बैतडीमा स्वास्थ्यकर्मीलाई पीपीई पुगेन



नेपाल समाचारपत्र, बैतडी ।

बैतडीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपचार उपकरण अभाव भएको छ । स्वास्थ्यकर्मीले लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई), सर्जिकल मास्क, स्यानिटाइजरलगायतका सामग्री अभाव रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । जिल्लामा अझै १ सय ५० बढी पीपीईको आवश्यकता छ ।

 

स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरी ५५ वटा मात्रै पीपीई उपलब्ध रहेका छन् । जसमा सबैभन्दा बढी जिल्ला अस्पतालमा ९, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिकामा ६÷६, र पुर्चौडी नगरपालिका र शिवनाथ गाउँपालिकामा ५/५ पीपीई मात्रै रहेका छन् । यस्तै दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका ,पाटन नगरपालिका र मैलौली नगरपालिकामा ४÷४ थान मात्रै पीपीई रहेका छन् ।

 

जिल्लाभरि हाल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ४०० बढी स्वास्थ्यकर्मी परिचालन गरिएको भए पनि उनीहरुलाई आवश्यक सामग्री र उपचार उपकरण अभावमा समस्या हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ रहेको छ । यस्तै आवश्यक मात्रामा सर्जिकल मास्क, पीपीई, स्यानिटाइजरलगायतका सामग्री पनि नरहेको उहाँले बताउनुभयो ।

 

अरुका लागि अहोरात्र खटिनुपर्ने भएपनि आफू सुरक्षित हुने सामग्री नहुँदा काम गर्न समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले बताउनुभयो । बिरामी आइहाले भने पनि काम गर्दैन भन्न नमिल्ने भएकाले सामग्री अभावमा जोखिम मोलेर गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । संघीय सरकारले २ दिनअगाडि प्रदेश राजधानी कैलालीमा सामग्री पुर्याएको भएपनि वितरण भने हुन सकेको छैन ।

 

बैतडीमा हाल भारतबाट आएका ३ सय २३ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने जिल्लाभरि ७ सय ६ बेडका क्वारेन्टाइन निर्माण गरिएका छन् । यस्तै ८४ स्थानमा हेल्थ डेस्क सञ्चालनमा रहेका छन् भने २६ बेडका आइसोलेसन कक्ष निर्माण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्