आफूखुसी चन्दा उठाउनेलाई प्रशासनद्धारा कानुनी कारबाही



शिक्षा पन्त,लमजुङ ।

सहयोगको नाममा कसैले चन्दा उठाउन र आफूखुसी सहयोगका सामग्री वितरण गर्न नपाउने र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय लमजुङले चेतावनी दिएको छ । कुनैपनि निकाय, संघसंस्था, व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने र आफूखुसी चन्दा उठाउनेलाई प्रशासनद्धारा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काको भनाई छ ।

 

कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनका क्रममा आर्थिक सहयोग गर्नेले वडा कार्यालय मार्फत सहायता सामग्री सहयोग गर्न सक्ने जनाएको छ । अहिले विशेषगरी मजदुरमा खानलाउन समस्या पर्ने हुँदा उनीहरुको नामबाट चन्दा उठाउने र सहयोग गर्ने नाममा विगतदेखि गैरकानुनी कार्य हुँदै आएकोले लकडाउनको समयमा यस्ता कार्य नगर्न प्रशासनले चेतावनी दिएको हो ।

 

स्थानीय तहले तोकेको मापदण्ड अनुसारको सहयोग सामग्री भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गर्ने र यसको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन प्रजिअ खड्काले आग्रह गर्नुभएको छ । सरकारले राहत प्याकेज अन्तर्गत हरेक नगरपालिकाका लागि १० लाख रुपैयाँ र गाउँपालिकाका लागि ५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

 

यसअघि स्थानीय तह आफैंले राहत प्याकेज घोषणा गरेर लमजुङमा रोजगारी टुटेका मजदुरका परिवारलाई राहत दिन थालिएको छ । राहत प्याकेज बनाउन र लागत संकलन गरी आवश्यक प्रक्रिया थाल्ने हरेक स्थानीय तहमा पत्राचार गरिसकेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्