देशका शान धुर्मुस–सुन्तली



देशलाई स्वीट्जरल्यान्डजस्तै बनाउनका लागि राजनीतिक दलले आश मात्रै देखाए पनि धुर्मुस–सुन्तलीले नयाँ नेपालको कार्यक्रम लिएका छन् । उनीहरुले मन्त्री, प्रधानमन्त्री हुन भोटका लागि यो कुरा गरेका हैनन् । धुर्मुस–सुन्तलीले परिकल्पना गरेको नेपालमा पनि मोनोरेल कुद्नेछ । त्यहाँ व्यवस्थित बस्ती, स्तरीय सडक, आकर्षक बगैंचा, खेलमैदान, विद्यालय, संग्रहालय, धरहरा, गुम्बा आदि हुनेछन् । उनीहरुको परिकल्पना मात्रै हैन, उनीहरुले काम पनि गरेर देखाएका छन् र त हामीले दलीय घोषणापत्रभन्दा धुर्मुस–सुन्तलीको नयाँ नेपाल कार्यक्रममा विश्वास गरेका छौं ।

 

धुर्मुस–सुन्तलीमाथि भरोसा गर्न सकिने आधारहरु भएर हामीलाई आश लागेको छ । काभ्रेको डाँडागाउँस्थित पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौर, बर्दिबासको मुसहर बस्तीमा उनीहरुले त्यहाँका जनताको विश्वास जित्ने काम गरेका छन् । धुर्मुस–सुन्तलीको कर्मले ठडिएका रहरलाग्दा एकीकृत नमुना बस्तीका कारण हामी अहिले आएको नयाँ नेपालको कार्यक्रममा सके जति सहयोग गर्न तयार छौं ।

 

आर्थिकरुपमा सहयोग गर्न नसके पनि हाम्रो नैतिक र भौतिक सहयोग सदा रहनेछ । काम गर्नेलाई हातमा हात र साथमा साथ मिलाउन हामी तयार छौं । एकीकृत नमुना बस्ती बनाएजस्तो नमुना नेपाल बनाउन सहज नभए पनि यस कार्यक्रमको दायरा एकदमै फराकिलो छ । हामी सबै मिलेर नयाँ नेपालको काम गर्नुपर्छ । ५ अर्ब रुपियाँ संकलन गर्न हामी सबै एक भएर लाग्नुपर्छ । अहिलेसम्म उनीहरुले गरेको काम, त्याग, इमानले नमुना नेपाल निर्माणमा ठूलो ढाडस मिलेको छ । यसैको तागतमा उनीहरुले नयाँ परिकल्पना गरेका छन् । त्यो पूरा हुनेमा धुर्मुस–सुन्तली मात्र हैन, हामी पनि ढुक्क छौं ।

 

देश–विदेशबाट सहयोगी हात अगाडि बढाइदिएर उनीहरुलाई सहयोग गर्नुपर्छ । धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’मा भने हिमाल बन्नेछ । हिमालबाट रेल कुद्नेछ, सुरुङमार्ग हुँदै । त्यो सुरुङमार्ग पहाडमा पुग्नेछ । पहाडमा वा हिमालको फेदमा व्यवस्थित बस्तीहरु हुनेछन् । जब तराई पुगिनेछ, त्यहाँ जनकपुर, लुम्बिनीको सग्लो रुप देखिनेछ । झट्ट सुन्दा नेताको कोरा कल्पनामाथि व्यङ्ग्य गरिएझैँ लागे पनि उनले व्यङ्ग्य नभएर विकासको नयाँ खाका तयार पारेका हुन् ।

 

नमुना नेपाल पाँचदेखि १ हजार रोपनी क्षेत्रफलमा बन्नेछ । यसमा कृत्रिम हिमाल, पहाड र तराई बन्नेछ । यसमा हिमाली, पहाडिया र तराईवासीको एकीकृत बस्ती हुनेछ । ७५ जिल्लाकै प्रतिनिधित्व हुने गरी सबै जातजाति यसभित्र अटाउनेछन् । सेताम्मे हिमशृङ्खलामा यसको प्रवेशद्वार हुनेछ । यस्तो नेपाल काठमाडौं आसपासको क्षेत्रमा बनाइने उनीहरुले बताएका छन् । उनीहरुको यो नमुना कामलाई सहयोग गर्नु हामी सबैको दायित्व हो। सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं ।
– लेखान्त भुसाल, उदयपुर ।

 

प्रतिक्रिया दिनुहोस्