महाकाली नदी पारी रहेका नागरिकलाई नेपाल ल्याउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट



विकास भट्टराई, काठमाडौं ।

महाकाली नदी पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन आदेशको माग गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता मनीषकुमार श्रेष्ठलगायत ६ जना कानून व्यवसायीद्धारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा नेपालीहरु जुनसुकै देश तथा ठाउँमा भएपनि उनीहरुको उद्दार गर्ने जिम्मा सरकारको भएको उल्लेख गर्दै महाकाली नदी पारी रहेका नेपालीहरुलाई तत्काल नेपाल ल्याउनको लागि सरकारलाई आदेश दिन माग गरिएको छ ।

महाकाली नदी पारी रहेका नेपालीलाई सर्वप्रथम उद्धार गर्ने कार्य सरकारको भएको उल्लेख गर्दै रिट निवेदनमा त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने जनाइएको छ । नेपालको संविधानको धारा ५ मा नेपालीको हक हितको रक्षा गर्ने जिम्मा सरकारको रहेको जनाउँदै रिट निवेदनमा नेपाल प्रवेश गरेपछि उनीहरु क्वारेन्टाइनमा बस्न तयार रहेका स्पष्ट गरेको छ ।

अधिवक्ताहरु कीर्तिनाथ शर्मा, दीपकराज जोशी, रामदत्त ओझा मनिराम उपाध्याय र देवीकुमारी जोशीद्धारा दायर गरिएको रिट निवेदनमा नेपाली नागरिकलाई सर्वप्रथम नेपाल छिर्ने वातावरण बनाउन आदेशको माग गरिएको छ ।

महाकाली नदी पारी हाल सयौंको संख्यामा नेपाल छिर्नको लागि प्रतीक्षा गर्दै बसेका बताइएको छ । उनीहरु मध्ये कतिपय महाकाली नदी पौडिएर नेपाल छिरेका समाचारहरु आइरहेका छन् । उनीहरुलाई नेपाल आउन नदिने हो भने संविधानको धारा १६ (१), १७ १८, ३५ लगायतका व्यवस्था उल्लंघन हुने रिट निवेदनमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्