युवा व्यवसायी जिसीले कोरोना भाइरसकाविरुद्ध क्लोरिन छर्किए



प्रताप बानियाँ, म्याग्दी ।

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले कोरोना भाइरसको किटाणु नष्ट गर्ने किटनाशक औषधी क्लोरिन छर्किने कामलाई निरन्तरता दिएका छन् । यसैक्रममा बुधबार बेनी नगरपालिका–६, नम्बर वडाको अर्थुङ्गे क्षेत्र, नेपाली सेनाको अर्थुङ्गेमा रहेको व्यारेक, गलेश्वर बजार र बेनी अस्पताल परिसरमा क्लोरिन छर्किएका हुन् ।

अध्यक्ष जिसीले यसअघि सदरमुकाम बेनीबजार, रत्नेचौर, तातोपानी, बाबियाचौर, र दरबाङ बजारसहित सडक तथा गल्लीमा क्लोरिन छर्किएका थिए । युवा व्यवसायी समेत रहेका अध्यक्ष जिसीले आफ्नो बि.एन. कन्टक्सन प्रालिको ट्याङ्कर, उपकरण तथा मजदुरहरु प्रयोग गरेर क्लोरिन छर्किएको जानकारी दिएका छन् । बजार तथा सडकमा क्लोरिन छर्किनका लागि आफूसहित ५ जनाको जनशक्ति परिचालन भएको उनले बताए ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको अवस्थामा किटनाशक औषधी क्लोरिन छर्किएको निर्माण व्यवसायी जिसीको भनाइ छ । उनले जिल्ला प्रहरी कार्यालयमा रहेको क्लोरिन पाउडरलाई पानीमा मिसाएर छर्किएका हुन् । जिसीले गरेको सामाजिक कामप्रति स्थानीयवासीले प्रशंसा गर्नुका साथै बजार र सडक तथा गल्लीमा छर्किएको क्लोरिनका कारण उनीहरुले सुरक्षित भएको महशुस गरेका छन् । आउँदा दिनमा पर्वतको जलजला गाउँपालिकाको बेनीसहित अन्य क्षेत्रमा पनि क्लोरिन छर्किने अध्यक्ष जिसीले बताए ।

यसैबीच अध्यक्ष जिसीले आफ्नो काठमाडौं र म्याग्दीको बेनीमा रहेको घरको चैत महिनाको घरभाडा मिनाहा गरेको घोषणा गरेका छन् । जिसी र उनकी धर्मपत्नी बिमला जिसीले सरकारले गरेको अनुरोधलाई स्वागत गर्दै चैत महिनाको कुल एकलाख ३५ रुपैयाँ भाडा मिनाहा गरेको बताएका हुन् । सरकारले गएको आइतबार घरधनीहरुलाई घरभाडामा बस्नेहरुबाट चैत महिनाको भाडा नलिन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्