‘८ लाखको रोजिरोटी गुमेको छ, सरकार पन्छिन पाउँदैन’



परिवर्तन देवकोटा, काठमाडौँ ।

कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्र ध्वस्त भएको छ । जसको कारण नेपालमा जारी नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमै स्थगित गरिएको छ । आर्थिक समृद्धिको मेरुदण्डको रूपमा विकसित पर्यटन व्यवसाय कोरोनाका कारण ठप्प भएपछि पर्यटन व्यवसायीहरू चिन्तित भएका छन् ।

पर्यटन व्यवसाय नै ठप्प भएपछि करिब ८ लाख मानिसको रोजीरोटी नै गुम्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा सरकारले अभिभावकत्व ग्रहण गर्दै व्यवसायमा परेको क्षतिको मूल्यांकन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । सरकारले कोरोना संक्रमणको शुरूवाती चरणमा आइतबार राहत प्याकेज ल्याएको छ । पर्यटन व्यवसायीहरूले त्यसलाई राम्रो कार्य भएको भन्दै सरकारले केही समयको अन्तरालमा पुनः राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटन क्षेत्र कोरोनाका कारण ठप्प भएकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले पहिला स्वास्थ्य त्यसपछि व्यवसाय भएपनि यो मुलुककै अर्थतन्त्रको सवाल भएकाले सरकारले त्यसतर्फ पनि विशेष ध्यान दिनुपर्ने जनाउनुभयो ।

उहाँले सरकारले आइतबार दिएको आर्थिक प्याकेजमा आफूहरूले आंशिक समर्थन जनाएपनि यो पर्याप्त नभएको सुनाउनुभयो । उहाँले भन्नुभयो–‘हामीले सरकारसँग आफ्ना माग राखिसकेका छौं, सरकारले आंशिक सम्बोधन त गरेको छ, तर त्यतिले पर्याप्त हुँदैन ।’
उहाँले आफूहरूले अहिले आफ्ना सदस्यहरू कति बेरोजगार भए, कहाँकहाँ केके भयो भन्ने विषयमा आन्तरिक रूपमा अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कोरोना संक्रमणको जोखिमका कारण हालसम्म पर्यटन व्यवसायमा करिब ८ अर्ब रुपियाँ बराबरको नोक्सान भएको छ । यस्तै करिब ८ लाख मानिस बेरोजगार हुनुपरेको उहाँले जनाउनुभयो ।

उहाँले आफूहरूले सरकारसँग क्षतिपूर्ति दिलाउनका लागि छलफल गरिसकेको बताउँदै अब सरकारले यसबारेमा स्पष्ट भनाइ राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘हामीले सरकारलाई भनिसकेका छौं, अब सरकारले हामीसँग यति स्रोत वा बजेट छ, हामी यति दिन सक्छौं भनेर त भन्नुप¥यो नि ।’

यस्तै प्यासिफिक एशिया ट्राभल्स ९पाटा० नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश सिंह बुडालले सबैभन्दा छिटो असर गर्ने क्षेत्र पर्यटन भएकाले यसमा सरकारले केही योजना नै बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्व नै संकटमा परेको अवस्थामा पर्यटन व्यवसाय अघि बढ्न नसक्ने भन्दै सरकारले अवस्था सामान्य भएपछि पुनः पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘सरकारले व्यवसायलाई अघि बढाउनका लागि कोरोना संक्रमणको अवस्था सामान्य भएपछि केके गर्ने भन्ने तयारी गर्नुपर्छ ।’

उहाँले सरकारसँग व्यवसायीको रोजगार गुमेको अवस्थामा केही अपेक्षा राख्नु स्वभाविक नै भएको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्