गाडी नचलेपछि हिँडेरै घरतिर…



रोशन पराजुली,हेटौंडा ।

भनिन्छ कि १२ वर्षमा खोला फर्किन्छ । तर, यसपटक भने त्यो भन्दा निकै लामो समयपछि फर्किएको छ खोला । काठमाडौंबाट बाराको सिमराका लागि पैदलयात्रा शुरु गर्नुभएका सन्तोष लामाले इतिहास सम्झनुभयो–हाम्रा बाजेबराजुहरु हिँडेरै काठमाडौं गएको सुनेको थिएँ, अहिले आफैंले भोग्नुप¥यो ।

काठमाडौंबाट तराई झर्ने धेरै छोटा बाटोमध्ये एक बाटोको सदुपयोग गर्दै झर्नुभएका उहाँले अनुभव सुनाउनुभयो–सोचेभन्दा छिटो आइपुगें । अब हेटौंडामा पास बनाएर साथीको मोटरसाइकलमा घर पुग्ने सोचमा उहाँ हुनुहुन्छ ।

सर्लाहीका रामेश्वर महतो पैदलयात्रामा साथ दिने लामाकै सहयात्री हुनुहुन्छ । लामो सास फेर्दै उहाँले भन्नुभयो–यहाँ (हेटौंडा) सम्म त आइयो, अब मकवानपुरको राईगाउँहुँदै सर्लाही घर पुग्ने योजना छ, त्यो बाटो छोटो छ । पासवाला गाडी भेटियो भने त गज्जब हुन्थ्यो । उहाँले भन्नुभयो–यात्राका क्रममा भेटिनु भएकाहरुले खुब चासो दिनुभयो । लामो समय काठमाडौंमा बसेर साना ब्यापार व्यबसायमा सक्रिय उनीहरु लकडाउनले काठमाडौंमा दैनिक गुजारा चलाउन कठिन भएपछि काठमाडौं छाडेको बताए ।

कोरोना संक्रमणको त्रासले सरकारले लकडाउनको अवधि चैत २५ मध्यरातसम्म थप गरेपछि हिँडेरै काठमाडौंबाट मकवानपुरको भीमफेदीहुँदै फर्कने पैदलयात्रुको चाप बढेको देखिन्छ । विहान भीमफेदीमा देखिएका यात्रुहरुले भने–३ बजे हिँडेका थियौं, ८ बजे भीमफेदी आइपुगियो । लकडाउनका कारण गाडी नचल्दा भीमफेदी हुँदै आउनेहरु धेरै देखिने गरेको स्थानीयले बताए । यसरी पैदल घर फर्कंदै गरेकाहरु प्रदेश नम्बर–२ का बासिन्दा रहेको पाइएको छ । हिँडेर आएकामध्ये केहीले राति पनि हिँडेको बताए ।

हिँड्नु स्वास्थ्यका लागि जरुरी रहे पनि यो पटक उनीहरुका लागि भने बाध्यता भयो । गाडीमा काठमाडौं आवतजावत गर्ने गरेका उनीहरुका लागि नयाँ अनुभव थियो पैदलयात्रा । हिँडरै घरतिर आउनुपर्ने कुरा उनीहरुका लागि नौलो भयो । साना गाडी र जहाजका कारण हाल काठमाडौं आउजाउ सहज भइसक्यो । इतिहासमा बाध्यता बनेको हिँडेर जाने काम लकडाउनले गर्दा बाध्यता नै बनेको छ ।

मंगलबार पैदलयात्रा गरेर काठमाडौंबाट हेटौंडा आइपुगेका करिब १ सय ५० जनालाई निःशुल्क खाना खुवाइएको छ । हेटौंडाका युवाहरुको सक्रियतामा अन्नपूर्ण भोजनालयमा निःशुल्क खाना खुवाइएको हो ।

काठमाडौंबाट तराईसम्म पैदल यात्रा गरेर घर फर्किरहेकाहरुलाई हेटौंडा–५ निवासी रुपक महतको अगुवाइमा निःशुल्क खाना खुवाइएको हो । वृद्ध, युवा एवम् बालबालिकासमेत गरी करिब १ सय ५० जनालाई खाना खुवाइएको महतले बताउनुभयो ।नेपाल तरुण दलले ‘लकडाउन’ का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाएका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न, खान र बस्ने व्यबस्थापन गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्