भोलि कहिल्यै पनि आउँदैन !



प्रेम रावत

आजको काम भोलिलाई कहिल्यै पनि छोड्नुहुँदैन । तर, हामी एउटा मात्र काम होइन, बरु आफ्नो जीवनका सबै कामहरू भोलिका लागि छोडिदिन्छौँ । अनि हामी भन्छौँ, ‘आज होइन, भोलि गरौँला !’ भोलि के हो र आज के हो ? तपाईं भोलि के होला भन्दै भोलिको चिन्तामा बाँच्नुहुन्छ । तर, तपाईं आजको दिनमा जीवित हुनुहुन्छ, भोलिको दिनमा बाँच्नै सक्नुहुन्न । किनभने, यदि भोलि आयो भने पनि त्यो आजकै रूप लिएर आउँछ । मूलतः तपाईंका आशा र चिन्ताहरू भोलिका लागि हुन्छन् तर त्यो भोलि कहिल्यै पनि आउँदैन ।

 

आज व्यतीत त भइरहेको हुन्छ नै, तर ‘आज’ मा चाहिँ तपाईंको ध्यान नै छैन । तपाईंले पूरै जीवन ‘आजको दिनमा’ नै जिउनु छ । यदि दुई शब्द कसैलाई प्रेमपूर्वक भन्नु छ भने पनि त्यो आज नै भन्नुपर्छ, भोलि होइन । एउटा समयमा तपाईं हुनुहुन्न थियो । आज तपाईं हुनुहुन्छ । अनि, एक दिन यस्तो ‘आज’ पनि आउनेछ, जुन बेला तपाईं रहनुहुने छैन । यदि तपाईं आफ्नो जीवनमा सचेतना ल्याउन चाहनुहुन्छ भने ब्युँझिएको अवस्थामा पनि अझै ब्युँझनुहोस् ।

 

तपाईंले ठूला–ठूला योजना बनाउनु भएको होला । तर, के तपाईंले यो जीवनरूपी रेलमा यात्रा गर्नका लागि पनि कुनै योजना बनाउनुभएको छ त ? यस जीवनमा मानिसले जे–जे गर्छन्, जुन चीजमा मानिसको रुचि हुन्छ, जुन चीज उनीहरूलाई राम्रो लाग्छ– तिनलाई प्राप्त गर्नका लागि उनीहरू धेरैभन्दा धेरै मिहेनत गर्छन् । तर, उनीहरू के कुरालाई बिर्सन्छन् भने यो जीवनरूपी रेलगाडीलाई पनि कुनै न कुनै दिन छोडेर जानुपर्नेछ ।

 

यो जीवनरूपी रेल यस्तो अद्भूत छ, जुन कहिल्यै पनि रोकिँदैन । निरन्तर चलिरहन्छ । हामी सबै यो जीवनरूपी रेलमा बसेका छौँ अनि यो लगातार चलिरहेको छ । त्यसकारण एकपटक यो रेलमा चढिसकेपछि त सक्कियो । अनि, ओर्लियौँ भने पनि फेरि चढ्ने अवसर नै पाइँदैन । यो दिन–रात चलिरहेको छ, तर यो कतै पनि जाँदैन । तपाईं रेलगाडीमा बस्नुभएको छ ? त्यसको एउटा प्रमाण छ । तपाईंको श्वासलाई हेर्नुहोस् त । यो चलिरहेको छ ! यो श्वास, जुन आइरहेको छ र गइरहेको छ । यो हो– जीवनको रेलगाडी । यो तपाईंको यात्राको सबैभन्दा महत्वपूर्ण हिस्सा हो ! यो श्वासलाई खेर नफाल्नुहोस् । सृष्टिकर्ताले यसलाई सित्तैँमा दिइरहेका छन् । यो श्वासको मूल्य तिर्न नसकिने भएकाले नै सृष्टिकर्ताले हामीलाई सित्तैँमा दिइरहेका छन् । संसारमा जतिसुकै धन होओस् तर कसैले पनि यो श्वासलाई किन्न सक्दैन ।

 

