सवारी पास वितरण बन्द हुँदा ८ सय मजदुर अलपत्र



दुर्गाप्रसाद शर्मा, पर्वत । 

पर्वतको मोदी गाउँपालिको पातीचौरबाट भूकदेउराली जोड्ने सडक निर्माणका लागि काम गर्दै आएका मज्दुरहरु डिमुवामा मध्यपहाडी लोकमार्गमा बसिरहेका छन ।

सल्यान घर भएका उनीहरु गाउँ फर्कन चाहन्छन तर स्थानिय प्रशासनले सवारी साधन सञ्चालनका लागि सवारी पास नदिएपछि काममा फर्कन पनि सकेका छैनन भने घर जाने कुरा पनि अधुरो नै रहेको छ ।

दिनभर डिमुवाको प्रहरी चौकी अगाडी बसिरहेका मज्दुरहरु बालबच्चा र पोका पुन्तुरा बोकेर आएका छन । ‘साइडमा काम पनि छैन, घर जानलाई पास पनि भएन’ पिडीत मज्दुर दिपक चलाउनेले भने ‘साइडबाट घर जान पाइन्छ भनेर सडकमा झरेको सडकमै अलपत्र परेका छौ, साईड फर्कने कि घर यस्तो अबस्था आयो।’ गाउँमा पनि मज्दुरहरुको समुहलाई पछिल्ला दिनमा कोरोनाको डरले गर्दा स्थानियबासीले नराम्रो ब्यबहार गर्दै आएको गुनासो उनीहरुको छ ।

पातीचौर–भूक सडकका मज्दुर मात्रै होइन अन्तर जिल्लाका लागि सवारी पास रोकिएपछि पर्वतका बिभिन्न बिकास आयोजनामा काम गर्ने ८ सय भन्दा बढी मज्दुर अलपत्र परेका छन । गृह मन्त्रालयले अन्तरजिल्ला चल्ने सवारी साधनका लागि पास बितरण बन्द गर्न निर्देशन दिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले चैत्र १७ देखि बिकास आयोजनामा काम गर्ने मजदुरहरुलाई पास बितरण बन्द गरेको छ ।

पास बितरण बन्द हुँदा मध्य मोदी जलबिद्युत आयोजना लगायत दर्जनौ बिकास योजनाका मज्दुरहरु घर जान नसकेको निर्माण ब्यबसायी संघ पर्वतका बरिष्ठ उपाध्यक्ष अर्जुन सुबेदीले बताउनुभयो । घर जान चाहेर पनि सवारी पास नहुँदा निर्माण ब्यबसायी र आयोजनाहरुले नै खानपानको ब्यबस्था गरेर राखिएको उहाँले बताउनुभयो । ‘समयमा सबैलाई पास दिएको भए मजदुर अलपत्र हुने अबस्था आउने थिएन’ उहाँले भन्नुभयो ‘शुरुमा सबारी साधनको अभाब भयो, पछि पास नदिएका कारण समस्या उत्पन्न भएको हो।’

पर्वत जिल्लामा मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर(लोकमार्ग), मध्य मोदी जलबिद्युत आयोजना, तल्लो मोदी जलबिद्युत आयोजना, कालीगण्डकी प्रसारण करिडोर, नयाँ मोदी –लेखनाथ प्रसारण आयोजना जस्ता राष्ट्रिय गौरबका आयोजना र दर्जनौ सडक, खानेपानी, सिंचाईका आयोजनाहरु सञ्चालनमा छन । पर्वतमा सञ्चालित बिकास योजनाहरुमा मात्रै चार हजार मज्दुर कार्यरत रहेको अनुमान छ गृहमन्त्रालले अन्तरजिल्लाका लागि पास बितरण नगर्न निर्देशन दिएपछि जारी भएका पास समेत रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदी बताउनुहुन्छ । ‘गृह मन्त्रालयले नै अन्य जिल्लामा जाने सवारी पास बितरण नगर्न परिपत्र गरेपछि सबै पास रद्द गरेका छौ।’ उहाँले भन्नुभयो‘पछिल्लो पटक अन्य पास बितरण समेत रोकिएका कारण पास बितरण गर्न सक्ने अबस्था छैन’ जिल्ला प्रशासन कार्यालय पर्वत र इलाका प्रशासन कार्यालय हुवासबाट गरि २ हजार भन्दा बढी मजदुरलाई घर पठाउनका लागि पास बितरण भैसकेको छ । जिल्ला प्रशासनबाट १ हजार ५ सय र इप्रका हुवासबाट ५ सय भन्दा बढी मजदुरका लागि पास बितरण भैसकेको सहायक प्रजिअ सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्