भारतबाट आएका ३ सय १० जना क्वारेन्टाइनमा, क्वारेन्टाइनमा बस्न नमान्दा जोखिम बढ्दै



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीका स्थानीय तहहरुले क्वारेन्टाइन निर्माणमा जोड दिएका छन् । जिल्लाका दशवटै स्थानीय तहले ७ सय २ क्वारेन्टाइन बेड निर्माण गरिसकेका छन् ।
भारतबाट फर्केका नागरिकलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको जनाइएको छ । भारतबाट फर्केकाहरुमा कोरोना संक्रमणको जोखिम हुन सक्ने भएकाले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको पालिकाहरुले जनाएका छन् ।

 

भारतका विभिन्न ठाउँबाट जिल्लाका विभिन्न स्थानीय तहहरुमा आएका ३ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । भारतका विभिन्न ठाउँबाट नेपाल आएका नागरिकलाई विभिन्न पालिकाहरुको पहलमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको हो ।

 

दशरथ चन्द नगरपालिकाका १८, पाटन नगरपालिकाका ५, मेलौली नगरपालिकाका २, पुर्चौंडी नगरपालिकाका १ सय ७५, सुर्नया गाउँपालिकाका २८, पञ्चेश्वर गाउँपालिकाका ३, दोगडाकेदार गाउँपालिकाका २०, डिलाशैनी गाउँपालिकाका ३८,सिगास गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

 

भारतबाट फर्केका नागरिकहरुलाई सम्बन्धित पालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ । विभिन्न विद्यालयहरुमा क्वारेन्टाइन बेड निर्माण गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । उनीहरुलाई क्वारेन्टाइनमै खानाको व्यवस्थासमेत गाउँपालिकाले गरिरहेको छ ।

 

विदेशबाट आएकाको तथ्यांक संकलन

 

सुर्नया गाउँपालिकाले भारत तथा अन्य मुलुकबाट आएका स्थानीय नागरिकको तथ्यांक संकलन गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले तथ्यांक संकलन गरेको हो ।

 

संकलन गरेको तथ्यांकअनुसार ३ सय ४६ जना भारतबहादुर विष्टले जानकारी दिनुभयो, जसमा वडा नं १ का १५, वडा नं २ का १६, वडा नं ३ का २२ , वडा नं ४ का ८०, वडा नं ५ का ५०, वडा नं ६ का १९ वडा नं ७ का ५२ र वडा ८ का ९२ जना रहेका छन् । भारतबाट आएकाहरुको तथ्यांक संकलन गरिएको भए पनि उनीहरुले क्वारेन्टाइनमा बस्न अटेरी गरेका अध्यक्ष विष्टको भनाइ छ ।

 

हालसम्म सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा २८ जना मात्रै बसेका छन् ।

 

क्वारेन्टाइनमा बस्न नमान्दा जोखिम बढ्दै

भारतबाट फर्किएका नेपाली नागरिकले क्वारेन्टाइनमा बस्न नमान्दा कोरोना भाइसरको जोखिम बढ्दै गएको छ । कोेरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको भए पनि भारतबाट आएका नागरिकले क्वारेन्टाइन बस्न नमान्दा संक्रमणको जोखिम बढेको हो ।

 

उनीहरु सेल्फ क्वारेन्टाइमा समेत नबसी अनावश्यक रुपमा डुुल्ने गरेकाले दोगडाकेदार गाउँपालिका १ रिमका रामसिंह कुँवरले जानकारी दिनुभयो ।
पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा नबसेकाहरुले सेल्फ होम क्वारेन्टाइनमा अनुरोध गरिएको छ । विश्वका शक्तिशाली मुलुकहरु पनि कोरोनासंग जुध्न असफल भएकाले हेलचेक्रयाइँ नगर्न बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुुभयो ।

 

विपन्नलाई निःशुल्क खाद्यान्न

 

अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई बैतडीको दोगडाकेदार गाउँपालिका ४ को कार्यालयले निःशुल्क खाद्यान्न वितरण गरेको छ । लकडाउनले मजदुरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका वडाभित्रका ४४ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । उनीहरु सबैलाई गरेर मंगलबार १० क्विन्टल ८० किलो चामल वितरण गरिएको हो ।

 

तथ्यांक संकलन शुरू

 

बैतडीको दशरथचन्द नगरपालिकाले दैनिक मजदुरी गरेर छाक टार्ने परिवारको तथ्यांक संकलन गर्ने कार्य शुरू गरेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै लक डाउन भएपछि मजदुरी गरेर खानेवर्गलाई समस्या परेको भन्दै उनीहरुलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले तथ्यांक संकलन गर्ने कार्य शुरू भएको नगर उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

 

चैत २० गतेसम्म ११ वटै वडामा दैनिक मजदुरी गरेर खानेवर्गको तथ्यांक संकलन गरिसकिनेछ उहाँले भन्नुुभयो– ‘तथ्यांक संकलनपश्चात् मजदुरी गरेर खाने परिवारलाई खाद्यान्न वितरण गरिनेछ ।’

 

४ जनासम्म सदस्य भएको परिवारलाई १० केजी र ४ जनाभन्दा बढी सदस्य भएको परिवारलाई १५ केजीका दरले चामल वितरण गरिने नगरपालिकाले जनाएको छ ।

 

दैनिक मजदुरी गरेर खानेवर्गलाई छाक टार्न सजिलो होस् भनेर नगर कार्यपालिकाको बैठकले खाद्यान्न वितरण गर्ने निर्णय भएको उपप्रमुख चन्दको भनाइ छ । लकडाउनको समय लम्बि“दै गएमा थप खाद्यान्न वितरण गरिनेछ ।

 

नगर क्षेत्रभित्रका गरिब मजदुरहरुलाई छाक टार्न समस्या भएका बेला नगरपालिकाको निर्णयले केही राहत पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्