मानव अस्तित्वको प्रश्न



नांगो छालीले जेलिएको मानवरूपी यो जात कुलीनको जहानियाँ कुरूपमा केन्द्रीय ¥यापले अरू जीवको अस्तित्वमाथि आफ्नो शासन र मालिकीय शासकरूपी अनुहारले ऐंजेरुजस्तै घीनलाग्दो गरी थ्याच्छ बसेको छ ।एकमुखे अनुहारलाई पाँच ज्ञानेन्द्रीय अंगको मामुली निर्देशमा भ्रामक र भ्रष्ट चरित्रले एकसे एक संसारलाई आहुति दिँदै अर्का प्राणीविरुद्ध होमिएको छ । वस्तुको रूपमा कतै नभेटिने तिनै मिथक र तथ्यगत आधारविनाका तत्वहरू जस्तै– धर्म, पैसा, राज्य, ठूला कर्पोरेसन, संविधान, मानवअधिकार यी तत्व समयक्रममा यति शक्तिशाली भइदिए कि त्यसमा ठूलो संख्यामा मानवहरूले विश्वास गर्न थाले ।
त्यसले गर्दा अर्बौं संख्या हुँदा पनि मानवहरूबीच एक–अर्कामा लचिलो सहकार्य र सहयोग सम्भव भयो, जुन अन्य प्रजातिमा सम्भव भएन । लाखौं–करोडौंको संख्याका मानवबीच सम्भव हुने सहकार्यको कारण एकलरूपमा अन्य जनावरभन्दा निरीह र कमजोर भए तापनि सामूहिकरूपमा मानव प्रजातिले विकासक्रममा सबैलाई पछि पारिदियो । एक–आपसमा सहकार्य अन्य प्रजातिहरूमा पनि नहुने होइन ।

 

मौरी वा कमिलाले आफ्नो प्रजातिमा मिलेर काम गर्दछन् । चिम्पान्जी वा ब्वाँसोले आफ्नो समूहमा मिलेर सिकार गर्दछन् । तर उनीहरू सीमित संख्यामा मात्रै मिलेर बस्दछन् । उनीहरूले पनि आफूमाथि आइलाग्ने खतराको सूचना एक–आपसमा दिने गर्दछन् । संवाद गर्छन् । तर, त्यस्तो संवादमा वस्तुगत तथ्य मात्रै हुन्छ, मानव समाजको जस्तो कथा हुँदैन । चिम्पान्जीको संसारमा बाघ हुन्छ तर लक्ष्मीको बाहनका रूपमा हुँदैन । त्यहाँ मुसा भए तापनि त्यसमा कल्पनाको गणेश भगवान् चढ्दैनन् ।

 

यस्तै कामदार मौरीले मजदुर युनियन बनाउँदैनन् र रानी मौरीको विरुद्ध गणतन्त्रको माग पनि गर्दैनन् । उनीहरूको संसारमा सबैले विश्वास गर्ने खालको मिथक नभएको हुनाले मानव डीएनएसँग ९९ प्रतिशत मिल्ने डीएनए बोकेका चिम्पान्जीहरू ५० भन्दा बढी संख्यामा भएमा एक–आपसमा लडाइँ गर्न थाल्छन् । तर अर्बौं संख्यामा भए पनि मानवहरू एउटै धर्मको नियममा बाँधिएर बस्छन् । करोडौं संख्याका मानवहरू एउटै राज्यको नियम कानुन मानेर बस्छन् । आफूले मेहनत गरेर कमाएको पैसाको कर तिर्छन् । अन्य जनावरहरूको संसारमा पैसा अर्थहीन छ तर विश्वभर भएका सबै मानवले पैसालाई औधी माया गर्छन् । धेरै मान्छेहरू मानवले गहुँ वा गाईलाई घरपालुवा बनायो भन्छन् । त्यसो होइन, बरु गहुँ वा गाईले गर्दा मानव घरपालुवा भयो । कृषि, क्रान्ति मानव इतिहासको सबैभन्दा ठूलो धोका थियो र छ पनि । त्यही अद्भुत क्षमताका कारण पृथ्वीमा धेरै पछि आएको मानवले शहर बनायो, चिम्पान्जीले सकेनन् । त्यसैले त आज मानवनिर्मित शहरको चिडियाखानामा मान्छेका मनोरञ्जनको साधन बनेर चिम्पान्जी जेलिएको छ ।

 