जुन श्वास गइरहेको छ, त्यो कहिल्यै पनि फर्केर आउँदैन । के तपाईंलाई थाहा छ, आज कतिवटा श्वास निस्किएर गए ? यो सबैभन्दा महत्वपूर्ण चीज हो । यो एउटा यस्तो चीज हो, जसलाई भुल्नुहुँदैन । अरू धेरै कुरा त तपाईंले कसैलाई दिन र कसैबाट लिन पनि सक्नुहुन्छ । तर, यो एउटा यस्तो चीज हो जसलाई चाहेर पनि कसैले तपाईंलाई न त दिन सक्छ, न त तपाईंबाट लिन नै सक्छ । हो, सृष्टिकर्ताले तपाईंलाई यो अनमोल उपहार दिएका छन् । यसलाई स्वीकार गरेर आफ्नो जीवनलाई सफल बनाउनुहोस् । किनभने, एक दिन यो श्वास आउने–जाने क्रम बन्द हुनेछ ।

 

यो एउटा यात्रा हो । यो यात्रा अहिले चलिरहेको छ । तपाईंले अहिले जे देखिरहनुभएको छ, त्यो सबै यो श्वासरूपी आशीर्वादका कारणले सम्भव भएको हो । यो श्वासविना तपाईंका लागि केही पनि छैन । सबैभन्दा ठूलो कुरा त यो हरेक श्वासमा अटुट शान्ति लुकेर बसेको छ । प्रत्येक श्वासमा नै छ एउटा अद्भूत शक्ति ! जुन हरेक मानिसभित्र रहेको हुन्छ । यो श्वास आउनु–जानु नै सृष्टिकर्ताको तपाईंमाथि वर्षिएको कृपा हो ! यो नै उनको चमत्कार हो । तपाईंभित्र यो चमत्कार त हरेक क्षण भइरहेको छ तर तपाईंले यसलाई बुझ्न सक्नुभएको छैन ।

 

यो जीवनरूपी रेलको यात्रा निरन्तर जारी छ । यो यात्रालाई आनन्दमय बनाउनुहोस् । अनि, यो रेलगाडीलाई छोड्नुपर्ने दिनमा अलिकति समय पाए हुन्थ्यो भनेर चिन्ता गर्नु नपरोस् । तपाईं पूर्ण तरिकाले सन्तुष्ट भएर जानुहोस् ।

 

एउटा कथा छ । एकजना मानिसले नदीको छेउमा एउटा एकदमै आकर्षक र राम्रो घर बनाउन लगाए । उनको कोठाबाट नदीको मनोहर दृश्य देखिन्थ्यो । हरिया रुखहरू देखिन्थे । उनले आफ्नो नयाँ घरको गृह प्रवेशको सुअवसरमा पाहुना, इष्टमित्र, छिमेकी तथा आफ्ना व्यापारी मित्रहरूलाई पनि आमन्त्रण गरे । सबैजनाले केही न केही उपहार लिएर आएका थिए । ठूलो भोज चलिरहेको थियो । सबैजना खुशी भएर भोजको आनन्द लिइरहेका थिए । यत्तिकैमा एकजना सन्त टुप्लुक्क आइपुगे अनि उनले ढोका ढकढक्याए ।

 

ती घरधनीले ढोका खोलेर साधे, ‘तपाईं को हुनुहन्छ ?’
सन्तले भने, ‘म तिम्रो शुभचिन्तक हुँ, तिमीलाई केही भन्न आएको छु ।’
ती व्यक्तिले भने, ‘किन ?’

 

त्यसपछि सन्तले भने, ‘तिमीले नदीको छेउमा अत्यन्तै राम्रो घर बनाएछौ । यहाँ नदी पनि छ । रुख बिरुवाहरू पनि छन् । सबै कुरा छन् तर तिमीलाई पौडी खेल्न आउँछ त ?’

