कोरोनाले विश्वमा मर्ने ४७ हजार नाघ्यो, अमेरिकामा एक दिनमा ८८४ को मृत्यु



वासिंगटन (एजेन्सी)

 

कोरोना भाइरसको केन्द्र बनेको अमेरिकामा एक दिनमै उक्त संक्रमणबाट ८ सय ८४ को मृत्यु भएको छ । यसले यस देशमा मर्नेको कुल संख्या बढेर ४ हजार ४ सय ७५ पुगेको छ ।

 

अमेरिकामा २ लाख १५ हजार १ सय ७५ कोरोना भाइरसबाट संक्रमित छन् भने विश्वमा यो संख्या ९ लाख ३४ हजार पुगेको छ । हाल सम्म विश्वमा यस संक्रमणबाट मर्नेको आंकडा ४७ हजार २ सय ४५ पुगेको छ ।

 

जोन हप्किंन्स युनिभर्सिटीका अनुसार विगत २४ घन्टामा अमेरिकामा ८ सय ८४ को कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको र यो एक दिनमा मर्नेको संख्यामा अहिलेसम्म कै सबैभन्दा धरै हो । यसबीच अमेरिकामा पनि भाइरस संक्रमणको केन्द्र बनेको न्युयोर्क सहरमा मर्नेको आंकडा १ हजार ३ नाघेको छ ।

 

यस महासंकटमा अमेरिकाका अस्पतालमा मास्क र अन्य चिकित्सकिय सामानहरुको अत्यन्त अभाव भइरहेको छ ।

 

अमेरिकामा यो विश्व महामारी बनेको कारोना संक्रमणले २ लाख ४० हजार सम्मको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । यद्यपी ट्र्म्पले देशमा कुनै प्रकारको लकडाउन गर्न अस्विकार गर्दै आइरहेको छ ।

 

यसबीच कोरोना भाइरस संक्रमणबाट सबैभन्दा तान्डव मच्चाइरहेको युरोपको इटालीमा मर्नेको संख्या १३ हजार १ सय ५५ पुगेको छ । त्यसपछि सबैभन्दा प्रभावित स्पेनमा मर्नेको आंकडा ९ हजार ३ सय ८७ पुगेको छ । इटालीमा संक्रमित संख्या १ लाख १० हजार ५ सय ७४ पुगिसकेको छ भने स्पेनमा पनि यो आंकडाले १ लाख पार गरिसकेको छ ।

 

फ्रान्समा पनि मर्नेको संख्या ४ हजार नाघिसकेको छ भने यहाँ संक्रमित संख्या ५६ हजार ९ सय ८९ पुगेको छ । त्यसैगरी बेलायतमा संक्रमित २९ हजार ४ सय ७४ मा २ हजार ३ सय ५२ को मृत्यु भइसकेको छ । जर्मनीमा मर्नेको संख्या ९ सय ३१ र संक्रमित संख्या ७७ हजार ९ सय ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्