्तिमा ५० हजार, महेन्द्र कटुवालले १५ हजार र राजेश महासेठले १५ हजार सहयोग रकम उपलब्ध गराउनु हुने भएको छ । वडा नम्वर ९ भित्र रहेका विभिन्न क्षेत्र र वर्गका ब्यक्तिहरुलाई उक्त सहयोग बापतको खाद्यान्न खरिद गरी उपलब्ध गराईने अध्यक्ष रानाभाटले जानकारी दिनु भयो । सुवाल २०३६ साल देखी भक्तपुरमा पोल्ट्रि ब्यवसाय गर्दै आउनु भएको छ । उहाँले सोहि वडामा रहेका २ सय ५० घर परिवारलाई आवश्यक पर्ने चामल १० केजीका दरले उपलब्ध गराउने बताउनु भएको छ । चामल र दाल सुवालको तर्फबाट उपलब्ध हुने भए पछि वडा कार्यालयले अन्य सहयोगका लागि सोहि वडामा रहेको स्प्रिङ्ग १०० पानी उद्योगका प्रोपाईटर राकेश महासेठ र महेन्द्र कटुवालले ब्यक्तिगत १५/१५ हजार उपलब्ध गराउने बताउनु भएको थियो ।

बेथान्चोक गाउँपालिकाले लकडाउनको अवधीमा आफ्नो गाउँपालिका प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य परिक्षण गराएर मात्रै गाउँपालिका प्रवेश गराउने गरेको छ । लकडाउनको ११ औ दिनसम्म गाउँपालिकाले वडा नम्वर ४ को गाउँपालिका प्रवेशको सिमाना केन्द्र पाटीखर्कमा राखेको हेल्पडेक्समा १ हजार भन्दा धेरैले स्वास्थ्य परिक्षण गराएका छन् । केन्द्रमा रहेका स्वास्थ्यकर्मीहरुले ब्यक्तिको इतिहास हेर्दै उनिहरुमा देखिएका लक्षणहरुका बारेमा सोधखोज गरी ज्वरो नापेर मात्रै पठाउने गरिएको हो । त्यस्तै सरकारी तथा अन्य अनुमति प्राप्त सवारी साधनहरुलाई स्पे्र गरेर मात्रै गाउँपालिका प्रवेश गराईएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनु भयो ।

विशेषगरी शहरी क्षेत्रका नगरपालिका र गाउँपालिकाहरुले वडा वडामा मापदण्ड अनुसार धमाधम राहत उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्