कुनै बेला अफ्रिकाको घनाजंगलमा निरीह जीवन बिताएको एउटा प्रजाति आज अथाह शक्ति आर्जन गरेर सिंगो पृथ्वीको मालिक बन्न पुगेको छ । तर, त्यसका पछाडि यस पृथ्वीमा रहेका अन्य प्रजातिको पीडा र वेदना लुकेका छन् । त्यसभित्र प्रकृतिको व्यापक दोहनको मूल्य छ । राष्ट्र वा राष्ट्रवाद हाम्रो कल्पनाको उपज हो । तर, त्योसँग जोडिएको भूगोल वा जनता वस्तुगत सत्य हो । त्यस्तै– पैसा बनाइने कागज वा सिक्कामा प्रयोग हुने धातु वस्तुगत यथार्थ हो तर त्योसँगै जोडिएको मूल्य भने मानवनिर्मित भ्रम वा विश्वास । मानवबाहेकका जनावरहरूको संसारमा एउटा मात्रै सत्य हुन्छ, वस्तुगत सत्य । तर, मानव समाजमा वस्तुगत सत्यसँगै कल्पनिक यथार्थ पनि हुन्छ र ठूलो संख्याका मानवले त्यसलाई मानेपछि त्यो कुरा भौतिकरूपमा नभए पनि अन्तरवस्तुगत सत्य बन्छ ।

 

आज कसैले पनि खोज्दा नभेटिने धर्म, राज्य, पैसा, मानवअधिकार, नियम कानुनजस्ता काल्पनिक कुरा छैनन् भन्दैनन् बरु सबैले तिनलाई विश्वास गर्छन् । यी मानवनिर्मित अवधारणाहरू वस्तुगत यथार्थसँग यसरी जेलिएका छन् कि त्यसको अस्वीकार गर्ने अवस्था नै छैन । यस्तै भ्रमहरूको निरन्तर आविष्कार र प्रयोगले मानव प्रजातिलाई अन्य प्रजातिभन्दा फरक बनायो । एक केसरी केरा बोकेर बसेको चिम्पान्जीलाई अर्को चिम्पान्जीले पैसा दिन्छु, केरा देऊ भनेर फकाउँदा होस् या तिमीले बोकेको केरा ऊ त्यहाँको ढुंगामा लगेर नचढाएमा तिमी मरेपछि स्वर्ग जान पाउँदैनौं भनेर डरधम्की देखाउँदा होस् तर उसले वास्ता नै गर्दैन । न त केरा नै दिन्छ । किनभने उसको नजरमा ढुंगा भनेको भौतिक वस्तु मात्रै हो ।

 

तर मानवको अदभूत क्षमता के भइदियो भने, उसले प्रत्येक ढुंगामा कथा बुन्न सक्छ र आफूजस्तै अरूको विश्वास जितेर त्यसमा ढोगाउन, पुजाउन र ढुंगाका नाममा आफूसँग भएका प्रिय वस्तुहरूको त्याग गराउन सक्छ । कागजको टुक्रामा मूल्यको काल्पनिक विश्वास भरेर आफूजस्तै अरूलाई दिनभरि काममा जोताउन सक्छ । अपरिचित देश, फरक भाषा र संस्कृति भएको ठाउँमा गए पनि कागजको टुक्राको भरमा पेट पाल्न सक्छ, बाँच्न सक्छ । पृथ्वीको मालिक बनेको मानव यहाँको प्रकृतिका लागि ठूलो आतंक हो । अहिलेसम्म जति नै प्रगति गरे तापनि मानव असन्तुष्टि चुलिएकै छ । यति लामो यात्रा तय गरेर यहाँ आएपछि अबको मानव गन्तव्य कता हो ? वास्तवमा कसैलाई थाहा छैन । यति धेरै मानवशक्ति केका लागि प्रयोग हुन्छ ? आखिर मानव के चाहिरहेको छ ? के बन्न खोजिरहेको छ ? यी प्रश्न सधैँ रहिरहनेछन् ।
– सोमनाथ खनाल, अर्घाखाँची (हालः काठमाडौं) ।

व्यावहारिक शिक्षा आजको खाँचो

 

अहिले अध्ययनको अर्थ कोरा ज्ञानमा सीमित छ । व्यावहारिक शिक्षाको हाहाकार छ । पढेर मात्रै केही अर्थ राख्दैन । पढेको कुरालाई जीवनोपयोगी गराउन सकियो भने मात्रै त्यसको दिगो अर्थ रहन सक्छ । समय अनुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता हो । यी मध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः लागू हुन सकेको छैन । लागू हुन्थ्यो भने किन बेरोजगारी बस्नुपर्ने बाध्यताको सृजना हुन्थ्यो होला र ?

 

जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै पनि गएको छ । शिक्षित जनशक्ति उत्पादन आजको आवश्यकता हो । व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हुन्छ । कुनै पनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासको लागि शिक्षाको विकल्प छैन । आजको शिक्षा जुन मात्रामा व्यावहारिकरूपमा हुनुपथ्र्यो, त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन । व्यावहारिक शिक्षाको लागि सर्वप्रथम सरकारी नीति आवश्यक छ, जुन नीति कडाइका साथ लागू होस् ।
– निशान्त सिटौला, इलाम ।

 

प्रतिक्रिया दिनुहोस्