२४ घण्टामा विश्वभर कोरोनाबाट ३ हजार ७ सय १६ जनाले ज्यान गुमाए



काठमाडौँ ।

 

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन्। अमेरिका, इटाली र स्पेनको अवस्था चीनभन्दा पनि निकै खराब देखिएको छ।

 

अमेरिकामा सोमबार यता पछिल्लो २४ घण्टामा ५ सय ६५ जनाको मृत्यु भएको छ भने १९ हजार ९९९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ४८ पुगेको छ भने १ लाख ६३ हजार ४ सय ९० जना संक्रमित रहेका छन्।  त्यस्तै इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय १२ जनाको मृत्यु भएको छ भने ४ हजार ५० जना नयाँ संक्रमित थपिएका छन्।

 

यो सँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ भने १ लाख १ हजार ७३९ जना संक्रमित बनेका छन्।  त्यस्तै स्पेनमा एकै दिन कोरोनाबाट सबैभन्दा बढीले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा स्पेनमा ९ सय १३ जनाको मृत्यु भएको छ भने ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ भने ८७ हजार ९ सय ५६ जना संक्रमित रहेका छन्।

 

कोरोनाको उद्गमस्थल मानिने चीनमा अहिलेसम्म ३ हजार ३०० को मृत्यु भएको छ भने ८१ हजार ४ सय ३४ जना संक्रमित रहेका थिए। अहिले चीनमा संक्रमित र मृत्यु हुनेको संख्या लगभग शून्य जस्तै बनेको छ।  कोरोनाबाट बढी प्रभावित हुने देशको सूचीमा जर्मन पनि रहेको छ।

 

जर्मनमा एकै दिन १०४ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ५० नयाँ संक्रमित थपिएका छन्। यो सँगै जर्मनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६६५ रहेको छ भने ६६ हजार ८ सय ८५ जना संक्रमित रहेका छन्।

 

कोरोना भाइरसको संक्रमण नेपालसहित विश्वका २०० देशमा फैलिएको छ। अहिलेसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८१ पुगेको छ भने ७ लाख ८४ हजार ४४० जना संक्रमित रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्