 

ती व्यक्तिले भने, ‘मलाई किन पौडी खेल्नुप¥यो र ? म त नदीमा जाँदै जान्न !’
सन्तले भने, ‘भाइ ! तिमीलाई यदि पौडी खेल्न आउँदैन भने पौडी खेल्न त सिक न । के तिमीसँग डुङ्गा छ त ?’
उनले भने, ‘मलाई डुङ्गा किन चाहिएको छ र ? म त नदीमा जाँदै जान्न । म घरमै बस्छु ?’
अनि सन्तले भने, ‘भाइ ! घर त तिमीले नदीछेउमै बनायौ नि हैन र ?’

 

यति सुनेपछि घरधनी मानिसमा रिसको सीमा रहेन । उनले ढोका बन्द गरिदिए । ती सन्तलाई कोही मूर्ख मानिस रहेछ भन्ने ठाने । फेरि आफ्नो भोजको रमाइलोमा लागे । तर, उनको मनमा लागिरह्यो– अखिर ती शुभचिन्तकचाहिँ को थिए होलान् त ? उनले पौडी खेल्न जान्दछौ कि जान्दैनौ भनेर किन सोधे ? धेरै कुराहरू दिमागमा घुमिरहेको थियो ।

 

तर पनि उनले न त डुङ्गा किने, न त पौडी खेल्न नै सिके । केही महिनापछि वर्षाको मौसम सुरु भयो । वर्षा हुन थाल्यो । हुरी–बतास चल्न थाल्यो । त्यसपछि नदीमा पानीको सतह बढ्दै आयो । नदीको पानी माथि आउँदै गयो, आउँदै गयो । हुँदाहुँदै नदी भरिएर बाहिर आयो । सबैजना भाग्न लागे । जसलाई पौडी खेल्न आउँथ्यो उनीहरू पौडी खेलेर यताउता जान्थे । जोसँग डुङ्गा थियो उनीहरू डुङ्गामा चढेर भाग्न लागे । तर उनलाई न त पौडी खेल्न आउँथ्यो, न त उनीसँग डुङ्गा नै थियो । अन्त्यमा उनी त नदीमा डुब्ने नै भए । किनभने, उनले कहिल्यै यस्तो अवस्था आउला भनेर सोचेका पनि थिएनन् र योजना पनि बनाएका थिएनन् ।

 

तपाईं पनि आफ्नो जीवनमा योजना बनाउनुहोस् । एकक्षणका लागि योजना बनाउनुहोस् । भोलि के हुन्छ र हिजो के भएको थियो भन्ने कुराको चिन्ता गरेर केही फाइदा छैन । किनभने, तपाईं उभिनु भएको ठाउँबाट तपाईंले रेलगाडी चलिरहेको देख्नुभएको छ । अरू केही चीज चलिरहेको छैन । रुख पनि जहाँको त्यहीँ छ । सडक पनि जहाँको त्यहीँ नै छ । रेलगाडी चलिरहेको छ । यसको अर्थ हो– यो समयको रेलगाडी चलिरहेको छ । तपाईं त्यहीँ उभिरहनुभएको छ । ठीक त्यस्तै प्रकारले प्रत्येक श्वाससँगै त्यो चीज, त्यो अद्भूत शक्ति आइरहेको छ र गइरहेको छ । त्यसले हरेक क्षण तपाईंलाई छोइरहेको छ ।

 

आफ्नो जीवनमा त्यो हृदयको तिर्खालाई चिन्नुहोस् । फलतः तपाईं आपूmभित्र रहेको त्यस अद्भूत चीजसँग साक्षात्कार गर्न सक्नुहोस् । त्यसको अनुभव गरेपछि यो जीवन सफल हुन्छ । शान्ति तपाईंभित्रै छ । त्यसलाई खोज्नुहोस्, त्यसलाई जान्नुहोस् र आफ्नो जीवनमा शान्तिको स्थापना गर्नुहोस् । शान्ति कोरा विश्वास होइन, अनुभव गर्ने कुरा हो । अनुभवका लागि एउटा यस्तो हृदय चाहिन्छ जुन पहिलादेखि नै अन्धविश्वासरहित होओस् । आपूmभित्रको छल, कपट, लोभ आदिलाई निकालेर त्यो चीजको अनुभव गर्नुहोस् । त्यसपछि तपाईंको जीवन पनि सुख र शान्तिले भरिपूर्ण हुनेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्